विष्ट बहिर्गमनले मेनपावर व्यवसायी उत्साहित

0
595

काठमाडौं,

कामदारलाई ठगि खान पल्केका दलालहरुको झण्डै दुई वर्ष दोहोलो काढेका गोकर्ण विष्ट अन्ततः दलालकै धरापमा परेका छन् ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीकै टीमले बनाएको मापदण्डका आधारमा कार्यसम्पादन मूल्याङकनमा दोश्रो नम्वरमा रहेका विष्ट यसरी एकाएक मन्त्रीमण्डलबाट फ्याँकिनु रहस्यमय नै भयो । राम्रो काम गरिरहेको वखत फ्याँकिएका विष्टलाई त यसले राजनीतिक लाभ हुने छ । तर स्वयं रोजगारीका लागि जाने कामदारहरुका लागि भनें यो निर्णयले पुनः ठगिको अभ्यास मौलाएर यस क्षेत्रमा भ्रष्टाचारको जगजगि बढ्ने आशंका छ ।

मन्त्री विष्ट किन फ्याँकिए ? तथ्यहरुले त्यसको शिलशिला देखिएका छन् । मलेसियामा कामदार पठाउने नाममा भइरहेको लखनउ लुटमा प्रहार गर्नु, सो लुटमा संलग्न र त्यसको रसपान गरिरहेका कतिपय राजनीतिक नेतृत्वको त्यो श्रोत बन्द हुनु एउटा कारण हुनसक्दछ ।

मलेसियाका निवर्तमान गृहमन्त्री नेपाली कामदार लिन नीतिगत भ्रष्टाचार गरेको अभियोगमा मुद्धा खेपिरहेका छन् । कानून कार्यान्वयनमा कमजोर भनिने मलेसियाले नै नेपाली कामदार ठगेको स्वीकार्दै आफ्नै निवर्तमान मन्त्रीलाई मुद्धा चलाइरहँदा यता त्यहि विषयमा दलाललाई ठेगान लगाउन खोजेका विष्ट मन्त्रीबाट हटाइए ।

यसवीचमा विष्टलाई श्रम मन्त्रीबाट हटाउन कुनस्तरमा राजनीतिक लविङ गरियो भन्ने जगजाहेर छ । उनलाई हटाउने आश्वासन नेकपाकै कतिपय उच्च नेताले दिएको कुरा स्वयं मेनपावर व्यवसायीहरु बताउँछन् ।

श्रम मन्त्रालयमा दुई वर्ष अघिसम्म पनि कुन दृष्य देखिन्थ्यो भन्ने स्पष्ट छ   दलालका नाइकेहरुले मन्त्रालय लगभग पूर्णत कव्जा गरेका थिए । उनीहरुकै कुरा सुनिन्थ्यो । उनीहरुले नै चाहे अनुरुप नीति बनिन्थे । वैदेशिक रोजगार विभागका महानिर्देशक र निर्देशकहरुलाई तिनै दलालका नाइकेहरुले आदेश दिने हैसियत राख्दथे । विभाग भित्रै पीडित कामदारलाई दलाल वा तिनको प्रभावमा परेका कर्मचारीहरुले हप्काउने, धम्क्याउने गरेको स्मृति ताजै छ । कमसेकम विष्टले श्रम मन्त्रालयको बागडोर सम्हालेपछि त्यो हटेको थियो ।

विष्टले कामदारका लागि शुन्य लागतको नीति लिए । उनले जुन मुलुकले शुन्य लागतमा नेपाली श्रमिक लैजान्छ सो मुलुकमा मात्र नेपाली कामदार पठाउने भनेर कस्दै लगेपछि एकपछि अर्को मुलुक नयाँ श्रम समझदारीका लागि आउन कर लाग्यो । खाडीका मुलुकहरु के रहरले श्रम समझदारी गर्न आएका हुन् ? होइन । उनीहरुका लागि एउटा वाध्यकारी अवस्था निर्माण भएको थियो ।

यसवीचमा विष्टले मन्त्री हुँदा मिलाउन नसकेको भनेको स्वयं आफ्नै दलको नेतृत्वमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँगको समदुरी हो । उनले सो अवसर हुँदा हुँदै पनि त्यसलाई पुरै  नजरअन्दाज गरिरहन जरुरी थिएन । यसैगरी मलेसिया नेपालका सवै  शर्त मान्न तयार भएर आइसके पश्चात सो मुलुकको रोजगारी खोल्न बढी समय लिइरहन जरुरी पनि थिएन ।

विष्टलाई मन्त्रीमण्डलबाट विदा गरिएपछि सामाजिक सञ्जालमा आएका प्रतिकृयाले नै उनले गरेका कामको व्याख्या गरिरहेका छन् । एकातिर सुधारको प्रशंसा गर्नेहरुले यसमा आश्चर्य जनाएका छन् भनें केहि वैदेशिक रोजगार व्यवसायीले खुशी प्रकट गर्दै लेखेका छन् । यसले पनि त स्पष्ट हुन्छ विष्ट बहिर्गमनको सन्देश ।

उच्च मनोवलका साथ दलालको जालो तोड्न निरन्तर काम गरेका विष्टमाथि के प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय गरे ? सधै रकमको चलखेल भइरहने र भ्रष्टाचारको आहालमा डुविरहने श्रम मन्त्रालयमा गोेकर्ण विष्टले पनि भ्रष्टाचार गरेका थिए त ? वा भ्रष्टाचार गर्नु, दलालका विरुद्धमा आँखा चिम्लनु पर्नेथियो त ? यी प्रश्नहरु आमनेपालीका मनमा उठेका छन् । हालसम्म प्राप्त तथ्यका आधारमा राजनीतिक रुपमा आन्तरिक रुपमा गुटगत हरहिसाव नमिलेको हुनसक्दछ, कतिपय पहुँचवाला नेताको अन्तिम माग नै गोकर्ण विष्टलाई मन्त्रीबाट निकाल्नु हुनुले गणित विग्रिएको हुनसक्दछ । उच्च मनोवलका साथ श्रम मन्त्रालयको जिम्मेवारी लिन आएका विष्ट त्यहि मनोवलका साथ अन्तिम दिन ५ बजे श्रम मन्त्रालयबाट बाहिरिए । एउटा राजनीतिक व्यक्तिका लागि यो आफ्ना मतदातासँग पुनः फर्केर जाँदा असाध्यै शिर उच्च बनाउने विषय हो ।

विष्ट बहिर्गमनले स्पष्ट सन्देश दिएको छ, नेपालको राजनीतिमा दलालको अत्यन्त डरलाग्दो पकड छ । विष्टले यो झण्डै दुई वर्र्षमा लगभग भत्काएको श्रमिक ठग्ने जालो पुनः मौलाउन नदिने वा शुन्य लागत लगायतका उपलव्धी पुनः शुन्यमै पुर्याउने दुवै अवसर छ नयाँ श्रम मन्त्रीलाई ।-देशपरदेशबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here