झापा।

महिला हिंसा तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला पूर्वमा बलात्कारका घटनामा बृद्धि भएको छ ।
देशभर बलात्कारका घटना बढी रहेका बेला पूर्वको अवस्था पनि कहालिलाग्दो रहेको प्रहरीले जनाएको छ । चालू आर्थिक वर्ष २०७६÷०७७ को चार महिनाको अवधिमा एक सय ५० महिला जवरजस्ती कारणीको शिकार भएका छन् । सोही अवधिमा ७१ जना बालिका तथा महिलामाथि बलात्कारको प्रयास भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीमा पर्ने उजुरीलाई आधार मान्ने हो भने पूर्वमा बलात्कारको ‘ग्राफ’ आकाशिँदो रहेको छ ।
गत आर्थिक वर्ष २०७५÷०७६मा चार सय १४ जना जबरजस्ती बलात्कारको शिकार भएका थिए भने एक सय ७१ बालिका तथा महिलामाथि बलात्कारको प्रयास भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । एक वर्षको अवधिमा ६ वर्षदेखि ४५ वर्षमाथि उमेरका बालिका तथा महिला बलात्कृत भएको प्रदेश १ प्रहरीका प्रवक्ता एसपी शेखर कोइरालाले जानकारी दिए । बलात्कारको अभियोग लागेकाहरू अधिकांश आफन्त तथा परिवार निकटका छन् । आफन्त र चिनजानकै व्यक्तिबाट बढी बलात्कारको शिकारमा परेको अनुसन्धानमा देखिएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए ।
समान्यतया आफन्तबाट हुने बलात्कारका घटना गुपचुप पार्ने र पीडकले उन्मुक्ति पाउने सम्भावना बढी रहने गरेको उनको भनाइ छ ।
आर्थिक वर्ष ०६९÷०७०मा २ सय १७ वटा बलात्कारका घटना भएकामा आ.व. ०७०÷०७१ मा बढेर २ सय ५८ वटा पुग्यो । आ.व. ०७१÷०७२ मा ३ सय २, आ.व. ०७२÷०७३ मा २ सय ९५ वटा घटना भएको देखिन्छ । आ.व. ०७३÷०७४ मा ३ सय बलात्कारका घटना भएका छन् । चालू आर्थिक वर्षको अवस्था हेर्ने हो भने बलात्कारका घटना यो वर्ष पनि बढ्ने देखिएको छ ।
बलात्कृत हुनेमा किशोरीको संख्या उच्च रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, युट्युव लगायतमा यौनजन्य गतिविधिका कारण पनि बलात्कार बढिरहेको प्रहरीको भनाइ छ । पछिल्लो केही समययता सामाजिक सञ्जालको बढ्दो दुरुप्रयोगले पनि बलात्कार बढिरहेको प्रहरीले जनाएको छ । बलात्कार तथा महिला हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहे पनि बलात्कारका घटनामा कमी आउन नसकेको तथ्याङ्कले पुष्टि गरेको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए ।
प्रदेश–१ का १४ वटै जिल्लामा महिला हिंसाबिरुद्धका सचेतनामूलक कार्यक्रमलाई तीब्रता दिएको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा बालिका तथा महिलाहरु हिंसाको शिकार बन्नुपरेको छ । प्रहरीले सचेतनाका कारण पनि पछिल्लो समय महिला हिंसाका घटनाहरु प्रहरीसम्म आइपुग्ने गरेको जनाएको छ ।
यसैबीच सोमबारदेखि महिला तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएसँगै झापासहित देशभरका विभिन्न स्थानमा लैङ्गिक हिंसाविरुद्धका विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाबिरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता प्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।
अध्ययन अनुसार विश्वभर प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवन साथीबाट भोगेका पाइएको छ ।
६२ प्रतिशत महिला घरेलु हिंसामा
गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार तीन सय १९ हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (आठ सय ८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार ११.९८ प्रतिशत (एक सय ५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (एक सय ४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौनहिंसा भएको छ ।
ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संकलित एक हजार तीन सय १९ घटनाको करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसाको तथ्याङ्कले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए । ओरेकका अध्यक्ष ज्योत्स्ना मास्केले तथ्याङ्कको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसंख्यक, अपाङ्गता भएका महिला, महिला स्वास्थ्य लगायत महिला आन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराए । ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ ।































