भरत शिवाकोटी/झापा,

वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले नवलपुरमा चिस्यान केन्द्र स्थापना गरेर उदाहरणीय कार्य गरेका छन् ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने तयारी गरेको हो । ३ हजार मेट्रिक टन क्षमताको उक्त चिस्यान केन्द्रको शेयर खुला हुनुअघि मंगसिर ८ गते सातवटै प्रदेशका अगुवा पुर्व प्रवासीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभाका सांसद तिलक महतले चिस्यान केन्द्रको वेवसाइटको समेत समुदघाटन गर्दै चिस्यान केन्द्र मुलुककै नमूना हुने बताउँदै सजग भएर सञ्चालन गर्न आग्रह गरेका थिए । उनले आफूले आवश्यक परे जती सहयोग गर्न चौबिसै घण्टा तयार रहेको बताउदै आफ्नो कार्यकाल भित्र नै आयोजना सम्पन्न गर्न आग्रह गरेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले आयोजना सफल बनाउन स्थानीयसँग हातेमालो गरेर अघि बढ्न अपिल गर्दै स्थानीयका लागि चिस्यान केन्द्र सुवर्ण अवसर भएको बताएका छन । चिस्यान केन्द्रले स्थानीय कृषकहरुलाई समेत कृषि उपजहरुको प्रवार्द्दन गर्न सहयोग पुग्ने उनको भनाइ थियो । कावासोती नगरपालिका स्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाईएको रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष एवं चिस्यान केन्द्र निर्माण गर्ने अभियानका अभियान्ता नेत्र थनेतले जानकारी दिएका छन ।
चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको अनुदान रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ । सेयर सदस्यहरू छनोट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ । कार्यक्रममा विज्ञ भुमि बरालले आयोजनाको विस्तृत विवरण बारे प्रस्तुति गर्नुभएको थियो ।
कार्यक्रमम रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले नेपाल सरकारले देखेको समृद्दिको सपना साकार पार्ने भए त्यसको दरिलो आधार वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु हुनसक्ने बताउदै ज्ञान,सिप र पुजी भएको यो जनशक्तीलाई सरकारले अझै चिन्न नसकेको दुखेसो गरेका थिए ।
कार्यक्रममा अन्य वक्ताहरुले समेत चिस्यान केन्द्रका विविध पक्षबारे धारणा राख्दै यसलाई नमुनाका रुपमा विकास गर्न सुझाएका थिए । कार्यक्रम नेत्र थनेतको सभापतित्वमा र लक्ष्मी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।































