आत्महत्या रोक्न विद्यालयमा सचेतना: झापामा आत्महत्या गर्ने १६–२५ वर्ष उमेर समूहका धेरै

0
731

झापा।

झापामा हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दो छ । त्यसमा पनि १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिले बढी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आत्महत्या गर्नेमध्ये धेरैले झुण्डिएर आत्महत्या गरेका छन्– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने– आर्थिक वर्ष २०७५÷०७६मा दुई सय ९२ जनाले आत्महत्या गरेकोमा झुण्डिएर मात्रै दुई सय ६१ले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को चार महिनामा ३२ जनाले आत्महत्या गरेका छन् । जसमा २८ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

समाजप्रतिको वितृष्णा, व्याप्त निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण पछिल्ला केही वर्षयता आत्महत्याका घटना बढ्दै गएको हुनसक्छ– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– आत्महत्या रोक्नका लागि प्रहरीले समुदायसंग मिलेर विभिन्न कार्यक्रम गरिरहेको छ तर सोचे अनुरुपको प्रतिफल आउन सकेको छैन ।

झापामा सात वर्षीय बालकदेखि ८० वर्षसम्मका वृद्धले समेत आत्महत्या गरेका छन्– प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने– ‘चालू आर्थिक वर्षमा १६ वर्षमुनिको १ जनाले आत्महत्या गरेका छन् भने १६देखि २५ वर्ष उमेर समूहका ६ जनाले, २६–३५ वर्ष उमेर समूहका ११ जना, ३६–४५ वर्ष उमेर समूहका २ जना, ४६–६० वर्ष उमेर समूहका ४ र ६० वर्षभन्दामाथि ८ जनाले आत्महत्या गरेका छन् ।’

अघिल्लो आर्थिक वर्ष २०७५÷०७६मा १६ वर्षमुनि २३ जना, १६–२५ वर्ष उमेर समूहका ७३ जना, २६–३५ वर्ष उमेर समूहका ४६ जना, ३६–४५ वर्ष उमेर समूहका ५३ जना, ४६–६० वर्ष उमेर समूहका ५५ जना र ६० वर्ष माथिका ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

प्रेममा असफलतासँगै पारिवारिक कलह, आर्थिक बिपन्नता, तनाव, लागूपदार्थ सेवन र यी सबैका कारण हुने डिप्रेसन र मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढेको पाउन सकिन्छ । आत्महत्या न्यूनीकरणका लागि विभिन्न संघ–संस्थासंग समन्वय गर्दै प्रहरीले टोल–टोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि आत्महत्या गर्नेको संख्यामा कमी आएको छैन ।

आत्महत्या न्यूनीकरणका लागि डकुमेन्ट्री !

जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैंले हत्या गर्नु नै आत्महत्या हो । उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकताभन्दा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुची नहुनु, भविष्यप्रति कुनै आशा नरहनु आदि उदासीनताका कारणहरु हुन् ।

यिनै विषयवस्तुलाई समेटेर पाथीभरा थ्रिएटर एण्ड प्रालिले आत्महत्या न्यूनीकरणका विषयमा डकुमेन्ट्री तयार गरेको छ । जुन डकुमेन्ट्री अहिले जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरुमाझ प्रदर्शन गरेर आत्महत्या न्यूनीकरणका विषयमा सचेतना जगाउने काम गरिएको छ । झापाली कान्छा अभिषेक र गजेन्द्र पृथकद्वारा निर्देशित उक्त डकुमेन्ट्रीमा आत्महत्या के कारणले गर्ने गरिएको र त्यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने विषय समावेश गरिएको छ ।

जिल्लाका विभिन्न पालिकासंग सहकार्य गर्दै अहिले जिल्लाका सबै सामुदायिक तथा निजी विद्यालयमा डकुमेन्ट्री प्रदर्शन गरिरहेको झापाली कान्छा अभिषेकले बताए । उनले विद्यालय स्तरबाटै आत्महत्या न्यूनीकरणका विषयमा सचेतना जगाउन सकेको खण्डमा बढ्दो आत्महत्याका घटना रोकिने बताए ।

कथा, पटकथा समेत आफ्नै रहेको सो डकुमेन्ट्री कक्षा ६देखि माथिका विद्यार्थीलाई मात्र देखाइने गरेको अभिषेकको भनाइ छ । उनी भन्छन्– आत्महत्याका घटना बढ्नुमा चेतनाको कमी हो, विद्यालय स्तरवाटै विद्यार्थीमा आउने निराशा हल गर्न सके स्वतः आत्महत्याका घटनामा कमी आउँछ ।
झापाको वाह्रदशीका विभिन्न विद्यालयमा अहिले ‘आत्महत्या’ विषयक डकुमेन्ट्री देखाइरहेका छौं– अभिषेकले भने– ‘विद्यालयमा यस खाले कार्यक्रम लिएर जाँदा शिक्षक र अभिभावकले समेत आत्महत्या न्यूनीकरणका लागि गरिएको प्रयास सह्राहनीय रहेको भन्दै प्रशांसा गर्नुभएको छ ।’

डकुमेन्ट्रीमा के छ ?

पछिल्लो समय झापासहित देशभर नै आत्महत्याका घटना बढेपछि आत्महत्या न्यूनीकरणका लागि पाथीभरा थ्रिएटरले तयार पारेको डकुमेन्ट्रीमा विद्यार्थी जीवनमा सावधानी नअपनाउँदा हुने गरेका आत्महत्याको कहालिलाग्दो दृष्य देखाइएको छ ।

आमावुवाले आफ्ना छोराछोरीको भावना बुझ्न नसक्दा कलिला वालवालिकामा पर्ने नकारात्मक असरका विषय र त्यसले डिप्रेशनसम्मको अवस्थामा पु¥याउने र आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था सृजना हुने गरेको दृष्य डकुमेन्ट्रीमा समावेश छ । त्यस्तै टिनएजको वेला यौनप्रतिको आकर्षणले निम्त्याउन सक्ने घटनाको विषयमा जानकारी नहुँदा अनाहकमा मृत्युवरण गर्नु परेको उदाहरण समेत डकुमेन्ट्रीमा समावेश छ ।

डकुमेन्ट्रीमा लेखक तथा निर्देशक स्वयम् झापालीसहित गजेन्द्र पृथक, तनिषा भट्टराई, राजु खरेल, भीमा खतिवडा, माधव कल्पित, भरत गुरागाँई, मुना मायाँ सिटौला, मुना प्रसाईं, ध्रुव सिटौला, सुजना खतिवडा, सविता रेग्मी अनुषा मिश्र आदि कलाकारले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here