मुक्तहलियाका घर निर्माण अलपत्र

0
365

भीमदत्तनगर, 

घर निर्माणका लागि सरकारबाट पाउनुपर्ने दोस्रो किस्ता रकम नपाउँदा कञ्चनपुरमा मुक्त हलियाका घर निर्माण काम अलपत्र परेको छ ।

रकम नपाउँदा कञ्चनपुरका ४५४ मुक्तहलियाको घर निर्माण कार्य ठप्प भएको राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष सिपी लोहारले बताउनुभयो । “घर निर्माणका लागि पहिलो चरणमा एक हजार ७८८ ले किस्ता बुझेका थिए”, उहाँले भन्नुभयो, “दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ ।” उहाँले स्थानीय तहमा मुक्तहलियाको बजेट आएपनि खर्च हुन नसकेको बताउनुभयो । “सरकारले गत असार मसान्तमा बजेट निकासा गर्दा तत्काल जग्गा खोज्न समस्या भयो”, लोहारले भन्नुभयो, “अझै रु नौ करोड बजेट आउन बाँकी छ ।”

कञ्चनपुर जिल्लामा एक हजार ९९१ ले मुक्तहलिया परिचयपत्र प्राप्त गरेका थिए । जसमध्ये एक हजार ७५० पुनःस्थापना भइसकेका छन् भने १०६ ले अहिलेसम्म केही नपाएको अध्यक्ष लोहारले बताउनुभयो । मुक्तहलियालाई जिल्लामा भूमि सुधार कार्यालयमार्फत घर बनाउन प्रतिव्यक्ति रु दुई लाख २५ हजार र घर मर्मतका लागि रु एक लाख २५ हजार दिने सरकारले निर्णय गरेको लोहारको भनाइ थियो ।

“यहाँ रकमका लागि जाँदा भूमि सुधार मन्त्रालयबाटै निकासा भएको छैन भनेर फर्काउछन्”, उहाँले भन्नुभयो, “रकम अभावले मुक्तहलिया पीडित बनेका छन् ।” मुक्तहलियाको समयमा पुनःस्थापना हुन नसकेको र स्वरोजगार बनाउने विषयमा पनि ध्यान जानुपर्ने बेला आएको सरोकारवालको भनाइ छ । अर्कातिर आयस्तर कमजोर हुँदा मुक्त हलियाका बालबालिका विद्यालय जानबाट बञ्चित हुनु परेको गुनासो छ ।

भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा मुक्तहलियाका ३५ घर बनेका छन् । स्थानीय विरराम विकले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको बताउनुभयो ।

“छाक टार्नकै लागि फेरि पनि अरुको मजदूरी गर्न पर्ने अवस्था विद्यमान छ”, उहाँले भन्नुभयो, “हामीलाई रोजगारी र सीपमूलक तालीम दिएर आत्मनिर्भर बनाउनुपर्छ ।” यहाँका करिब १२ वटा स्थानमा मुक्तहलिया पुनः स्थापनाअन्तर्गत घर निर्माणकार्य भइरहेको छ । मुक्तहलियालाई चार वर्गमा वर्गीकरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here