समयोचित योग्यताको कदर नहुँदा मान्छे ठिस् हुँदोर’छ !

३० कार्तिक २०७६, शनिबार मा प्रकाशित

व्यंग्यनारान पाँडे,

आज बिहान चाहिँ किन हो किन मलाई अल्छी लाग्यो । ओछ्यानमै त्यत्तिकै गुट्मुट्टिरहें । सँधै सुन्ने गरेको एफएम पनि खोलेको त थिएँ तर हेड लाइन सुनेपछि ‘आ…, के सुन्नु हौ यो एफेम–सेफेम पनि, हिजो–अस्तिदेखि बयेलिएर अमिलो भइसकेको समाचार मिसेर पस्किन्छ— वाक्क !’ भन्ने मनमनै सम्झिँदै प्याट्ट बन्द गरेको थिएँ । तपाईं नै अनुमान लाउनोस् न, कति अल्छी लागेछ मलाई ?

ओछ्यानबाट उठ्ता झन्नै साढे आठ बजिसकेको थियो । बरण्डामा सँधै झैं काठमाडौंका राष्ट्रिय र झापाकै ‘लोकल राष्ट्रिय’ पत्रिकाहरु आइसकेका रहेछन् । दिसा–पिसाबले मलाई शौचालय जान र्याखर्याख पारिरहेका थिए तापनि अघि एफएमको समाचार पनि नसुकेको हुँदा खासगरी लोकल खबर–खाबर जान्ने तिर्खा दिसा–पिसाबको ढिपीभन्दा जौडे भयो । र, दिसा–पिसाब चेपेर म खासगरी स्थानीय पत्र–पत्रिका पढ्न थालें । खबर–समाचार जान्ने इच्छाको दुव्र्यसनले जो म ग्रस्त छु, के गर्ने !

सँधै एफएम सुनेर हिजो वा अस्ति आफ्नो जिल्लामा कहाँ–कहाँ के–के कार्यक्रम भएछन्, कार्यक्रममा कुन पद–पगरीका को–को प्रमुख अतिथि भएछन्, कुन कार्यक्रममा को–को विशिष्ट अतिथि भएछन्, कस–कसले कुन–कुन कार्यक्रमको सभापतित्व गरेछन्, कहाँ कसले स्वागत भाषण गरेछ, कहाँ–कहाँ कस–कसले स्वागत–भाषण गरेछन्, कहाँ–कहाँ कस–कसले सहजीकरण गरेछन्, कहाँ–कहाँ कस–कसको उपस्थिति भएछ इत्यादि दैनिक जान्न पाइन्थ्यो । आज एफएम नसुकेको हुँदा ती सब जान्न पाइएको थिएन ।

त्यति मात्र होइन, एफएम सुन्नुको अर्को फाइदा नेपाली भाषाका नयाँ–नयाँ शब्द सुन्न–जान्न पाउनु पनि हो भन्ने मेरो बुझाइ थियो । आतिथ्यता, संयमता, पुगाउनु, सकाउनु, झराल्नु, खेदाउनु, अन्योलता, आदर्शता, बाहुल्यता, जनताहरु, गतिविधिहरु कालो मोसो, वनको जंगल, शुद्ध गाईको दूध आदि शब्दहरु मैले बढता स्थानीय एफएमबाट र केही चाहिँ स्थानीय पत्रपत्रिकाबाट सिक्न पाएको हूँ । कहिले–काँही आकाश गर्जिएका बेला एफएम बन्द हुँदा माथि भनिए झैं कार्यक्रमहरुको जानकारी र भाषा–शब्द पत्र–पत्रिकामा पनि खोज्ने गर्छु । आज पनि बिहानको अल्छीले गर्दा एफएम नसुनिएको हुँदा दिसा–पिसाबको सुनामी आँधी बन्दै गएको चाप दबाएर स्थानीय पत्र–पत्रिकामा, माथि भन्या झैं, कार्यक्रमको समाचार र मैले सिक्नुपर्ने भाषा–शब्दको प्रजातन्त्र खोज्दैथेँ । किनभने, म भाषाको प्रजातन्त्र खेल्न जान्दिन र मैले जानेको स्थानीय प्रजातन्त्र भनेको आफूले जे जान्दछ त्यही ठीक भन्ने र पार्टी नेताबाट ठीक छ भनाउने अनि जे मन लाग्यो त्यही भन्ने हो । यत्राको ब्याकरण !…

म यसरी एकोहोरिएका बेला गौंथलीको बाऊ टुप्लुक्क आइपुगे र धमाधम भने— “हन के पढिराख्या हउ तपइँले नेपालका छापा ? मलाई त हर्रामी फस्टेसन पो भइराख्या छ नेपालका धेरैपए मेडियासित । एब्दमै कतिपए मेडिया मात्तै पनि ठिक्ठिकै छन्, धेरैपए कामै नलाग्ने बिकामे । कोइ बिलेकियाका नूनभूउस–कुँडोमा पालिया छन्, कोइ नेताका भजनबड झर्नेमा पालिया छन्, कोइ मैनपाओरका दलाल भ’र मोटाका छन्, कोइ गाई–गोरु तस्कर खौरेर साँडे भका छन् । कतिपय मागेर खाने जस्ता तन्नम् छन् भने धेरैपए चइँ जिम्दै इँटाभट्टामा दाउरा बनाउनु जस्ता छन् ।… तपइँ तिनै मेडिया घोकेर गनतन्त्रको सम्बिर्दि लेराउने यो इन्पोरट्यान ट्याम लस गरिराका रछौ ! आजै चइँ म मेरो टाउकाभित्रको किट्नीले रनक्क तातेर गरेको डिसाइटको कारन यो मात्रिभूमिबड टिएप्पी–टाप लाउनु परो भन्ने इस्टमेटमा पुगेको जानकारी दिन आइरथेँ ! तपइँको दोडै हात खाली रइनछन्, दोडै हातले समातेर घोक्तै रछौ एक अरुङ मेडियाका कात्रा !”….

उनको पछिल्लो वाक्य सुनेर म एकखेप फुल भोल्यूम हाँसे र हाँसोको छल्कोसँग बोली मिसाउँदै भनें— “हातले कुरा सुन्छ र ? कुरा सुन्ने कान हुन् । कान त खाली नै छन् नि । भन्नोस्, तपाईंले मातृभूमि छोडेर कता टाप कस्ने डिसाइएड गर्नु भयो र किन त्यसो गर्ने डिसाइड गर्नु भयो भन्ने म सुन्दै त छु ।”

उनी अझ गम्भीर भएर बोले— “साआआआरै थाकेछुँ हओ भाइ ! औधी गलेर हल्लुँड भँछु । साँच्चै भन्छौ भने अस्ति कात्तिक आठ गते रोज छे दशमी तिथिका दिन पर्देश पर्मुक तोकेसि म जत्तिको जान्नेबुद्ने रानीतिकको पोल्टिस्मा अनुभवी, म जत्तिको अर्जिलित जनवादीमा सिन्यार कम्रेटको काम टोट्टल फिनिस्टेको मैले मौसुप गरिराँछु र अब के खान बसिराख्नु यो मोरो गरीप न गरीप देशाँ ? मैले गर्न जान्दो र सक्तो राष्टबादी गरिन कि ? कम्रेट गरिन कि ? पत्रकार गरिन कि ? मिस्कट भासाबिद गरिन कि ? गर्न सक्तो के चइँ गरिन ? म जत्तिको कम्रेटी बानी–बेहोराको आर्को फम्रेट कोइ छ त ? मैले जति अरु–अन्न धनी कम्रेट, जिम्दार कम्रेट, साउ–सामान्ती कम्रेट, हुकुमी कम्रेट, कमाउकान्ते कम्रेट, जन्ताका मालिक भइखाका कम्रेट इत्तेदि ठूलाठाला कम्रेटहर्को इजोत गरेर जेमा पनि चानसमा डानस गर्न दिने आच्छा कम्रेट अरु एउडा छ त ? पोरप्रार नर्पालिका–गाम्पालिकाका उस्तो इनकम हुने ठामहेरु उँधेरलाई नै छोड्देँ ।

पर्देश सर्खारका उमे्रदेखुन् खुम्रेसम्मका सबै ठाममा मभन्दा जुन्यार–जुन्यारले रोगे रउँ फाल्ने आश गरेर मैले छोडदेँ । क्यारिन्रए सर्खारका दुईचाडा मलिला मन्त्रालएबड एउडा छान्न मेरो शुबनाम उभारेर साँचिराखेका होलान् भन्ने लागो र म मेची खोलाको गन्दे बगारमा पोके–झोले तस्कर–तस्करनीसँग पत्रकार गर्दै दुक्खसुख्ख हातमुख जारिरएँ । भरेभन्दा तिनै तस्कर–तस्करनीका ठूला मालिक ब्लेक्या माफ्या महोद्दएहरुका सल्ला–सेटिङबड मेरो नाम चट् । मैले तोको अर्थ, परास्ट, उद्दोग र गिर्हे मन्त्रालए ख्वात्त भइगो र भा पनि तिर्भुओन बिस्सोविद्देलएकोकोनि कुन्कुन कुर्सी खाली थ्यो र पर्खेँ । तर, फुस्सा ! अन्तिमको लास्टमा पर्देश पर्मुकका ठाम खाली भए । तेसै ठाममा भए नि हुन्छ, इन्कम हुने ठाम हो– होइन, इनकम भओस् कि नभओस्, सन्तोक गर्छु भन्ठानेर पर्खेँ, तर, फुइँयाको ! अब आर्को के हुनेवाला छ र बस्नु त यो मात्रिभूमिमा ? तात्तो न छारो !”

मैले भनें— “यो पिण्ड खाने बेलामा आफ्नो जन्मभूमि नै छोडेर जाने कुरा मलाई त मन परेन हाए दाइ ।”
उनले भिजेको स्वरमा भने— “तपइँलाई नमुन परेर थाम्दैन अब मलाई । याइँ बसिराख्ता पनि मलाई पिण्ड दिने आफ्नु को छ र ? तपइँकी भाउजू उस्को मितदाजूको कान्छोमामाको पल्टने छोरोसंग आनन्नसँग इण्डे पर्एटन गर्न गकी अस्ति काक तिआरका दिनदेखुन्, ठ्याक्क नउ बर्खभो, घुरेकी छैन । कपालकोकेश बोइ–कट् बना’र, पाइँट–भेष ला’र, एक बित्ता अग्लोखुर भको सेन्डिल ला’र, हातमा अउँठी–घडी जखेर खिचेको फोटा पठाइरथी । दोडा छोरा दोडै भित्तीमार्का मधेसेनी हेरुसित जोइला गइगए–कता छन् कता ! जीउडाल मिलेका अटसपटस ज्यान भका भरिला भरिला चाडा छोरीहरु कर्मशः बइजन्तीमाला, हेमामाल्नी, रेखा र सिरिदेवी थे नि थिन ता । ती याँ भउन्जेल तिन्काई भेट्न आउने सरहर्ले नै मलाई कैलु बेहारीको भट्टी हुटेलमा जानै दिँदैनथे, जैल्लै बिहोश हुने गरी खान्थेँ र सुन्थेँ । उँधेरलाई रामरस गर्न फिरी थ्यो— तेता पनि कुरो चइँछ मेरा तर्फबड ।

ती एउडी–एउडी गर्दै सेनिमा बनाउने ठाम बम्बै घुम्न लाने भन्र तिनै सरहर्ले लगिहाले । म एक्लो छु । कतै फिसिक्क सास फोर्न बिर्सेँ भने याँ पिण्ड दिने को छ र पिण्डका लोभले याँ बसिरनु त ? म त लौ कोरिआली किरिस्थानी आमैले होल्ली वाएन नामको रौसी लेराकी हुँदा र कैलुको भट्टी हुटेलको खुदीको खोयाबिर्केमा नाक लागिसक्या हुँदाहुँदी ती आमैले लेराकी सो–उक्त रौसी एतासम्म पनि आइपुग्ला र चाख्न पाउँला भन्र मात्तै पान्सात दिन किरिस्थान भ’र लन्ठ्याङलुन्ठुङ गर्या भा पनि जातले त पिउर हिन्दू हूँ । तर, हाम्रो झाँपामा मनभित्रको किट्नी र लिबरले नै म जस्तो अर्जिनिल हिन्दू कति छन् र मलाई पिण्ड देलान् त ? पस्सिउँ नेपालदेखनुका गउमाता यइ जिल्लाका बिबिन्न नाक्काबड धमाधम हिन्दूस्थानका गउबध शालामा पुर्यार काटिँदै रछन् बर्सौंदेखुन् । एस जिल्लाका हिन्दूहरले पर्बा नगर्नुको के रहस्से छ त ? बल्ल झाँपा परहरीमा मैदाली साहेप आएसि रोकाओट स्टाट हुँदा म बाएक ती गउबम्सको माहान रक्छेक परहरीलाई करजोरी धन्नेबात भन्न को निस्को पैला ? यस्ता ठाममा म झिपिक्क भएँ भने मेरा आफ्ना नभा पनि बाइरकका कस्सैले मलाई पिण्ड देला त ? मैले पिण्ड नपाउँदा याँका काङरेस र राजावादीहर्ले ‘यो बूठो ठूलो मान्छे हूँ भन्थ्यो, मरेपछि पिण्ड पनि पा’न, हाहाहा !’ भन्दै रेला गर्लान् अनि मैले एतिका बर्खदेखुन् भामट रिकट बनाको मेरो बेक्तित्तोको इजोत जाँदैन त ? तेउसकारन नै म मलाई कस्सैले नचिन्ने, मेरो शुबनाम नजानेर मलाई ‘कान्छा’ र ‘भादुर’ भन्र सम्बोदन गर्नेहर्का ठाममा ग’र बस्छु बरु ! चार धुर माटोमा एउडा अर्दपक्का घर छ । तो माटो र घर चना–चटपटेवाला बङ्लादेशी मुसुलमानले किन्ने भइरछ । तेल्ले नेपाली नातृकताको खेस्रो किन्न दाम काम सेटिङ भइसको भन्थ्यो । तेत्ति पर्खेर बस्या छु ।”…

बोल्दाबोल्दै हिरिक्क भएर उनले बिसाए । उनका कुरा सबै बुझेर पनि म अल्मलिएछु र, त्यतातिरबाट कुरो मोड्दै मैले सोधें— “अघि तपाईंले तपाईंकी जेठी छोरीको नाम बैजन्तीमाला भन्नु भयो । अनि गौँथली चाहिँ कसको नाम थियो र तपाईंलाई गौँथलीको बाऊ भन्या हँ ?”

उनले एकछिन् मेरो अनुहारमा राम्ररी हेरेर भने— “नाम त तइ मेरी ठूली छोरी बइजन्तीमालाको नाम गउँथली हो । तर, यो मोडन ट्याममा तेति राम्री केटीलाई गउँथली किन भन्नु भन्र हामी आमा–बाऊले तेस्को गउँथलीलाई बइजन्तीमालामा टाँचलेट गर्या हम् ।… हुन त निजै बाऊसित निजै छोरीको नालीबेली सोद्दा तपइँलाई लाज–शरम लाग्नुपर्ने नि । तपइँमा पनि समस्कार त एकै पित्को रैनछ, होइन्त ?”…

बस यत्ति सोधेर जवाफ नपर्खी ओठबाट पिरित्त आवाज काड्दै उनी धमाधम बाटो लागे र उनी बाटोमा धूलो उड्ने गरी पाइताला थेचार्दै गइरहेतिर हेर्दै अनि मैले मनमनै भनें— “पद–पोस्ट नपाएर गौँथलीको बाऊ बौलाउन थालेका हुन् ? विचराको समयोचित योग्यताले कदर पाएनछ त के गरुन् ?”…..

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here