गुट्खामा ३६ करोडको राजश्व छली, छ जनाविरुद्ध मुद्दा

0
504

झापा,

जिल्लाको मेचीनगर नगरपालिका १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोड बढीको राजश्व छली गरेको पाइएको छ।

अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ।

साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाई कानुन बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाई बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

उक्त घटनामा साकम्बरी प्रोडक्टका सञ्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सञ्चालक सीताराम शर्मा तथा सवारी धनी आशिष शर्मा र विष्णुप्रसाद खरेकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए।

आइतबार बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग दाबीसहित उनीहरूविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले एक विज्ञप्तिमार्फत जनाएको छ।

नक्कली बीजक प्रयोग गरी राजश्व छली

मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजना विरुद्ध राजश्व अनुसन्धान विभागले अर्को मुद्दा चलाएको छ।

उनीहरूले एक करोड ७४ लाख २१ हजार बिगो बराबरको राजश्व छलेको अनुसन्धानबाट खुलेको छ। उनीहरूविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ।

गोरखा हङसपुर घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने अम्बेल इन्टरप्राइजेजका सञ्चालिका विनिता दुवाडीले एक करोड २९ लाख, काठमाडौँकै सुसज्जित इन्टरप्राइजेजका सञ्चालिका सरस्वती गौतम र श्रीमान् रामशरणले ४५ लाख ४५ हजार बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।

उनीहरूलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here