अज्ञात समूहद्वारा मेची नदीको अस्थायी पुल जलाउने प्रयास

0
896

झापा,

नेपाल–भारत सीमामा रहेको मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल अज्ञात समूहले जलाउने प्रयास गरिएको छ।

१०९ नम्बर सीमा पिलर रहेको भद्रपुर नगरपालिका–३ स्थित भैसाबाडी नाकामा पर्ने मेची नदीमा स्थानीयले सहजका लागि अस्थायी बाँसे पुल बनाएका छन्। पुलदेखि भारतीय भूमि ५०० मिटर दूरीमा पर्छ।

वडा नम्बर ३ को कार्यालयको समन्वयमा भैसाबाडी टोली विकास समितिले स्थानीयबाट आर्थिक सङ्कलन गरी बनाएका बाँसे पुल मंगलबार राति जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

‘बाँसे पुलको बीच भागमा आगो लगाइएको छ,’ प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘आगोबाट पुलको केही बाँसका भाटा मात्र जलेको छ।’ पुलमा आगो कसले किन लगाएको हो भन्ने बारेमा सीमा प्रहरी चौकी पृथ्वीनगरले अनुसन्धान गरिरहेको छ।

भैसाबाडी टोल विकास समितिका निमलाल गणेश र पल्टन गणेशको नेतृत्वमा नदीमा बाँसे पुल बनाइएको हो। पुल तरेबापत समितिले ५ देखि २० रुपैयाँसम्म शुल्क लिने गरेको स्थानीयको भनाइ छ।

पुल निर्माण गर्न योजना गरेभन्दा बढी बजेट लागेकाले पुल तर्न स्थानीयबाट शुल्क उठाउने गरिएको समितिले बताइको छ। वडा नम्बर ३ का अध्यक्ष कमला थुलुङका अनुसार पुल जले पनि कसले जलाएको भन्ने केही खुलेको छैन।

घटनास्थल पुगेको प्रहरीले भने पुल तर्दा पैसा उठाउने गरेकाले आगो लगाउन खोजिएको हुन सक्ने अनुमान गरेको छ। घटनाको सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक रेसमकुमार थक्सु, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले स्थलगत अनुगमन गरेका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here