प्राविधिक र नैतिक शिक्षा सँगसँगै हुनुपर्छ

0
467

सम्पादकीय

आज हामी प्रविधि र विज्ञानले ल्याएका नवीनतम् परिवर्तनलाई आत्मसात गर्दै बाँचिरहेका छौं । तर, सूचना तथा प्रविधिमा आएको परिवर्तनका सकारात्मक प्रभाव मात्र छैनन्, तिनीहरुले हाम्रो जीवनमा मानवीय मूल्यमान्यतालाई ओझेलमा पारेका अनगिन्ति उदाहरणहरु प्नि छन् । नयाँ प्रविधिको आविष्कारको परिणामस्वरूप घरका प्रत्येक व्यक्तिले आफूलाई एक्ल्याएका छन् । परिवारका सदस्यबीचमा पर्याप्त रुपमा विचार आदान–प्रदान तथा दुःख–सुख साटासाटका लागि पनि समय अपुग हुन थालेको छ ।

झगडा र मतभेदले गर्दा परिवार, समाज र देशबाटै एकता, प्रेम र शान्ति हराइसकेको अवस्था सृजना हुन थालेको छ । यस्ता अशान्तमय अवस्थाबाट हाम्रो समाज गुज्रिँदै गएको सबैले महसुस गरेकै छन् । अब यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने चुनौति हामीमा आएको छ । त्यसैले हामीले परापूर्वकालदेखि चलिआएका हाम्रा मनिषी, महर्षि तथा ज्ञानी पुरुषहरूले देखाएको नैतिकता, मायाप्रेम र करुणाको मार्गलाई अबलम्बन गर्नुपर्छ । उनीहरुले देखाएका असल ज्ञानका बाटा अँगाल्न सके आजका समस्याको आफै समाधान हुँदै जान्छ ।

विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा दिइने भौतिक शिक्षाले मात्र समाधान दिन सक्तैन, यसका लागि आचरण शिक्षाको पनि जरुरत पर्दछ । यो संसारमा खुसी र शान्तिसँग बाँच्नका लागि दुवै किसिमका शिक्षाको आवश्यकता पर्छ । दुवै शिक्षा एकैसाथ दिनुपर्छ । तर, आज सानादेखि ठूला तहका विद्यालयहरूमा भौतिक शिक्षामात्र दिइन्छ ।

तर, आध्यात्मिक शिक्षाको नामोनिशान छैन । शिक्षाले मानिसलाई जीविकोपार्जनको बाटो दिनुपर्छ, तर त्यतिले मात्र सबै समस्याको हल दिन सक्तैन भन्ने कुरा घाम जत्तिकै स्पष्ट छ । शिक्षा यस्तो हुनुपर्छ जसले एउटा व्यक्तिले अर्को व्यक्तिलाई हेर्ने तरिकामा परिवर्तन ल्याओस् । शिक्षा मानिसको मन, हृदय परिवर्तन गर्न सक्ने क्षमता भएको हुनुपर्छ । महात्मा गान्धी भन्छन्, ‘शिक्षाले जीवनको आदर्श उच्च बनाउँदैन भने अध्ययन गर्नु बेकार छ ।’ भौतिक शिक्षा भनेको पेट पाल्ने माध्यम हो ।

बाँच्नका लागि पैसा चाहिन्छ । घर, भोजन, छोराछोरीको शिक्षा दीक्षा इत्यादिका लागि आवश्यक पर्छ पैसा । तर, जीवनमा आइपर्ने समस्यालाई शान्त मनले बुद्धिमानीपूर्वक समाधान गर्नका लागि नैतिक शिक्षाको खाँचो पर्दछ । अबको शिक्षाले प्रविधिका साथसाथमा सत्कर्मको बाटो देखाउन सक्नुपर्दछ । यो शिक्षाले व्यक्तिमा आत्मविश्वास, आत्मसन्तुष्टि, त्याग र रूपान्तरण ल्याउँछ जसको परिणामस्वरूप आफूलाई चिन्नमा सहयोग पु¥याउँछ ।

नैतिक र आचरण शिक्षाले ज्ञानको तेस्रो आँखा खोल्दछ । विद्यार्थी बढी सहनशील, दयालु, अनुशासित, भद्र, मिलनसार र सबैसँग घुलमिल हुने र अरुको अस्तित्वलाई स्वीकार गर्ने हुन्छन् । हाम्रा विद्यालयमा अब ज्ञान, सीप र प्रवृत्ति परिवर्तनको मात्र लक्ष्य बोकेको शिक्षा पर्याप्त हुँदैन भन्ने सच्चाइलाई शिक्षाकर्मीहरुले बुझ्नुपर्छ, शिक्षाका योजनाकारले बुझ्नुपर्छ र तद्अनुरुप शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन आवश्यक छ ।

आजको युग कम्प्युटर र प्रविधिको युग मात्र नभएर नैतिक आचरणको युग पनि हुनुपर्छ । अल्बर्ट आइन्स्टाइनले भने झंै धर्म बिनाको विज्ञान र विज्ञान बिनाको धर्म दुवै मानवजातिका लागि अनुपयुक्त हुन्छन् । यो सच्चाइलाई ग्रहण गरेर मात्र कुनै पनि मुलुक सकारात्मक विकासको बाटोमा लाग्नसक्छ । नेपालमा पनि भौतिक ज्ञानका साथ असल मानिस निर्माण गर्ने शिक्षालाई शिक्षाको अभिन्न पाटोको रुपमा समावेश गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here