सुरेन्द्र भण्डारी / बिर्तामोड।

झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमध्येको महाभारतकालीन इतिहाससंग जोडिएको क्षेत्र हो– सताक्षीधाम ।
रतुवामाई बृक्षरोपण आयोजनाको घना जंगल र इलाम महमाईको चुरे बनसँग जोडिएको यो स्थानमा सताक्षीधाम मन्दिर छ । शिवसताक्षी नगरपालिका–११ मा रहेको यो धामको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थहरुमा समेत बर्णित छ ।
स्थानीयवासीले त्यही आधारमा धार्मिक, पर्यटनस्थलको रुपमा सताक्षीधामको बिकास गर्न सकिने विश्वास लिएका छन् । भागवत् गीता, चण्डी, श्रीस्वस्थानी व्रत कथा जस्ता ग्रन्थमा सताक्षीधामको वर्णन पाइन्छ । भागवत् गीताको ११औं अध्यायमा पनि सताक्षीधामको महिमा बर्णन गरिएको पीठाधीश आचार्य नन्दिकिशोर भारद्वाजले बताए ।
खास गरी बालाचतुर्दशी, माघे संक्रान्ति, साउने संक्रान्ति, शिवरात्री जस्ता धार्मिक पर्व र बैशाख १, जनवारी १, मा यहाँ तीर्थालुको घुइँचो नै लाग्ने गरेको छ । बालाचतुर्दशी धार्मिक पर्व हो । सताक्षीधाममा बालाचतुर्दशीका दिन हरेक वर्ष धार्मिक मेला लाग्ने गरेको छ । दिवंगत आफन्तका नाममा सत्वीज छर्न र श्राद्ध गर्न यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरु नेपाल लगायत भारत, भुटान, वर्माका विभिन्न ठाउँबाट आउने गरेका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो ठाउँ पछिल्लो समय पर्यटकीय दृष्टिकोणले समेत धैरैको रोजाइमा छ । सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने तयारी गरिरहँदा सरकारको यो अभियानलाई सताक्षीधाम विकास समितिले समेत सहयोग पु¥याउँदै धार्मिक पर्यटक भित्र्याउन पहल थालेको छ ।
धामले अहिले मन्दिर परिसरमा कात्तिक २७ गतेदेखि मंसीर ९ गतेसम्म १३ दिने सताक्षीधाम धार्मिक महोत्सव १०८ कुण्डीय श्रीगोपाल महायज्ञ तथा श्रीमद्देवी भागवत् कथा महोत्सवको आयोजना गरेको छ । जसबाट यस क्षेत्रमा नेपालका करिव पाँच लाख र विभिन्न देशबाट २० हजार भन्दाबढी भक्तजन भित्र्याएर यस ठाउँको महिमालाई देश तथा विदेशमा फैलाउने प्रयास भइरहेको जिल्ला समन्वय समिति झापाका संयोजक तथा महोत्सव आयोजक समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।
१ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिभ्स, अफ्रिका, भुटान, वर्मा, लगायतका देशबाट समेत हिन्दू धर्मावलम्बीको ठूलो संख्यामा सहभागिता रहेको आयोजक समितिका अध्यक्ष पोर्तेलले बताए । महायज्ञमा १०८ कुण्डीय कोटीहवन राखिएको छ । जहाँ सबैकुण्डमा पितृ उद्धारका लागि अहिले हवन भइरहेको छ ।
शिवसताक्षी नगरपालिकाको दश लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु भएको महायज्ञ सम्पन्न गर्न झण्डै तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पाँच वर्ष अघि सताक्षीधाममा स्थापना गरिएको गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन धाम परिसरमा वर्षेनि गौकथा महोत्सवको आयोजना समेत गर्दै आएको सताक्षीधाम धार्मिक महोत्सवका संरक्षक समेत रहेका पीठाधीश आचार्य भारद्वाजले बताए ।
दैनिक झण्डै चालीस हजारले सताक्षीधामको दर्शन गर्दै महोत्सवमा सहभागिता जनाइरहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक बिनोद सापकोटाले जानकारी दिए । उनका अनुसार बालाचतुर्दशीका दिन मात्रै एक लाख भन्दा बढी भक्तजनले यस ठाउँको दर्शन गर्ने अपेक्षा गरिएको छ ।
गौ–मूत्रबाट औषधि पनि उत्पादन !
धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गौ– मूत्रबाट गौअर्क ब्राण्डको औषधि उत्पादन गर्न शुरु गरिएको छ ।
धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको र गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुईँमा झर्न नदिई सोझै संकलन गरी वाष्फिकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रुपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक भारद्वाजले जानकारी दिए । उनका अनुसार दैनिक ४० लिटर गौअर्क उत्पादन हुने गरेको छ । गौअर्क पेटमा देखिने कुनैपनि समस्याको उपचारका लागि प्रयोग गरिन्छ– भारद्वाजले भने ।
गौशालाले बेलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गड्यौला मलको पनि उत्पादन शुरु गरेको छ । गड्यौला मल दैनिक एक क्वीन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापन प्रमुख लीला शास्त्रीले बताए ।
गौशालामा रहेका गौको स्वास्थ्य उपचारको लागि धाममा गौअस्पताल निर्माण भएको छ । गौशालाले करोडौँ रुपैयाँको लागतमा शिव लिंग र मन्दिर निर्माण गरिरहेको छ । गौशालाले हरिदेव गुरुकुल विद्यालय समेत सञ्चालन गरिरहेको छ । गोलोक गोवद्र्धन गौशाला धाम स्थापना भएपछि सताक्षीधामको मुहारमा परिवर्तन आएको बताइएको छ । धार्मिक महोत्सवमा गौशालाको महिमा र गौमूत्रका विषयमा समेत जानकारी गराइन्छ ।
यहाँ तीन सय भन्दा बढी गौको संरक्षण गरिएको छ । नेपालमा पहिलोपटक गौलाई व्यासमा राखेर २०७२ मंसीरमा गौ महोत्सवको आयोजना गरिएको थियो । गोलोक गोवद्र्धन गौशालाले आयोजना गरेको महोत्सवले धामको प्रचारप्रसारमा पर्याप्त टेवा पुगेको बताइन्छ ।
संरक्षणमा समस्या
धार्मिक पर्यटनको दृष्टिले समेत झापालाई महत्वपूर्ण जिल्ला मानिन्छ । अर्जुनधारा जलेश्वर धाम, किच्चकवध, वाह्रदशी, पाऊ पाथीभर, कोटीहोम आदि जिल्लाका प्रमुख तीर्थस्थल हुन् । त्यसमध्ये पनि सताक्षीधामको आफ्नो छुट्टै महत्व छ । तर, संरक्षण, प्रवद्र्धन र भौतिक पूर्वाधारको अभावमा यो धाम सबैको रोजाइमा भने पर्न सकेको छैन ।
झापा र इलामको सीमामा पर्ने चुरे पर्वतको फेदैमा रहेको धामको प्रवद्र्धनमा चासो नपुग्दा यसको मौलिक बिशेषता नै हराउने खतरामा छ । सतासी खोलामा आउने बाढी यसको मुख्य समस्या हो । सतासी खोलाको कटान र पैरोले सताक्षीधामका थुप्रै गुफा नामेट बन्दै गएका छन् ।
देवीदेवताका आकृतिसहितका शिलाहरु प्रशस्त भेटिन्छन् । तर, सुरक्षा पहुँचदेखि टाढा रहेको धामका धेरै शिलाहरु चोरी भएको स्थानीय बताउँछन् । धामका धेरै महत्वका शिलाहरु चोरी भएका छन्, धाम संरक्षणका लागि स्थानीय तहमा सुरक्षा नहुँदा तिनको संरक्षण गर्न नसकिएको स्वय् समितिका पदाधिकारी बताउँछन् ।
राज्यले धामको भौतिक पूर्वाधार विकासमा लगानी गर्नुपर्ने आवश्यकता भएपनि सहयोग हुन सकेको छैन । सडक, खानेपानी, यातायात, सञ्चार र पर्यटकका लागि आवश्यक पर्ने आवास तथा बजार व्यवस्थापनमा ठोस् नीति नहुँदा समस्या भएको हो ।
सरकारले पर्यटन बर्ष सन् २०११ का लागि देशका घुम्नयोग्य ठाउँहरुको सूचीमा सताक्षीधामलाई सूचीकृत गरेको थियो । तर, सूचीकृत गर्ने बाहेक सरकारले धामको संरक्षण र प्रवद्र्धनमा खासै चासो नदेखाएको गुनासो छ । कालोपत्र सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटक चाहेर पनि सहज रुपमा सताक्षीधाम पुग्न सक्दैनन् । पूर्व – पश्चिम राजमार्गको झिलझिलेबाट झण्डै चार किलोमिटर उत्तरमा पर्ने यो धाममा पूरातत्व विभागले २०४८ सालमा एउटा यज्ञकुण्ड बनाएको थियो । तर, बनेको केही बर्षमै पहिरोले भत्काएपछि लाखांै रुपैयाँको लगानीको कुण्ड अहिले नामेट बनेको छ । धामको सुरक्षा अर्को यहाँको समस्याको विषय हो । धामका साधु सन्त, गुरुकुलका शिक्षक, बिद्यार्थी लुटिने जस्ता घटना हुने गरेका छन् ।
सताक्षीधाम मन्दिरको दर्शन गरेपछि सतासी खोलैखोला हँुदै सताक्षी झरना पुग्न सकिन्छ । करिव ३० मिनेटको ढुङ्गे खोलोको बाटोले झरना पुग्न सर्वसाधारण सबैलाई रमाइलो प्रदान गर्छ । झरना पुग्नु अगाबै सतासीखोलामा विरेनून स्वादको पानी उम्रिएको पाइन्छ । पानी उम्रिएको ठाउँको छेउछाउमा बिरेनूनको सुगन्ध आउने गर्छ । त्यहाँ पुग्ने जो कोही यसको अवलोकन र महत्वका बारेमा जिज्ञासा राख्ने गर्दछन् ।
सतासीखोलमा उम्रिएको विरेनून स्वादको पानी औषधिको रुपमा समेत प्रयोग हुने गरेको छ । पेट र ग्याष्टिक जस्ता रोग निको पार्न सतासी खोलाको बिरेनून सुगन्धित पानी औषधिको रुपमा प्रयोग हुने बिश्वास छ । यहाँको पानी लिन नेपालसहित भारतका विभिन्न ठाउँबाट हिन्दू धर्मावलम्बीहरु आउने गरेका छन् ।
भगवान शिवले पार्वतीसँग विवाह गर्दा सताक्षीधामबाट जन्ती लिएर गएको किंवदन्ती पनि छ । त्यस्तै महाभारत कथाका कौरव र पाण्डवले सताक्षीधामलाई लामो समय आफ्नो आश्रयस्थल बनाएको जनश्रुति रहेको मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए । अर्काे किम्वदन्ती अनुसार हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई लिने गरिन्छ ।































