भद्रपुर।

मुस्लिम समुदायले झापामै पहिलो पटक जश्ने इद मिलादुन्नवी तथा हाजी हज्जिनहरुलाई सम्मान गरेको छ ।
गरीब तथा पिछडिएका मुस्लिम समुदायका लागि गठित नेपाल मुस्लिम फलाह (कल्याण) संघ केन्द्रीय कार्यालय जनकपुरले भद्रपुरका मुस्लिम समुदायको सहकार्यमा झापा जिल्लाभरिका हाजी हज्जिनहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुने हाजी हज्जिनहरुमा भद्रपुरका मोहम्मद समी शेख, भद्रपुरका मोहम्मद अलाउद्दिन, अबहुल गनी, अब्दुल लतिफ, झापा गाउँपालिका अल्फास अन्सारी, अब्दुल मन्नान, कचनकवल गाउँपालिकाका इद्ररिस साहब, सोही गाउँपालिकाका इस्लामुद्दिन, बिर्तामोडका मोहम्मद गुलाम नबि, कमरुजमा अन्सारी र दमकमा मोहम्मद सनाउल्लाह अन्सारी रहेका छन् ।
त्यस्तै सोही अवसरमा मुस्लिम समुदायबाट उच्च शिक्षा हासिल गरी सरकारी सेवामा कार्यरत भद्रपुर नगरपालिकाका इञ्जिनियर आरिफ अलि, इञ्जिनियर इमरान अलि र इञ्जिनियर अरसद अलिलाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा भद्रपुर नगरमा बसोबास गर्दै आइरहेका मुस्लिम समुदायका लागि भद्रपुर नगरपालिकाले सहयोग गरेको भन्दै नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
नेपाल मुस्लिम फलाह (कल्याण) संघका अध्यक्ष मुफ्ती उसुमान बर्कातीको अध्यक्षता तथा नेपाल हज समितिका पूर्व अध्यक्ष तथा मुस्लिम समुदायका नेता मोहम्मद ताज मियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, रौतहटका मौलाना मिर साहब, नुरी मस्जिद बिर्ता बजारका सचिव राजा खान, हाजी शमी अहमद शेख, झापा बजार मस्जिदका मौलाना रासिफ राजा साहब, चकचकी बजार मस्जिदका मौलाना मतिउर रहमान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै झापा बजार मदरसा इस्लामिया नुरीया गरिब नवाजका हाफिजकारी मोहम्मद इसरा फील, नेकपाका लहानका प्रतिनिधि रिमासत अलि, भद्रपुर जामा मस्जिदका मौलाना बिलाल हुसेन र मौलाना अजिमुद्दीन बर्काती र भद्रपुर एयरपोर्ट नुरी मस्जिदका मौलाना जमसेद आलम लगायतले शुभकामना मन्तव्य राखेका थिए । जाहिर रहमानले स्वागत गरेको कार्यक्रमको सञ्चालन आंशिक अलिले गरेका थिए ।































