गौरीगञ्ज,

दशगजा क्षेत्रमा पुगेर ‘गो ब्याक इण्डिया’ नारा लगाउदै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहको इकाई समिति नेपाल विद्यार्थी संघको संयुक्त अगुवाईमा विहीवार विहान दशगजादेखि ५ सय मिटर टाढाबाट ‘भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इण्डिया, हाम्रो भूमि, हाम्रो देश–प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउँदै दशगजा क्षेत्रमा पुगी कोणसभा गरेका थिए । कोणसभा भइरहेको समयमा नजिक रहेका भारतीय प्रहरीले वक्ताहरुका भनाइ चुपचाप सुनेका थिए ।
उनीहरुले भारतीय नागरिकलाई आफ्नो फोन सेट दिएर कार्यक्रमको भिडियो र फोटो खिच्न लगाएका थिए । कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग नेपालको भएको दावी गर्दै बक्ताहरुले यी क्षेत्रहरु भारतले जारी गरेको राजनीतिक नक्सामा समावेश गरेकोमा आपत्तिसहित नक्सा तत्काल सच्याउन माग गरेका थिए ।
कोणसभामा विद्यार्थी नेता महेन्द्र भट्टराईले भारतीय विस्तारवाद नीतिको विरोध गरेको भन्दै नेपालको एक टुक्रा जमिन पनि अतिक्रमण नगर्न चेतावनी दिए । इतिहास साक्षी छ, त्यसलाई भारतले मानेर गए दुवै देशको भलो हुने बताउँदै भट्टराईले नेपाल सरकारले अतिक्रमण गरेको भूभागको विवाद छिटोभन्दा छिटो सुल्झाउन आग्रह गरे ।
नेपाल सानो देश भए पनि वीर पुरुष बलभद्र कुवँर, अमर सिंह जस्ता शहीदहरुको रगतले सिञ्चित भएको बताउँदै उनले देशका लागि मर्न तयार छांै तर एक इञ्च पनि नेपालको माटो छुन नदिने बताए । नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुनै पनि हालतमा भारतले फिर्ता गर्नु पर्ने बताए ।
भारतले जारी गरेको आफ्नो नक्सामा नेपालको भूभागलाई समेट्नु अन्तर्राष्ट्रिय कानूनको पनि विपरीत भएको भन्दै त्यसको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने बताए ।
कोणसभामा कमल गाउँपालिकाका नेविसंघ सभापति जीतेन साम्पाङ राई, गौरादह कृषि क्याम्पसका नेविसंघ इकाइ सभापति कुशल लामिछाने, गौरीगञ्ज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरिया लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेविसंघ गौरादह नगरसभापति बाबुराम नेपालले गरेका थिए ।































