चौँरीको निःशुल्क बीमा

0
562

मेलम्ची,

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् ।

वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा शेर्पाले चौँरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताउनुभयो । गाउँपालिकाभित्रका फिरन्ते चौँरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौँरीको निःशुल्क बीमा योजना अघि बढाइएको हो । सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमाङ्क गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ ।

पचहत्तर प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम आधारित छ । तर, गाउँपालिकाले किसानलाई चौँरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौँरी बीमाको अवसर मिलेको हो । गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौँरीको निःशुल्क बीमा गरिएको छ ।

बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ । बीमा कार्यक्रमले चौँरी खरीददेखि पालनमा खर्च गरेको लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बताउनुभयो । रु एक लाख बढी मूल्य पर्ने चौँरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ ।

“गोठ सार्दै जाँदा चौँरी बिरामी भएर मर्ने जोखिम हुन्छ, केही गरी मरिहालेमा अब भने बीमा कार्यक्रमले लगानी जोगिनेमा ढुक्क बनायो”, शेर्पाले भन्नुभयो । पशुको मृत्युपछि घाटा व्यहोर्ने हुँदा विस्तारै चौँरीपालनतर्फ किसानको आकर्षण घट्दै गएको थियो ।

चौँरी पकेट क्षेत्र बनाई किसानलाई व्यावसायिक पशुपालक बनाउन बीमा कार्यक्रम निःशुल्क बनाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । खर्कमै पुगेर गाउँपालिकाले चौँरीको बीमा गराएको छ । बीमासँगै गाउँपालिकाले चौँरीगोठका लागि मोबाइल चार्ज र बिजुली बाल्न मिल्ने सोलार प्यानलसहित उपकरण वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here