लैङ्गिक हिंसा रोक्ने लिखित प्रतिबद्धता

0
637

दमक।

झापाको दमकमा विभिन्न क्षेत्रका महिला अगुवा तथा सरोकारवालाहरुले लैङ्गिक हिंसा रोक्नका लागि आफूहरु सधै तत्पर रहेको लिखित रुपमा नै सार्वजनिक प्रतिबद्धता गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा दमक नगरपालिकाले आयोजना गरेको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले लैङ्गिक हिंसा एउटा जटिल समस्याको रुपमा रहेको बताउँदै अहिले पनि यस बिषयमा महिलाहरुले मुख नखोलेको बताइन् ।

सामाजिक प्रचलन तथा अन्धविश्वासका कारण हिंसा पीडितहरु अहिले पनि दबिएर बस्दै आएको पाइएको उनले बताइन् । हिंसापीडितहरुले कानूनी उपचार पाउन नसकेको अवस्था रहेको र बिभिन्न कारणले न्यायालयको ढोकासम्म नपुगेकाहरुलाई त्यहाँसम्म पुर्याउन कानूनी तथा सबै प्रकारको सहयोग गर्न तत्पर रहेको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले हिंसापीडितहरु खुलेर आउन नसकेको बताए । अहिले पनि मिलाउनुपर्छ भन्नेहरुको नै बलियो उपस्थिति रहेको पाइएको बताउँदै उनले मिलाउनको सट्टा अब दण्डित गर्नेतर्फ लाग्न सामाजिक अगुवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । हिंसापीडितलाई न्याय दिने क्रममा कसैको दवाव आफूहरुले नसहने समेत उनले बताए ।

त्यस्तै दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोराले अपाङ्गता भएकाहरुमा पनि हिंसाको समस्या रहेको बताए । सवारीसाधनमा चढ्दादेखि लिएर सडकमा हिँड्दासम्म पनि निष्फिक्रि पाइने अवस्था नरहेको बताउँदै उनले हिंसामुक्त समाज निर्माणमा आफूहरुको तर्फबाट पनि सधँै सहयोग र साथ रहने बताए ।

त्यस्तै सहकारीकर्मी अगुवा चन्द्रा खड्काले सहकारीको माध्यमबाट पनि हिंसामुक्त समाज निर्माणमा सहयोग हुन सक्ने बताइन् । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै लैजाने र आर्थिक रुपमा सम्पन्न बनाउँदै लैजाँदा हिंसा न्यूनीकरण हुँदै जाने पनि उनको भनाइ छ । हिंसामुक्त समाज निर्माणमा सहकारीले खेल्नुपर्ने भूमिका र गर्नु पर्ने सहयोग गर्न आफूहरु सधै प्रतिबद्ध रहेको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here