गौरीगञ्ज।

भारतीय सीमासँग जोडिएको झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ कोरोबारी पिन्डालघुट्टुमा नेपालका लागि नेपाली अभियानका युवाले भारतले गरेको भूमि अतिक्रमणको विरोधमा प्रदर्शन गर्नुका साथै सीमा स्तम्भ (जंगे पिल्लर)मा नेपालको झण्डा फहराएका छन् ।
सञ्चारकर्मीहरु खगेन्द्र घिमिरे, विजय बराल, आयुष निरौला, देवेन्द्र प्रसाई, दमक, बिर्तामोड लगायतका ठाउँहरुबाट अभियानका अगुवाईकर्ताहरु महेन्द्र प्रसाई, योगेन्द्र खनाल, छवि बाँस्कोटा, मेघनाथ फुयाँल लगायत ५० जनाको टोलीले त्यहाँ पुगेर नेपालको झण्डा पिलर नं. १४२ मा गाडेका हुन् ।
अभियानमा सक्रिय फुयाँलले पश्चिम नेपालका कालापानी, लिपुलेक लगायत देशका पूर्वी भागहरुमा समेत भारतीय पक्षले गरेको अतिक्रमण र सरकारको अकर्मण्यताको विरोधमा नाराबाजी गर्दै सो समूहले सीमा स्तम्भमा नेपालको झण्डा गाडेकोे बताए ।
अभियानको टोली बस चढेर त्यसतर्फ गए पनि सीमामा पुग्न नसक्ने भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा त्यहाँ पुगेको फुयाँलले जानकारी दिए ।
नेपालका लागि नेपाली अभियानका अभियन्ता महेन्द्र प्रसाइले झापाको विभिन्न ठाउँमा भारतीय पक्षले अतिक्रमण गरेको थाह पाएपछि सीमानाकामा गएर त्यसको प्रतिकार गरेको बताए । उनका अनुसार भद्रपुर, राजगढ, झापा, गौरीगञ्ज लगायतका विभिन्न स्थानमा विरोध स्वरूप अभियानकर्ताहरूले सीमानामा गएर नेपालको झण्डा गाडेर विरोध जनाएको बताए ।
अभियानका झापा संयोजक योगेन्द्र खनालले नेपालको एक टुक्रा जमिन पनि भारतलाई अतिक्रमण हुन नदिने र अतिक्रमण गरे त्यसको प्रतिकार गर्ने बताए । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत विभिन्न स्थानहरू समेटको भन्दै संयोजक खनालले आपत्ति जनाउँदै त्यसको विरोधमा उत्रिएको बताए ।































