हात्तीको उपद्रोका कारण गाउँले रातभर जाग्राम

0
725

लक्ष्मी उप्रेती / मेचीनगर,

रातैपिच्छे गाउँ प्रवेश गरेर हात्तीले उपद्रो मच्चाउन थालेपछि झापा मेचीनगर— १३ तथा १४ नम्बर वडाका बासिन्दा त्रसित बनेका छन् । शनिबार रातिमात्र १४ नम्बर वडाका डुमरसिहं राजवंशीको घर भत्काउनुका साथै भण्डारण गरी राखेको अन्नपात खाएर घुम्ती पल्टाएर क्षति पुर्याएको थियो । राजवंशीसहित अन्य चारजनाको घर हात्तीले पूर्ण तथा आंशिकरुपमा क्षति पुर्याएको स्थानीय कपिल चौधरीले बताए ।

केहीदिनयतादेखि मेचीनगरमा जंगली हात्तीको आतंक निक्कै बढेको मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलको भनाई छ । अहिले दैनिकजसो वडा कार्यालयमा आधा दर्जनबढि हात्ती पीडित राहतको लागि सिफारीस लिन आउने गरेको उनले बताए । अहिले वडा कार्यालयले हात्ती खेदाउन टर्चलाईट वितरण गरेको छ ।

हात्तीले स्थानीयको घर भत्काएर र भण्डारण गरेको अन्नपात खाएर क्षति पुर्याएको पीडितको भनाई छ । रातैपिच्छे हात्ती गाउँ पसेर दुःख दिन थालेपछि विशेषगरि बृद्घ बृद्घा र स—साना केटाकेटीहरु भएका घरमा भने धेरै समस्या पर्ने गरेको पीडितहरुको भनाई छ । कुनै बेला जंगली हात्तीको आतंक र पीडाका बारेमा सुनेका मेचीनगरवासी अहिले सुनेको पीडा आपैm भोग्न थालेको दुखेसो व्यक्त गर्दछन् ।

‘केहिदिनदेखि रातैपिच्छे आउने जंगली हात्तीका कारण मेचीनगरको विभिन्न वडावासी रातभर जाग्राम बस्नु पर्ने अवस्था छ ’कार्कीले भने— ‘कुनै बेला जंगली हात्तीको आतंक र पीडाका बारेमा सुनेका हामी मेचीनगरवासी अहिले सुनेको पीडा आपैm भोग्दैछौ ।’गाउँ प्रवेश गर्ने हात्तीको संख्या थोरै भएपनि क्षति भने ठुलै पुर्याउने उनको भनाई छ ।

जंगलमा आहारा नपाएपछि ती हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेका छन् । हात्तीले किसानका खेतबारीमा लगाएको अन्नबालीमात्र होईन घरमा भण्डारण गरी राखेको अन्नपात समेत खाएर कुल्चिएर क्षति पुर्याउने गरेको स्थानीयको भनाई छ ।

यी दुईवटा वडामात्र होईन नगरको ४, ५ र ६ का बासिन्दा समेत हात्ती आतंकबाट त्रसित छन् । उनीहरु हात्तीको उपद्रो रोक्न र हात्ती खेदाउन रातभर जाग्राम बस्नुपर्ने पीडा सुनाउछन् । हात्ती खेदाउदा खेदाउदैं उज्यालो हुने स्थानीयको भनाई छ ।

जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले—३ दुधेदेखि झापाको मेचीनगर—६ सम्म १८ किलोमिटर दुरीमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नुअघि नेपाल छिरेका ती हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको भनाई छ ।

हात्ती समस्या समाधानका लागि आफुहरु लागि परेको र धेरै प्रयासहरु भईरहेको उनले बताए । नगरका विभिन्न वडामा स्थानीयको घर हात्तीले पूर्णरुपमा भत्काएर क्षति पुर्याएको प्रदेश सभा सदस्य बुढाथोकीले बताए ।

मेचीनगरका थोप्लेविरान, मागुरमाडी सामुदायिक बन बिट नम्बर १ र २, कालिका , नवज्योति , नमुना, आदर्श सामुदायिक बनमा दिनभरि बस्ने र साँझपर्न थालेपछि आहाराको खोजीमा गाउँ पसेर रातभर आतंक मच्चाउने र स्थानीयलाई दुःख दिने गरेको पीडित गजेन्द्र कार्कीले बताए । सीमाक्षेत्रमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गरे पछि झापाका विभिन्न बनमा रहेका चारवटा हात्ती मध्ये एउटा मरेपनि बाँकी तीनवटा भारततर्फ फकिर्न पाएका छैनन् । तीनै हात्तीले रातैपिच्छे गाउँलेलाई आतंकित पार्ने गरेकाछन् ।

‘राम्ररी सुत्न पाईदैन’ कार्कीले भने —‘दिनभरि काम नगरी हुँदैन रातभरि हात्ती खेदाउन कुद्दा कुद्दै थाकेको शरिरलाई आराम गर्न पाईर्दैन् ‘भुसुक्कै निदाईयो भने ज्यान रहदैन ।’ हिजो सम्म त्यहाँका किसानलाई पाकेको बाली घर भित्रियाउँन पाईन्छ कि पाईदैंन भन्ने थियो अहिले घरमा भण्डारण गरी राखेको अन्न हात्तीले सखाप पारिदेला भन्ने चिन्ता छ ।

विश्व बैंकको अन्तर्राष्ट्रिय विकास सहायता कार्यक्रम अन्तर्गत १ करोड ३० लाख रुपैयाँको खर्चमा अत्याधुनिक तारवार निर्माण गरिएको छ । तामिलनाडुको फेन्सगार्ड कम्पनीले ठेक्कामा निर्माण गरेको तारवार इलामको जिर्मले—३ दुधेदेखि झापाको मेचीनगर—६सम्मको १८ किलोमिटर दुरीमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गरिएको छ ।

समुदायमा आधारित मानव द्वन्द व्यवस्थापन परियोजना अन्तर्गत तारबार निर्माण गरिएको हो । तर, पनि दशकअघिदेखिको जंगली हात्तीको पाीडा ज्यूँ का त्यूँ छ । यसको दिर्घकालिन समाधान नखोज्ने हो भने धनजनको क्षति अझ बढेर जान्छ । यसका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here