१६ करोडको कालोपत्रे अलपत्र

0
837

पार्थ मण्डल /भद्रपुर।

‘कालोपत्रे सडक हेर्न सदरमुकाम जानु पर्छ – स्थानीय वृद्ध अफताक मियाँ भन्छन्– ‘गाउँमै कालोपत्रे सडक बन्दैछ रे, ठेक्का पनि लागि सक्यो, अब छिट्टै काम शुरु हुन्छ भनेर सुन्दा गाउँमै खुशियाली छाएको थियो ।’ ‘यो सुनेको पनि तीन वर्षभन्दा बढी समय बित्यो, तर गाउँमा कालोपत्रे त के काम गर्ने ठेकेदार पनि देखिएन’– उनले गुनासो पोखे ।’

मेची राजमार्गबाहेक दक्षिणी झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक भित्री सडक खण्डमा कालोपत्रे बनाउने योजना परेको थियो । साबिक पाठामारी–बनियानी–बालुवाडी गरी तीनवटा गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो । योजना मात्रै हैन सरकारले टेण्डर आह्वान गरी ठेक्का समेत लगाइसकेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडक खण्ड बन्न सकेको छैन ।

ठेक्का सम्झौता मिति सकिएको तीन महिना बित्न लाग्दासमेत अहिलेसम्म कालोपत्रे सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन् । ‘बर्खा पानी जमेर हिँड्नै नसक्ने सो सडकमा हिउँद धुलो उडेर सडक आसपासमा बस्नै सकिँदैन’– स्थानीय इस्माइल मियाँले भने । ‘३० महिनामा बनिसक्ने सडक अहिलेसम्म बनेको छैन, अब पनि बन्छ कि बन्दैन त्यो अनिश्चित छ’– उनले भने– ‘जनप्रतिनिधिले समेत सडकको विषयमा अहिलेसम्म कुनै चासो देखाएका छैनन् ।’ उनले भने – ‘सडकको बारेमा जनप्रतिनिधिलाई सोद्धा हुन्छ–हुन्छ मात्र भन्छन्, तर केही भएको छैन ।

संघीय संरचनामा जानु अघिको तत्कालीन सरकारले दक्षिणी झापावासीको यातायात सुविधालाई मध्यनजर गरी कालोपत्रे सडक निर्माणका लागि बजेट छुट्याएको थियो । भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे सडक निर्माणका लागि सरकारले डीपीआर तयार गरी पिएस् र भ्याटसहित १६ करोड ३६ लाख ६३ हजार ८ सय ४९ रुपैयाँ तोकेर टेण्डर आह्वान गरेको थियो ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय दमकले २०७३ साल माघ २४ गते गजुरमुखी निर्माण कम्पनी इलामसँग सडक बनाउने ठेक्का सम्झौता गरेको थियो । ७ दशमलव १७ किलोमिटर सडकको चौडाइ ५.५ मिटर रहेको छ । सडकमा ११ वटा ह्युमपाइप कल्भर्ट, ४ वटा स्ल्याभ कल्भर्ट, एउटा बक्स कल्भर्ट र ५ सय मिटर नालासहितको कालोपत्रे सडकको ठेक्का गजुरमुखीले १० करोड ८१ लाख ५७ हजार ३१६ रुपैयाँमा लिएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ । ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता गरेको निर्माण कम्पनी गजुरमुखीको म्याद २०७६ साल साउन २३ गते सकिसकेको छ । तर पनि सडक बनाउने विषयमा कुनै पहल नभएको भन्दै स्थानीय गुनालाल गणेशले भने– ‘ग्राभेल सडक हुँदा पनि बर्खाको समयमा पाठामारी बजारसम्म यातायातका सवारीसाधन आउँदैनन्, गाउँमा कोही बिरामी परे बोकेर लैजानु पर्ने अवस्था छ ।’

सिटौलाले गरेका थिए सडकको शिलान्यास

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र ३ बाट निर्वाचित नेपाली कांग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पाठामारीमा आयोजित एक कार्यक्रमका बीच सो सडकको शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा निर्माण कम्पनीका ठेकेदार प्रकाश कँडरियाले जनतामाझ भाषण गर्दै ३० महिनाभित्र कालोपत्रे सडक सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ३० महिनाको अवधिमा ठेकेदार कँडरियाले गरेको काम देखेर स्थानीय निराश देखिएका छन् । ‘ठेकेदार र नेता सबै उस्तै हुन’– स्थानीय शिवनारायण गणेशले भने– ‘सडक बन्छ भन्ने नेता तथा जनप्रतिनिधि चुनावको बेला भोट माग्न मात्र आउँछन्, अरू बेला केही काम गर्दैनन् ।’

३३ महिनामा नाला पनि बनेन

गजुरमुखी निर्माण कम्पनीले बनियानी बजार सडक आसपासको क्षेत्रमा ३३ महिनामा दुईतर्फ अधुरो पक्की नाला बनाएर छाडेको छ । निर्माण कम्पनीले बनियानी बजार क्षेत्रमा ५ सय मिटर स्ल्याभसहितको पक्की नाला बनाउनु पर्ने हो । तर, अहिलेसम्म ५० मिटर नाला बनाउनै बाँकी छ ।

स्थानीयका अनुसार निर्माण कम्पनीले अहिलेसम्म ३३ महिनाको अवधिमा नाला, ८ वटा ह्युमपाइप र केही कल्भर्ट मात्र बनाएको छ । निर्माण कम्पनीले नाला बनाउने काम पेटी ठेक्कामा रमेश पौडेल र मदन केसीलाई दिएको छ । निर्माण कम्पनीले अहिलेसम्म गरेको नाला र कल्भर्टको काम पनि गुणस्तरहीन बनेको स्थानीय बताउँछन् । निर्माण कार्यमा कमसल सिमेन्ट, बालुवा र गिट्टीमा सिमेन्टको मात्रा कम दिएको भन्दै स्थानीयले गुणस्तरमा समेत प्रश्न उठाएका छन् ।

के भन्छन् ठेकेदार ?

गजुरमुखी निर्माण कम्पनी इलामका ठेकेदार प्रकाश कँडरियाका अनुसार सङ्घीय संरचनामा देश जानु अघि नै यो सडकको ठेक्का लागेको हो । निर्माण भइरहेकै अवस्थामा देशको संरचना परिवर्तन हुँदा बजेट निकासमा समस्या आयो । ‘ठेक्का लागीसकेको सडक सङ्घीय वा प्रदेश सरकार कसले जिम्मा लिन्छ भनी कुर्दा १० महिना बित्यो, त्यही कारणले सडक निर्माणमा ढिला भएको हो’– उनले भने ।’ समय अवधि सकिसकेकोले डिभिजन सडक कार्यालय दमकबाट ६ महिनाको म्याद थपिसकेका छांै– उनले भने– ‘सडकको नाला बनाउने काम सकिसकेका छांै, अब ६ महिनाभित्रै कालोपत्रे सडकको काम सक्छौं ।’

१० महिना समस्या आयो होला अनि २० महिनामा नाला मात्र बनाउनु भयो त भन्ने जिज्ञासामा उनले भने– ‘सडक बनाउन केही प्राविधिक कठिनाइ आएकोले मात्र ढिलासुस्ती भएको हो, अबको ६ महिनाभित्र कालोपत्रे बनाउँछांै, यो मेरो प्रतिबद्धता हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here