पार्थ मण्डल / भद्रपुर,
गाई -गोरु हत्या तथा तस्करविरुद्ध झापा जिल्लामा अभियान सुरु गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीलाई सम्मान गरिएको छ ।
“धार्मिक पर्यटनको प्रवर्द्धन गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ” भन्ने नाराका साथ सताक्षीधाम धार्मिक महोत्सव २०७६ (१०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोम तथा श्रीमद्देवी भागवत कथा महोत्सव) मा एसपी दिनेशराज मैनालीलाई सम्मान गरिएको हो ।
महोत्सव आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल र श्री गोलोक गोवर्द्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजले महोत्सवमै आयोजित कार्यक्रममा सयौँ भक्तजनहरूको बिच एसपी मैनालीलाई दोसल्ला ओढाएर अभिनन्दनपत्रले सम्मान गरेका हुन् ।
धार्मिक पर्यटनको विकासका साथै यस क्षेत्रमा संसेवित गो वंशको संरक्षण तथा संवर्धन गरेको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको जनाइएको छ । गाई-गोरु हत्या र तस्करी रोक्न अभियानमा जुटेको भन्दै एसपी मैनालीलाई प्रदान गरिएको अभिनन्दन पत्रमा यस्तो लेखिएको छ ।
मैनाली कुलका दीप राष्ट्रसेवक धार्मिक ।
दिनेश नामले धन्य प्रहरी उपरीक्षक ।।
गौका तस्करको जालो तोड्दै हजुरले सदा ।
गौ हत्या बन्द होस् भन्दै परिश्रमी बनिदिँदा ।।
झापामा बन्द भो हत्या हिंसामुक्त बन्यो जब ।
हजुरको कीर्ति गाथाले उच्च भो राष्ट्र गौरव ।।
हजुरले गर्नु भो सेवाभाव राख्दै समर्पण ।
हजुरको जय होस् भन्दै गछौं मङगलकामना ।।
महोत्सव आयोजक समितिका संयोजक पोर्तेलको अध्यक्षता भएको कार्यक्रममा गोलोक गोवर्द्धन गौशालाका संरक्षक भारद्वाजले झापामा जिल्लाको विभिन्न नाका हुँदै भारतबाट बङ्गलादेशसम्म गाई-गोरु तस्करी गरी हत्या गरिँदै आएको बताए ।
‘गौमा हत्या तथा तस्कर विरुद्ध झापाका एसपी मैनाली आएपछि रोकथाम तथा नियन्त्रण भएको छ’, संरक्षक भारद्वाजले भने, ‘हामीले यस्तो एसपी पाएका छौ, जसले गौमालाई बचाउने संरक्षण जुटेको छ ।’ झापामा बर्षौदेखि गाई गोरुको तस्करी हुँदै आएको अवगत गराउँदै भारद्वाजले भने, ‘गौमा हत्यालाई रोक्न प्रहरी कर्मचारी त एउटा पात्र मात्र हुन, हामी सबैले यसको रोकथाममा एक जुटेर भएर अगाडि बढ्नु पर्छ ।’
“गोत्र र कुलबंशका लागि गौमाको संरक्षण गरिएन भने आउँदो पुस्ताले आफ्नो गोत्र र कुलबंशको रक्षा गर्न सक्दैन, त्यसैले सरकार टाढा छैन, हरेक स्थानीय तहमा सरकारका प्रतिनिधि छन्, उनीहरूलाई भनेर पनि गाई–गोरु तस्करी रोक्न लगाउनु पर्छ,” उनले भने ।’
त्यस्तै सोही कार्यक्रममा मैनाली सेवा समाज समितिले महोत्सवलाई एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको भन्दै समितिका अध्यक्ष डिल्ली मैनालीलाई समेत अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।






























