आधारभूत स्वास्थ्य सेवा सुधारौं

0
429

नेपाल सरकारको प्राथमिकताका बाबजुद नेपालमा आधारभूत स्वास्थ्य सेवाको स्थिति सुधार हुन सकिरहेको छैन । पछिल्लो समय सरकारले सर्वसाधारणको स्वास्थ्य बीमा सम्बन्धी योजना ल्याए पनि जनस्वास्थ्यको क्षेत्रमा त्यो योजनाले तात्विक फरक पारेको देखिएन । हुन त यो व्यवस्थाले रोगको उपचार गर्न अक्षम सर्वसाधारणले घरमै पीडा सहेर बस्नुभन्दा थोरै रकमको बीमामै कतिपय रोगको उपचार कम रकम वा सित्तैमा गर्न सक्ने आशा चाहिँ दिलाएको हो । नेपालमा बालबालिकामा हुने कुपोषणको अवस्था अझै नाजुक छ ।

बालबालिकामा हुने कुपोषणको दर विगतका वर्षका तुलनामा क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ । तर, अवस्था भने नाजुक नै छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार कुपोषणको दर घट्दै गएको देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा कडाखालको कुपोषण हुने बालबालिकाको संख्या १० प्रतिशत छ । वृद्धि अनुगमन, खोप कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुग्नु, स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि हुनु, सरकारी तथा गैरसरकारी संस्थाले कुपोषण विरुद्धका कार्यक्रमलाई प्राथमिकतामा पारेर सञ्चालन गर्नु जस्ता कारणले कुपोषणको अवस्थामा सुधार हुँदै गएको हो । नेपालका २२ जिल्लामा अझै पनि कुपोषणको अवस्था नाजुक रहेको सरकारी तथ्यांकले देखाएका छन् ।

हुने खानेहरु, पहुँचवाला र सम्पत्तिवालाहरुका लागि महँगा अस्पताल छन् । स्वदेशमा उपचार सम्भव नभए विदेशका महँगा अस्पतालमा उपचार गर्ने उनीहरुको क्षमता छ । राज्यकोषको दोहन गरेरै भए पनि उनीहरु उपचार गर्छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर नेपालमा बढ्दो नसर्ने रोगको समस्यालाई ध्यानमा राखी जनस्वास्थ्यको अवस्था र आम नागरिकको स्वास्थ्य स्थिति सुधारका लागि नीतिगत योजना निर्माणमा राज्य अहिलेसम्म पनि लागेको छैन ।

सर्ने रोगभन्दा नसर्ने रोग बढी खतरनाक हुन्छन् । सूर्तिजन्य पदार्थ, मदिरा, गलत आहार, शारिरीक क्रियाकलापको कमी लगायतका कारणले नसर्ने रोगमा वृद्धि भइरहेको छ । हामीले जस्तै स–साना स्वास्थ्य सेवाका समस्यामा जुझिरहेका छौँ, संसार भने अति आधुनिक प्रविधिको प्रयोगले विष्मयकारी सफलता हात पार्दै गएको छ स्वास्थ्य क्षेत्रमा । अति आधुनिक प्रविधिको प्रयोग गरी उपचारको सहजतासँगै दुःसाध्य रोगलाई पहिल्यै जिनमै उपचार गरेर सन्तान जन्माउन सकिने प्रविधिको विकास सम्भव तुल्याएको छ । यसले मानव जातिमा नयाँ आशाको सञ्चार गरेको छ । नेपाल जस्तो मुलुकमा यस्तो उपचार अझै पनि सपना नै भए पनि विदेशमा परिपक्व भएका र पछि सर्वसुलभ हुन थाले ती प्रविधि विस्तारै भित्रने आशा गर्न सकिन्छ ।

एकातिर विकसित मुलुकहरु नवीनतम् खोजमा व्यस्त छन् भने नेपालमा सर्वसाधारण स–साना भनिने रोगहरुबाट मृत्युको मुखमा पुगिरहेका छन् । हरेक मानिसको शरीरको निर्णय गर्ने अधिकार स्वयम्मा भएको र ज्ञान भएर या नभएर मादकपदार्थ, धुम्रपान, बढी नून, जंकफुड लगायतको प्रयोगले अन्य मुलुकमाभन्दा नेपालमा छिटै प्रभाव परेको स्पष्ट छ । राज्यको नीति स्पष्ट भएमा मात्र मुलुकले दिशाबोध गर्ने हो । सार्वजनिक शिक्षा र स्वास्थ्यलाई सुधार्न सके जुनसुकै मुलुक पनि समृद्ध हुन समय लाग्दैन । हाम्रो पहिलो अर्जुनदृष्टि आधारभूत स्वास्थ्य सेवामा केन्द्रित हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here