अर्जुनधारा।

झापाको अर्जुनधारा–६स्थित कप्तानबारी युवा क्लबको आयोजनामा यही मंसिर १२ गतेदेखि तेस्रो कप्तानबारी जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय दिपज्योतीको खेलमैदानमा हुने प्रतियोगितामा आयोजकसँगै शनिश्चरे फुटबल क्लब, धुलाबारी फुटबल क्लब, बिर्तामोड युनाइटेड क्लब, झापा फुटबल क्लब, एपीएफ झापा, रेडस्टार क्लब बिर्तामोड र मनास्लु युवा क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले बताए ।
१९ गते सम्पन्न हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद पुरस्कार ३० हजार र २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उपाध्यक्ष भीम राईले जानकारी दिए । त्यस्तै प्रत्येक खेलको म्यान अफ दी म्याचलाई एक हजार रुपैयाँ, म्यान अफ दी टुर्नामेन्टलाई दुई हजार रुपैयाँ र बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, बेस्ट कोच र सर्वाधिक गोलकर्तालाई जनही १५ सय रुपैयाँ दिइने बताइएको छ ।
स्थानीय सरकार, विभिन्न संघ–संस्था र दाताहरुसँग स्रोत जुटाउन समन्वय गरिने बताइएको प्रतियोगिता सम्पन्न गर्न अनुमानित तीन लाख रुपैयाँ लाग्ने कोषाध्यक्ष रामजी दनुवारले बताए । अध्यक्ष दनुवारको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटको सञ्चालन सचिव सञ्जय दनुवारले गरेका थिए ।


























