झापा जिल्लाको पश्चिम दक्षिणमा अवस्थित गौरादह नगरपालिकाको वक्षस्थलमा रहेको सुन्दर गौरादह पोखरी प्राकृतिक पहिचानको रुपमा रहेको छ ।

१२ विगाह दुई कठ्ठा पाँच धुरमा फैलिएको यस पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन, उद्योग वन तथा वातावरण मन्त्रालयले एक करोड ५० लाख छुट्याएको हो ।
यसको विस्तृत योजना तर्जुमा गरी बालउद्यानसहितको पार्क, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्र, परम्परागत वस्तुहरुको प्रदर्शनी स्थल, पोखरीलाई सफा, सुन्दर, हरियाली एवम् रमणीय क्षेत्र बनाउन गौरादह नगरपालिका जुटेको छ ।
ऐतिहासिक पहिचान वोकेको यस पोखरीलाई पर्यटकीय आगमन स्थल बनाउन जलाधार सिमसार क्षेत्रको संरक्षण गरी आधुनिक पार्क निर्माण गरी बाल उद्यानका साथै पोखरीको मध्य भागमा एक शिव मन्दिर र मन्दिरसम्म जाने पुलको निर्माणका साथै गौरादह बजारको दृष्य अवलोकन गर्नका लागि भ्यू–टावर निर्माणले वाह्य तथा आन्तरिक पर्यटकको लागि मुख्य आकर्षक गन्तब्यको रुपमा विकसित भई भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।
प्रस्तुति : आत्मराम राजवंशी































