–सुरेन्द्र भण्डारी
झापा,
पूर्वको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वरधाम सरकारले सूचीकृत गरेका एक सयमा पर्यटकीय गन्तव्यमध्येको एक हो । यो अर्जुनधारा नगरपालिकामा छ । महाभारतकालीन इतिहाससँग जोडिएको सो मन्दिरले पूर्वको धार्मिक पर्यटमा ठूलो टेवा पु¥याउँदै आएको छ । महाभारतकालीन समयमा कौरव पक्षबाट षड्यन्त्र गरी पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएको थियो ।
सोही गुप्तवासको समयमा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटीमा पु¥याएका अवस्थामा वृहन्नला (हिजडा)को रुप धारण गरेका अर्जुनले दार्जिलिङ र इलामको लुकानी सुखानी हुँदै ल्याउने क्रममा हाल अर्जुनधारा धाम रहेको स्थलमा आइपुगेपछि गाईलाई तिर्खा लागेको र सोही समयमा अर्जुनले भगवान शिवको पूजा गरी पर्जन्याशस्त्र वाण प्रयोग गरी पानी निकालेको हुँदा अर्जुनधारा नाम रहन गएको किंवदन्ती छ । विसं.२०२३ मा देवदूत खडेश्वर तपस्वी मौनी बाबा (खडेबाबा)बाट धामस्थलमा शिवको वास रहेको जानकारी गराएपछि तत्कालीन हरि विलाश वनको अध्यक्षतामा गठित समितिले मन्दिरको स्थापना गरी पूजाअर्चना शुरु भएको धामका मूलअर्चक अग्निप्रसाद सिग्देल बताउनुहुन्छ । विसं.२०२३ मा स्थापना भएको मन्दिरको तत्कालीन दुर्गाप्रसाद खरेलको अध्यक्षतामा गठित धाम व्यवस्थापन समितिले विसं २०४८ पुस २४ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । मन्दिरमा हरेक वर्ष बालाचर्तुदशीका समयमा धार्मिक अनुष्ठान लाग्ने गरेको छ । मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको अनुष्ठान विसं २०४० बाट शुरु भएको हो । यस वर्ष पनि आजबाट ३७औंँ अनुष्ठान शुरु भएको छ ।
अनुष्ठानको उद्घाटन प्रदेश नं–१ का आन्तरिक मामिता तथा कानूनमन्त्री हिक्मत कार्की र किरात धर्मगुरु मुहिङगुम आङसिमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले संयुक्त रुपमा गर्नुभयो । पाँच बिघाहाको क्षेत्रफलमा रहेको धाम परिसरमा नेपाली वास्तुकलायुक्त भएको प्यागोडाशैलीको शिवको मूलमन्दिर, अर्जुनवाण गङ्गा पोखरी, पञ्च धारा, सूर्य कुण्ड, यज्ञशाला, गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर, कालीनाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, धाञ्याचल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, पूष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामलय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत छन् । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा अर्जुनधारा जलेश्शवर धाममा लगाइएको धार्मिक अनुष्ठानले समेत सहयोग पुग्ने बताइएको छ । अनुष्ठानलाई लक्षित गरी पूर्वको पशुपतिनाथले विभूषित धाममा नेपाली वास्तुकलायुक्त प्यागोडा शैलीको शिवको मूल मन्दिर, धाम परिसरमा रहेको मूल पोखरीकारुपमा रहेको अर्जुन वाण गङ्गा पोखरीसँगै अन्य मन्दिर र धाम परिसरदेखि पिपल चोक हुँदै शनिश्चरे बजारसम्मको मार्गमा विद्युतीय बत्तीले सजावट गरिएको छ । अनुष्ठानमा किराँत धर्मगुरु मुहिङगुम आङसिमाङ आत्मानन्द लिङदेन (‘सेइङ’ र प्रथम महिला शङ्कराचार्य हेमानन्द गिरीजी महाराजको आशिषवचन रहेको धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो । यही मङ्सिर ९ गते बालाचर्तुदशीका दिन सत्बीज रोपण गर्दै समापन हुने अनुष्ठानमा सञ्चालन हुने दैनिक कार्यक्रममा रुद्राभिषेक महायज्ञ, ताण्डुलाचल, तुलादान, धन धान्याञ्चल, गङ्गा आरती, सन्ध्याकालीन भजनकर्तिन, झाँकी र मङ्सिर ८ गते रात्रि जागरण गरिने छ । अनुष्ठानमा प्रमुख कथावाचक पण्डित कुँवेर सुवेदीले कथावाचन र उपवाचक पण्डित चिरञ्जीवी ढुङ्गानाले पाठपारायण गर्ने कार्यक्रम छ । अनुष्ठानअन्तर्गत धार्मिक मेला सञ्चालन गर्ने, आकर्षक र सुविधायुक्त पण्डाल निर्माण भएको तथा मूल पोखरी अर्जुन वाण गङ्गामा विद्युतीय फोहरा जडान गरिएको छ । राससबाट