विकासमा फड्को मार्दै बुद्धशान्ति

0
922

नारायण अर्याल ।

वर्तमान संघीय शासन व्यवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको परिकल्पना नेपालको संविधानले गरेको छ । जस अनुरुप जनताको सबैभन्दा नजिकको स्थानीय सरकारको रुपमा गाउँपालिका रहेको छ । जनताका हरेक आवश्यकता नजिकबाट प्राप्त हुने गरी स्वायत्तताको उच्चतम अभ्यास तथा विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सक्रिय सहभागिता, उच्च जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्व कायम गरी सेवा प्रवाहमा प्रभावकारीताको अपेक्षा गरिएको छ ।

विकास निर्माणका प्रक्रियालाई छिटोछरितो रुपमा जनअपेक्षाको सम्बोधन गर्ने ऐतिहासिक जिम्मेवारी स्थानीय सरकारको काँधमा छ । जनआकांक्षाको सम्बोधन गर्न विकास प्रक्रियालाई चुस्त र सेवा प्रवाहलाई छिटो–छरितो र प्रभावकारी बनाउन नीतिगत तथा व्यवहारिक अभ्यासहरु अगाडी बढिरहेका छन् । परिवर्तित सन्दर्भसँगै पुनर्संरचना गरिएको स्थानीय तह र स्थानीय तहमा जनप्रतिनिधीको उपस्थितीसँगै हरेक वडाका गाउँबस्ती विकास र समृद्धिको मार्गमा अग्रसर छ ।

यसै परिपे्रक्षमा स्थानीय क्षेत्रको विकास र समृद्धिमा अग्रसर गाउँपालिका मध्ये एक हो– बुद्धशान्ति गाउँपालिका । वि.सं.२०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात सय ४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । ७९ दशमलव ७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका अन्तर्गतको वडा नम्बर १ विकास हुन नसकेको अतितबाट उठ्ने तरखरमा छ । साविक बुधबारे गाउँविकास समितिका १, ३ र ६ वडा समायोजन गरेर हालको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ भएको हो ।

मेची राजमार्गले समेत छोएको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ पूर्वमा बुद्धशान्तिकै ३ र ४, पश्चिममा अर्जुनधारा नगरपालिका, उत्तरमा इलामको रोङ गाउँपालिका र दक्षिणमा बुद्धशान्तिको २ र ३ नम्बर वडाले घेरिएको छ । ९ दशमलव ५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा आठ हजार २३ जनसंख्या रहेको छ । यहाँका अधिकांश जनता कृषि पेशामा आश्रित छन् । यो वडा विशेषतः धानखेतीको लागि चिनिने गर्छ भने यहाँका कृषकहरु सुपारी, नरिवल, चिया, मकै, कागती लगायतका अन्नबाली साथै नगदेबाली उत्पादनमा संलग्न भएको पाइन्छ । हाल धेरै संख्यामा यस वडाका कृषकहरु गाई, कुखुरा, खसी, सुँगुर आदि जस्ता पशुपालनका माध्यमबाट आयआर्जन गर्ने गरेको पाइन्छ ।

बुद्धशान्ति गाउँपालिकाको यो वडा कार्यालय शहरीकरणलाई व्यवस्थित गरी आधुनिक शैलीको नगर व्यवस्थापन गर्न यहाँ रहेका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रको विकास तथा प्रबद्र्धन गर्न अग्रसर तथा उत्साहित रहेको देखिन्छ । यही हौसला तथा ऊर्जालाई बिकासको आधार मान्ने हो भने यो गाउँपालिकाले चाडै नै आधुनिक सहरको रुपमा काँचुली फेर्छ भन्ने बिश्वास वडाबासीको रहेको छ । स्थानीयले आफूले चुनेको जनप्रतिनिधिबाट गाउँमै सरकारी सेवा–सुविधा र अवसरहरु प्राप्त गर्दा विकास तथा समृद्धि साथै परिवर्तनको अनुभूति पनि गरिरहेका छन् ।

चुरे क्षेत्रसँग जोडिएको यस वडाका कतिपय स्थान र बस्तीहरु भौगोलिक रुपमा पनि असहज छन् । यस वडाको केन्द्र नजिकै बुधबारे बजार, स्वास्थ्य चौकी, प्रहरी चौकी र निजी तथा सामुदायिक विद्यालय र क्याम्पस समेत रहेका छन् । वडाभित्र सीता–रमेश क्याम्पस, बुद्धआर्दश उच्च मावि, त्रिभुवन मावि, नमूना आधारभूत विद्यालय र सरस्वती बालविकास लगायतका सामुदायिक विद्यालय तथा क्याम्पस सञ्चालनमा रहेका छन् ।

प्राकृतिक, सांस्वृmतिक सुन्दरताले भरिएको यस वडामा निर्माणाधीन पिकनिक स्पर्ट, कृष्ण प्रणामी मन्दिर, गणेश मन्दिर, शिवालय मन्दिर, दुर्गा मन्दिर, पाथीभरा मन्दिर साथै चर्च, गुम्बा यस वडाका पहिचान हुन् । विविध जातजाति, धर्म, वर्ग, पेशा व्यवसाय भएका मानिसहरुको शान्तिपूर्णरुपमा धार्मिक सहिष्णुता कायम राख्दै आपसी मेलमिलाप तथा हातेमालो गरी बसोबास गरेको यस वडाका थुप्रै सम्भावनाहरु रहेका छन् ।

पहाडको चिसो सँगसँगै मधेशको शुरुवाती तापको सम्मिश्रण रहेको यो वडालाई अनुकूल वातावरण, प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपयुक्त पर्यटकीय गन्तव्य स्थलको रुपमा लिन सकिन्छ । यस वडाको दामामझुवाटारमा शहीद पार्कको निर्माण तीव्रगतिमा भइरहेको छ । यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखिएको छ ।

स्थानीयको आर्थिक आयस्रोतलाई मजबुत बनाउँदै बिकास निर्माणमा फड्को मार्न कृषिको विकास, प्रबद्र्धनमा समेत स्थानीय सरकारको पहलकदमी जारी रहेको छ । धान, मकै, सुपारी, रबर, कागती लगायतका कृषिजन्य उत्पादन, प्रवद्र्धन साथै बजारीकरण गर्ने गरी गाउँमै रोजगारीको सिर्जना गर्न पनि वडा कार्यलय अग्रसर छ । यस वडामा रहेका विशाल बायो फर्म, नमूना कृषि फर्म, प्रगति कृषि फर्म, अँधेरी कृषि फर्म जस्ता कृषि उद्योगहरुलाई प्रोत्साहन गरी अन्य कृषकलाई त्यसतर्फ आकर्षित गर्न पनि वडा कार्यालयले कामअघि सारेको छ वडाध्यक्ष भीमकुमार नेवारले बताएका छन् ।

विशेष गरेर भौतिक पूर्वाधारको विकासले नै जनतालाई विकासको अनुभूति हुने भएकाले वडा कार्यालयले सडक, भवन, कल्र्भट, पैनी लगायत क्षेत्रमा पनि काम तीव्र बनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि वडामा प्राप्त एक करोड छ लाख रुपैयाँको बजेट आधारभूत विकासका क्षेत्रमा खर्च गर्ने गरी बजेट तयार गरी अहिले कार्यान्वयनको चरणमा छ । बजेटले सडक, कल्भर्ट, विद्युत्, सिँचाईको विकास निर्माण सँगसँगै कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

सडक तथा ह्युमपाइपका लागि वडाले २४ लाख ४० हजार रुपैयाँ छुट्याएर काम अगाडि बढाइएको छ । जसमा सडकका लागि १५ लाख ४० हजार, वडाका सडक ग्रेडर लगाउन तीन लाख र ह्युमपाइपका लागि छ लाख रुपैयाँ र कल्भर्ट निर्माणका लागि ११ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरी कार्यान्वयन भइरहेको छ । त्यस्तै, विद्युत् पोल र तारका निम्ति सात लाख सिँचाइमा नौ लाख ५० हजार, सडक क्षेत्रका नाला निर्माणमा पनि नौ लाख ८० हजार, सामाजिक विकासका क्षेत्रमा ११ लाख २५ हजार रुपैयाँ, शिक्षामा पनि नौ लाख ८५ हजार रुपैयाँ विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैगरी मठमन्दिरको समग्र विकासका लागि छ लाख २० हजार र विपद् व्यवस्थापनका लागि चार लाख रुपैयाँ विनियोजन भएको वडा सचिव भीमकुमार प्रधानले बताए ।

लामो समय पश्चात स्थानीय तहमा जनप्रतिनिधिहरुको आगमनले जनतामा बिकासप्रति तीव्र आकांक्षा भए पनि शुरुवाती बर्षहरुमा संरचना मर्मत, स्तरवृद्धीमा ठूलो रकम खर्च गर्नुपरेपछि अपेक्षाकृत वडाको विकास हुन सकेन । तर, अब भने यस वडाले बिकासको गति लिइसकेको छ । विकास र समृद्धि कुनै एक निश्चित प्रक्रिया मात्र नभएर एउटा अभियान पनि हो । बुद्धशान्ति वडा नम्बर १ वडा कार्यालयले अघि सारेका योजना, लक्ष्य र कार्यक्रमहरुमा सम्पूर्ण वडाबासी, सरोकारवाला, प्रदेश तथा संघीय सरकार र सोही गाउँपालिकाले समेत सहयोग, सद्भाव र हातेमालो गरेको खण्डमा केही वर्षभित्र नै वडाले अर्थपूर्ण परिवर्तन गर्नेमा कुनै सन्देह छैन । प्राकतिक प्रकोप, बिरिङ्ग, हँडिया दामा क्षेत्रमा परेको असर न्यूनीकरण गर्न बाँध तथा पैनी व्यवस्थित पैनी निर्माण समेत वडाले गरेको छ । त्यस्तै वडा कार्यालय अन्तर्गत १ नं. वडा कार्यलयमा सहकारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here