दमकमा डेंगु र भाइरलको प्रकोप कायमै

0
321

दमक ।

झापाको दमकमा डेंगु र भाइरलको प्रकोप कायमै रहेको पाइएको छ ।

चिसो बढ्दै गएपछि केही कम भए पनि डेंगु रोग नियण्त्रणमा आइ नसकेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो सातामात्र यहाँका अस्पतालहरुको रेकर्ड अनुसार १२ जनामा डेंगु देखिएको छ भने निजी क्लिनिकहरुमा जाँच भएको भए त्यसको तथ्याङ्क नगरपालिकासंग नरहेको बताइएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाका बद्री बरालका अनुसार साउन महिनायता अस्पतालमा आएर डेंगु भएको भनिएका बिरामीको संख्या ३ सय १० नाघेको छ । यो हाम्रो नगरपालिकामा स्वास्थ्य शाखामा आएको आधिकारिक संख्या हो– उनले भने ।

ज्वरो, रुघा लगायतका चिसो शुरु भएपछि लाग्ने सिजनेवल रोगको प्रकोप पनि रहेकाले यसलाई डेंगु हो कि भनेर त्रसित हुने पनि गरेको पाइएकाले भ्रममा नपर्न र नजिकको स्वास्थ्य संस्थामा आएर जाँच गराउन उनले आग्रह गरेका छन् । सरकारी तथा निजी अस्पतालहरुमा जाँच गराएर प्रमाणित भएको अवस्थामा मात्र हामी डेंगु रोग भनेर भन्न सक्छौ– उनले भने ।

यसैबीच इलाका प्रहरी कार्यालय दमकमा प्रहरी नायव उपरीक्षकसहित एकदर्जन भन्दा बढी प्रहरी बिरामी परेका छन् । डेंगु र भाइरलका कारण एकैसाथ धेरै प्रहरी बिरामी परेको आफूहरुलाई पनि सूचना आएको बरालले बताए । सबैलाई डेंगु रोग लागेको भनिए पनि त्यसको आधिकारिक पुष्टि नभएको उनले बताए ।

सरकारी जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालकी अध्यक्ष समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार अस्पतालमा निःशुल्क जाँच, परामर्श र उपचारको ब्यवस्था गरिएको छ ।

डेंगु रोग लागेका विरामीका लागि निःशुल्क उपचारको ब्यवस्था मिलाएका छौं– उनले भनिन् । निजी अस्पतालहरुमा पनि सकेसम्म निःशुल्क र त्यो नभएपनि न्यूनतम् सेवा शुल्क लिन आग्रह गरिएको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here