अर्जुनधारामा ३७औं अनुष्ठान

0
472

अमित खम्बू /अर्जुनधारा।

हिन्दू धर्मावलम्वीहरुको धार्मिक तीर्थस्थल र पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७मा रहेको अर्जुनधारा जलेश्वर धाममा सोमबारको दृष्य फरक थियो ।

धामको ३७औं वार्षिक अनुष्ठानकोरुपमा शुरु हुने वामन पुराणमा सहभागी हुन किरात धर्मगुरु मुहिङ्गुम आङ्सिमाङ आत्मनन्द लिङ्देन ‘सेइङ’ र मुहिङ्गुम आङ्सिमामाङ साँवा पवित्राहाङ्मा लिङ्देन आउने खबरले उपस्थित सबैको मनमा विविध किसिमका जिज्ञासा उत्पन्न भइरहेको थियो ।

किरात धर्मगुरुका अनुयायी, भक्तजनहरुको बाक्लो उपस्थितकाबीच आयोजक धाम व्यवस्थापन समितिले निर्धारण गरेको समयभन्दा आफ्नो कार्यव्यस्तताका कारण झण्डै एक घण्टा ढिलो धाम प्रवेशद्वारमा आइपुगेका किरात धर्मगुरु र गुरुआमालाई मञ्च परिसरमा निर्माण गरिएको देव आसनसम्म पु¥याउन आयोजक, सुरक्षाकर्मी, गुरुका निजी अंगरक्षकहरुलाई निक्कै संघर्ष गर्नुपरेको थियो ।

कार्यक्रमका सहभागी पूर्वमन्त्री केशवकुमार बुढाथोकीले धार्मिक सहिष्णुतासँगै एक–अर्काको अस्तित्व स्वीकार गरेको सन्देश प्रवाह गर्ने उद्देश्यले धाममा यसपटक किरात धर्मगुरुलाई निमन्त्रणा गरिएको स्पष्ट गरे । राज्यबाट विगतमा किरात धर्म, भाषा, संस्कार र संस्कृतिमाथि थिचोमिचो भएको स्वीकार्दै उनले जारी भएको संविधानमा व्यवस्था भए अनुसार अब एक हुनु बाहेक अन्य विकल्प नभएको बताए । १ नम्बर प्रदेश किरातीहरुको थलो भएको दावी गरेका पूर्वमन्त्री बुढाथोकीले भने– यो धाममा हिन्दूहरुको मात्र नभइ तपार्इंहरुको पनि हक लाग्छ, आउनुहोस् धाम तपाईंहरुको लागि पनि खुल्ला छ ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागी विश्वकी प्रथम महिला शंकराचार्य हेमानन्द गिरीजी महाराजले धर्म शास्त्रमा उल्लेख भए अनुसार नेपाल किरातीहरुको देश भएको बताइन् । उनले स्वस्थानी व्रत कथाको उदाहरण दिँदै भगवान शिव र पार्वतीले किरात रुपधारण गरेको प्रसङ्ग झिक्दै उनले किरातीहरु भगवान शिवको सन्ततीहरु भएको बताइन् । धाम परिसरमा किरात धर्मगुरु र गुरुआमाको आगमनले आफूलाई भगवान शिवको उपस्थिति भएको महशुस भएको भन्दै उनले कार्यक्रम गौरवशाली भएको प्रतिक्रिया दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले किरातहरुको धार्मिक तीर्थस्थल लारुम्बाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रम अन्तर्गत आशिर्वचन दिने क्रममा किरात धर्मगुरु आत्मनन्द लिङेदेन ‘सेइङ’ ले सबै धर्मका मानिसहरु एक भइ धार्मिक सहिष्णुता कायम गरेर विश्व शान्तिको लागि अगाडि बढ्नुपर्ने बताए । उनले पृथ्वीको आयु करिब–करिब सकिन लागेको विज्ञानले पनि पुष्टि गरेको अवस्थामा आयु बढाउन धर्मबाट मात्र सम्भव हुने दावी गरे । यसका लागि हवन, सेवालगायत गर्नुपर्ने उनले बताए ।

सोही अवसरमा धामको स्तरोन्नतिको लागि किरात धर्मगुरुकोतर्फबाट एक लाख ५० हजार सहयोग रकम धाम समितिलाई उपलब्ध गराइएको थियो । समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा पवनकुमार अग्रवालले ५१ हजार रुपैयाँ प्रदान गर्दै गल्ला उद्घाटन गरेका थिए । त्यसैगरी छविलाल शिवाकोटी र धनपति चिमरियाले धान्याञ्चलको उद्घाटन र पूर्वमन्त्री बुढाथोकीले यज्ञशालाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिका नगर प्रमुख धुव्रकुमार शिवाकोटी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडाध्यक्ष नवराम ढुंगानालगायतको आतिथ्य रहेको थियो ।

मूल अर्चक अग्निप्रसाद सिग्देलले धामको बिगत, वर्तमान र भावी योजनाहरु बारे जानकारी गराएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीमचन्द्र भट्टराईले र सञ्चालन उर्मिला दाहाल र स्वस्तिका आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here