इन्द्रसिंह राजवंशी
पूर्व–पश्चिम लोकमार्गदेखि करिब पाँच किलोमिटर दक्षिणमा झापाको पुरानो मध्येको घैलाडुब्बा बजार अवस्थित छ । लक्ष्मीपुरदेखि घेराबारीसम्मको हिमाली सडक घैलाडुब्बा बजार हुँदै जाने गर्दछ । त्यही ऐतिहासिक घैलाडुब्बा बजार पर्ने कनकाई नगरपालिका वडा नं. ९ को आफ्नै विशिष्टता रहेको छ । साविक घैलाडुब्बा गाउँ पञ्चायत हुँदै घैलाडुब्बा गाउँ विकास समितिको वडा नं. ५, ६ र ७ लाई समेटेर २०७२ सालमा कनकाई नगरपालिकाको वडा नं. ९ बनाइएको हो । पूर्वमा बिर्तामोड नगरपालिका–२ को सीमाना घाग्रा खोला, पश्चिममा विरीङ नदी, उत्तरमा कनकाई नगरपालिका वडा नं. ८ र दक्षिणमा बाह्रदशी गाउँपालिकाको वडा नं. ६ र ७ ले घेरिएको यस वडाको क्षेत्रफल ५.४९ वर्ग किलोमिटर रहेको छ । त्यसैगरी, यस वडामा कूल आठ सय ११ बिगाह जग्गा रहेको छ ।
जस अनुसार साविक घैलाडुब्बा–५ मा दुई सय ६७ बिगाह ८ कठ्ठा १५ धुर, वडा नं. ६ मा एक सय ३९ बिगाह १ कठ्ठा १४ धुर र वडा नं. ७ मा चार सय चार बिगाह ९ कठ्ठा १९ धुर जग्गा रहेको छ । यस वडामा सात सय ८५ घर धुरी र जनसंख्या तीन हजार नौ सय २१ रहेको छ । हिन्दू, बौद्ध, इस्लाम र इसाई धर्मका धर्मावलम्बी रहेको यस वडामा २५ भन्दा बढी जातजातिको बसोबास पाइन्छ । यस क्षेत्रमा बसोबास गर्ने ब्राह्मण, क्षत्री, राजवंशी, चौधरी, सन्थाल, तराई माझी, यादव, मुस्लिम, मुसहर, मण्डल, सुँडी, गोश्वामी, दर्जी, कामी, राई, लिम्बू, गुरुङ, मगर, खवास, तामाङ, नेवार, साह, कर्ण, सार्की लगायतका जातिबीच जातीय सहिष्णुता र मेलमिलाप पाइन्छ । घैलाडुब्बा बजार, टेकनारायणबारी, लकडीगद्दी, मन्त्रीबारी, नयाँ देउनियाबारी, टोपालालबारी, पशुहाट, नमूना टोल, (होलीपारी), सुकुम्बासी टोल, घुसुकपुर, सयपत्री टोल (घाग्रा छेउ), हुलुकुचु गाउँ, सन्थाल गाउँ, दियालो बस्ती, थापा गाउँ लगायतका बस्तीहरु मिलेर यस वडा बनेको छ ।
राजवंशी भाषाको ‘झाप’ अर्थात् ‘छोपिएको’ शब्दबाट नामाकरण गरिएको झापा जिल्लाको इतिहासलाई खासै खोतल्ने प्रयास भएको छैन । जंगलैजंगलले छोपिएको यो जिल्लामा विगतमा आदिवासीहरुकै वर्चस्व रहेको थियो । राजवंशी, ताजपुरिया, धिमाल, गनगाई, मेचे, सन्थाल जस्ता भूमिपुत्र आदिवासीहरुको बसोबास यहाँ परापूर्वकालदेखि रहेको पाइन्छ । यद्यपि वर्तमानमा उनीहरु विस्थापित हुँदै गएका छन् । झापा जिल्लामा भद्रपुर बजार प्रमुख व्यापारिक केन्द्र रहेको थियो । त्यसपछि बिर्ताबजार, शनचरी (शनिश्चरे), घैलाडुब्बा, बाह्रदशी त्यसबेलाका चल्ती हाटबजार हुन् ।
घैला अर्थात् गाग्रा डुबेको घटनापछि घैलाडुब्बा नाम रहन गएको पूर्वजहरु बताउँछन् । घैला डुबेरै घैलाडुब्बा रहन गएको कुरा यकिन भए पनि घटना र घटना पात्रहरुको बारेमा फरक–फरक भनाई सुन्न पाइन्छ । दल–दल माटो भएको यस ठाउँमा राजवंशीहरुले खेतमा खाजा पु¥याउँन जाँदा भुइँमा राखेको घैला डुबेकाले घैलाडुब्बा रहन गएको कोही बताउँछन् भने खेती मजदुरीमा जाने थारुहरुले जरुवा पानीमा घैला डुबाएर पानी पिउने गरेकाले घैलाडुब्बा भनिएको अर्काथरीको तर्क छ ।
त्यस्तै माटोको भाडा बनाउने कुमालहरु भाँडाकुँडा बेच्न बजार जाँदा नुकुनी खाडीमा उनीहरुको घैला डुबेपछि त्यही घटनाबाट यस ठाउँको नाम घैलाडुब्बा रहन गएको भनाइ पनि सुन्न सकिन्छ । हालको कनकाई नगरपालिकाको ९ नं. वडा कार्यालयदेखि उत्तरपट्टि २००६ सालदेखि घैलाडुब्बा हाट लाग्न थालेको हो । टेकनारायण राजवंशी, जितलाल राजवंशी, कल्ठु राजवंशी, दधि राजवंशी, मासु राजवंशी, ग्रहण राजवंशी लगायतको अगुवाईमा जंगल भएको ठाउँमा हाट लगाइएको हो । हाट लगाइएको ठाउँ साघुँरो भएकाले त्यसलाई केही बर्षपछि दक्षिणपट्टि सारियो । पुरानो ठाउँबाट नयाँ ठाउँमा सारिएपछि त्यसलाई नयाँ हाट भनिन थालियो । राणाकालीन समयमा जिम्दार र पट्वारीहरुले आ–आफ्नो मौजामा शासन चलाउने गर्थे ।
यहाँको सिन्दुरमुछी मौजाको कार्यभार जिम्दार देवीप्रसाद उप्रेतीले धेरै बर्षसम्म चलाउनुभयो भने उहाँ अघि ब्रह्मलाल राजवंशी र भद्रपुरका डुम्बर काँयाले पनि जमिन्दारी चलाएको बुढापाकाहरु बताउँछन् । सात दशकअघिको घैलाडुब्बा बजार स्थापना गर्न कम अप्ठ्यारो थिएन । ग्राहक र व्यापारीहरु आउन नमानेपछि बिक्री नभएको सामानहरु खरिद गरिदिने शर्त राखेर बजार कमिटीले हाट लगाएको थियो । त्यो शर्त अनुसार व्यापारीहरुको सामान उहाँहरुले किन्नु पनि परेको थियो । शुरुमा किराना, सागसब्जी, दही जस्ता सामानको किनबेच भएको थियो भने हाटमा दुईवटा मात्र चिया पसल रहेका थिए ।
जिल्लाकै पुरानो बजारको रुपमा रहेको घैलाडुब्बाको अपेक्षाकृत विकास र विस्तार हुन सकेको छैन । यस बजारमा दुईवटा होलसेल किराना, १२ वटा किराना खुद्रा पसल, चार वटा घुम्ती, तीन वटा हार्डवेयर, चार वटा रेडिमेट कपडा, दुई वटा जुत्ताचप्पल, दुई वटा स्टेशनरी तथा मनिहारी, दुई वटा मनिहारी, दुई वटा भाडा तथा गिफ्ट आइटम, दुई वटा ब्यूटीपार्लर, दुई वटा मलखाद बिक्री केन्द्र, एउटा ज्वेलरी र छ वटा धान काँटा रहेका छन् । त्यस्तै कुटानी र पिसानी गर्ने चार वटा धान मिल, एउटा फर्निचर उद्योग, नौ वटा चिया–नास्ता पसल, १० वटा कोल्ड ड्रिङ्क्स पसल, चार वटा फार्मेसी, तीन वटा भेटनरी, छ वटा फ्रेस हाउस, छ वटा टेलर्स, दुई वटा मोटरसाइकल ग्यारेज र तीन वटा साइकल मर्मत सेन्टर सञ्चालनमा रहेका छन् । त्यस्तै, घैलाडुब्बामा जिल्लाकै पुरानो तथा ठूलो पशुहाट लाग्ने गरेको छ । झापा जिल्ला र जिल्ला बाहिरका पशुचौपायाहरुको किनबेच हुने गरेको छ । घैलाडुब्बामा हप्तामा दुई पटक मंगलबार र शुक्रबार हाट लाग्ने गरेको छ ।
घैलाडुब्बाका बारेमा यसो भन्छन् स्थानीय :
गंगाप्रसाद उप्रेती, (७६ बर्ष) :
२०१० सालमा म घैलाडुब्बा आइपुग्दा यहाँका काँसघारी थियो । बजारमा १२÷१३ वटा घर मात्र थियो । हटियाको दिन दुई÷चार जना मात्र आउँथे । स्थायी व्यापारी कोही थिएनन् । त्यसबेला यहाँको बजारलाई नयाँहाट भनिन्थ्यो । म वडाध्यक्ष भएको बेला दुर्गा मन्दिर बनायौँ । पुराण लगाएर दशैंको फुलपातिको दिन मूर्ति राखियो ।
बुधलाल राजवंशी, (६५ बर्ष) :
साविक घैलाडुब्बा गाविस कार्यालयदेखि उत्तरपट्टि हाट लगाइएको हो । ठाउँ साँघुरो भएकाले पछि त्यसलाई दक्षिणपट्टि सारियो । त्यहाँ पश्चिमपट्टि खोल्सा थियो भने छेउमा मसान घाट । पुरानो ठाउँबाट सारिएपछि नयाँ हाट भनियो । सिन्दुरमुछी भद्रालोको नामबाट यस मौजाको नाम सिन्दुरमुछी राखिएको हो । घैलाडुब्बा हाट शुरुमा साधारण थियो । दुई वटा चिया पसल थिए । घैलाडुब्बा बजार लाग्नुअघि यहाँका मानिसहरु थोक सामान किन्न भद्रपुर र खुद्रा सामान किन्न बिर्ताबजार जाने गर्दथे । पुरानो बजार क्रिष्टझारमा रहेको कृष्ण मन्दिरलाई ग्रहण राजवंशीले नयाँ हाट घैलाडुब्बामा पदस्थापन गर्नुभयो ।
शिवनारायण राजवंशी, (५७ बर्ष)
दलदल माटोको बड चाउनी (ठूलो फाँट) भएकाले यसलाई बड चौनी पनि भनिन्थ्यो । दलदल माटोमा भाडाकुँडा पनि अडिदैनथ्यो । राणाकालमा जातीय उत्थानका लागि डाँगीबारीका जिम्दार हंशनारायण चौधरीको अगुवाईमा झापा जिल्ला राजवंशी समाज सुधार संघ गठन गरिएको थियो । सोही संगठनको मन्त्री पदमा मेरा पिता जितलाल राजवंशी रहनु भएको थियो । पेटानी, बालविवाह, चुम्ना प्रथा जस्ता कुरीतिहरुलाई हटाउने उहाँहरुले अभियान नै सञ्चालन गर्नुभएको थियो । देवीप्रसाद उप्रेतीभन्दा अगाडि ब्रह्मलाल राजवंशी सिन्धुरमुछी मौजाको जिम्दार हुनुहुन्थ्यो । सरकारी मालपोत तिर्न नसकेर उहाँले जमिन्दारी छोड्नु भयो ।
धर्मकला प्रसाईं, (७८ बर्ष)
२०१२ सालमा १३ वर्षको उमेरमा गंगाप्रसाद प्रसाईं (भान्जाबाबु)सँग मेरो विवाह भयो । त्यतिबेला घैलाडुब्बा बजारमा दुई÷चार वटा साना टहरा मात्र थिए । पहाडबासीहरु खासै थिएनन् । २०१४ सालमा हाम्रै घरमा बसेर आदर्श विद्या मन्दिरको नामाकरण गरियो । विद्यालय सञ्चालक समितिको अध्यक्षमा जिम्दार देवीप्रसाद उप्रेती, उपाध्यक्ष टेकनारायण राजवंशी, सचिव गंगाप्रसाद प्रसाईं (भान्जाबाबु), सहसचिवमा कामेश्वर दत्त र कोषाध्यक्षमा विष्णुप्रसाद पोखरेल रहनुभएको थियो । दश वर्षसम्म विद्यालयको सञ्चालक समितिमा बसेर मैले विभिन्न काम गरेको अनुभव छ । २०११ सालमा घैलाडुब्बामा ठूलो बाढी आएको थियो । कृष्णबहादुर खत्रीले जामुनबारीबाट डुंगा ल्याएर उद्धार गर्नुभएको थियो । पछि २०६० सालमा बिरिङको बाढी पस्दा घैलाडुब्बामा निकै क्षति भएको थियो ।
अन्नप्रसाद राजवंशी, (७९ बर्ष)
वास्तवमा राजवंशीहरुकै पहलमा घैलाडुब्बा हाट लागेको हो । शुरुमा सामानहरुको खासै बिक्री हुँदैनथ्यो । सामान्यरुपमा सागसब्जीहरु बिक्री हुन्थ्यो । जितलाल राजवंशी र टेकनारायण राजवंशीले पहल गरेर घैलाडुब्बा लक्ष्मीपुर सडक बनाउनु भयो । जंगल र झाडी भएको ठाउँलाई सफा गरेर घैलाडुब्बा हाट लगाइएको थियो ।
नापीलाल राजवंशी, (८५ बर्ष)
घैलाडुब्बा बजार भएको ठाउँमा काँसघारी रहेको थियो । सिमलको बोट भएकाले सिमलबारी पनि भनिन्थ्यो । यहाँको माटो निकै दलदले थियो र अझै छ । एक ठाउँमा खुट्टा टेक्दा दलदल पुरै हल्लिन्थ्यो । हलो जोत्दा गोरु भाँसिन्थ्यो । २००७ सालपछि राजमार्गसँग जोडिने उत्तर दक्षिण बाटो बनिएको हो । २०१६ सालमा यहाँ क्याम्प बसेको थियो । देवीप्रसाद उप्रेतीले जमिन्दारी चलाउनुभन्दा अघि भद्रपुरका मारवाडी डुम्बर काँया जिम्दार रहनुभएको थियो । अहिलेको बजार क्षेत्रमा मसान घाट रहेको र बैकुनलाल राजवंशी (गाइन बुढा)ले मुर्दाघाटबाट अस्थिपञ्जर पन्छाउनु भएको थियो । अहिलेको लखरीगद्दीमा राणाशासनकै बेलामा काठको डिपो रहेको थियो । काठको डिपो राखिएकाले त्यहाँको नाम लखरीगद्दी रहन गएको हो ।
हरिबहादुर कटुवाल, (६७ बर्ष)
मुलुकको राजनीति तथा सामाजिक परिवर्तनको पक्षमा घैलाडुब्बा (कनकाई–९) को २००७ सालको क्रान्तिदेखि नै देवीप्रसाद उप्रेती, विष्णुप्रसाद पोखरेल लगायतका व्यक्तिहरुको सक्रिय र अहम् सहभागिता देखिन्छ । देवीप्रसाद उप्रेती पूर्वीय सरकारको शिक्षा र अर्थमन्त्री समेत हुनु भएको थियो । पछि झापा विद्रोहमा केपी ओली, रामनाथ दाहाल, गौरा प्रसाईं, आरके मैनाली, नेत्र घिमिरे, नरप्रसाद चुँडाल, मीनप्रकाश राजवंशी, खड्ग पकुवाल, टीका प्रसाईं, हरि कटुवाल, नन्दकुमार प्रसाईं, सूर्य उप्रेती, शान्ति पोखरेल, नारायण संग्रौला लगायतको संलग्नता रहेको थियो । त्यसरी नै २०३६ साल र २०४६ सालको परिवर्तनमा समेत यस वडाको अहम् भूमिका देखिन्छ । त्यस्तै, प्रजातान्त्रिक आन्दोलनमा धनञ्जय उप्रेती, धर्मकला प्रसाईं, राम घिमिरे, टीका प्रसाईं लगायतले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।
धनबहादुर तामाङ, (७६ बर्ष)
२००४ सालामा तराई झर्दै त्यसको आठ वर्षपछि म घैलाडुब्बाको मनषापुरमा बसाइँसरी आएँ । त्यतिबेला यो ठाउँमा जंगल, काँसघारी र खोलानाला मात्र थियो । आउने बाटाघाटा थिएनन् । २००६ सालअघि यहाँ बजार थिएन । मानिसहरु नजिकैको बाह्रदशी बजार जान्थे । २०३९ सालमा म घैलाडुब्बा गाउँ पञ्चायतको उपप्रधानपञ्च हुँदा दुर्गापुरदेखि चम्पापुरसम्मको बाटो बनायौँ । विद्यालय र रेडक्रसको विभिन्न पदमा बसेर मैले सामाजिक कार्यहरुमा योगदान दिएको छु ।