झापासहित पूर्वमा ग्यास अभाव

0
1479

भद्रपुर ।

झापासहित पूर्वका चार जिल्लामा एलपी ग्यास अभाव भएको छ । भारतबाट नेपाल भित्रिने एलपी ग्यासका ट्याकंर पर्याप्त मात्रामा आउन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यास अभाव भएको हो । बजारमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन् ।

झापामा चारवटा ग्यास उद्योग छन् । झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिन्डर भित्रिन्छ । तर, भारतको पश्चिम बंगालस्थित कलकत्ताको ग्यास प्लान्टले केही दिनदेखि नेपाल आउने ट्यांकरलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको बताइएको छ ।

झापाका ग्यास उद्योगमा कलकत्ताको हल्दिया, बरौनी र पारदीप भन्ने ठाउँबाट टयांकरमा लोड गरी एलपी ग्यास काँकरभिट्टा नाका हुँदै जिल्ला भित्र्याउने गरेको नेपाल एलपी ग्यास संघका सल्लाहकार आदित्य पराजुलीले जानकारी दिए । त्रिशक्ति ग्यास उद्योग भद्रपुरका प्रबन्ध निर्देशक समेत रहेका पराजुलीले भने– ‘मेरो उद्योगमा हल्दिया र पारदीप ग्यास प्लान्टबाट ग्यास आउँछ, दुवै प्लान्टमा सरसफाईको काम चलेको हुँदा १० दिनदेखि ग्यास आएको छैन ।’

आज चारवटा ट्याकर आउँदैछ, तर जुन परिमाण उद्योगलाई चाहिने हो, त्यस अनुसारको ग्यास भित्रिन सकेको छैन, जसले गर्दा बजारमा ग्यास अभाव भएको हो– उनले भने । ‘उद्योगलाई महिनामा कम्तीमा २२देखि २६ वटा ट्यांकर चाहिन्छ’– त्रिशक्ति ग्यासका व्यवस्थापक अर्जुन कर्णले भने– ‘चाहिने परिमाण आएको छैन, अक्टोबरमा १५ वटा ट्यांकर आएको थियो, सेप्टेम्बरको १८ तारिखसम्ममा ९ वटा मात्र ट्यांकर आएको छ ।’

‘ग्यास अभावका कारण डिलरलाई चाहिने सिलिन्डर पठाउन नसक्दा उपभोक्तालाई समस्या भएकै हो, उद्योगमा दुई वटा बुलेट छ, ५०–५० मेट्रिक टनको अहिले दुवै खाली छ’– उनले भने– ‘अबको १५ दिनसम्म यस्तै समस्या हुन्छ ।’ झापामा त्रिशक्तिको पराजुली, कनकाई, मेची र पाथीभरा ग्यास उद्योग रहेको छ । एउटा ग्यास उद्योगले मासिक ४० हजारदेखि ५० हजार ग्यास उत्पादन गर्दै आइरहेको जनाइएको छ । चारवटै ग्यास उद्योगको बजार पूर्वको चार जिल्ला नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here