भद्रपुर।

देशमा सीमा विवाद बल्झिएको बेला नेपालको होचो भूभाग कचनकवल गाउँपालिका घुम्न गएका पाँच जना विदेशी नागरिकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
नेपालको भिसा बनाएर घुम्न आएका पाँच जना युक्रेनी नागरिक कचनकवल गाउँपालिकासँग जोडिएको भारतको बिहार राज्यस्थित किसनगञ्ज जिल्लाको कादोगाँउ सीमा क्षेत्र घुम्दै गरेको अवस्थामा भारतीय एसएसबीले नियन्त्रणमा लिएको हो ।
केचना–कादोगाउँ सीमा नाका नजिकै नेपाल–भारतको ११९ नम्बर सीमा पिलर पर्छ । एसएसबी १९ नम्बर बटालियन सुखानीको टोलीले नियन्त्रणमा लिएका युक्रेनी नागरिकहरू मारियाना रुडीक, ब्लादिमीर कोवालचक, लिलिया कोवालचक, ओलेकासन्दर काप्टजेन र इवान सिक रहेको जनाइएको छ । उनीहरूको उमेर २६देखि ३५ वर्षसम्मको छ ।
कचनकवल घुम्न पुगेका उनीहरू घुम्दाघुम्दै नेपालको सीमा छाडेर सय मिटर उता भारतीय भूमिमा प्रवेश गरेका थिए ।
भारत प्रवेश गरेका उनीहरूलाई एसएसबीले सोधपुछको क्रममा भारतको भिसा देखाउन भनेका थिए ।
तर, उनीहरूसँग नेपाल आएको भिसा मात्र रहेकोले आवश्यक कारबाहीका लागि किसनगञ्ज कारागार चलान गरिसकेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । विदेश अधिनियम १९४६ धारा १४ (न) अन्तर्गत उनीहरूलाई कारबाही हुने भारतीय प्रहरीले जनाएको छ ।































