हिंसा सहेर नबसौं

0
1256

सुनिरा मैनाली,

निर्मला पन्त जस्ता धेरै छोरीहरु सामुहिक बलात्कारका शिकार भए, मुस्कान खातुन जो एसिड आक्रमणमा परिन् । भोजपुरमा एक महिलाको दुबै स्तन काटिए । कहिले फलाना ठाउँमा दाइजो नल्याएको झोंकमा कुटपिट हुन्छ त कहिले बोक्सीको आरोपमा मलमुत्र समेत खुवाइन्छ । अनि बालिका माथि जबरजस्ती गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपाल मात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।

अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचार बुलेटिनहरुमा महिलामाथिको हिंसाका खबरहरु तारन्तार आउने गर्दछन् । यसले महिला हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि गरिरहेको छ । महिला भएकै कारणले कति बेला कहाँ कुन हिंसाको कालो कोठरीमा पुग्छु भन्ने कुराको त्रासमा बाँचिरहेका छन् महिलाहरू ।

महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवम् परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने लगायतका घटनाहरु महिलाले भोग्दै आइरहेका छन् ।
यस्ता घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना हाम्रो समाजमा हजारौं भइरहेका छन् । जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन् । बाँकी ९० प्रतिशत घटना सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैनन् । तर, पनि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ ।

नेपालमा धेरै परिवर्तन भए । आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को मारिसकेको छ । वास्तवमा परिवर्तन यति बेलामात्र भएको हुन्छ जति बेला प्रत्यक्ष व्यवहारमा परिवर्तनको महशुस हुन्छ । कतिपय कुरामा परिवर्तनको महशुस गरिए होला तर, कतिपय कुरामा त्यो परिवर्तनको महशुस विल्कुलै गर्न सकिएको छैन । हाम्रा समाजका परम्परागत सोचलाई त्यस्ता परिवर्तनले कुनै लछारपाटो लाउन सकेनन् भन्ने आभास भएको छ । तर, पनि तिनै परम्परागत सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन् । त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा ।

महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ । आज हाम्रो समाजले चरम महिला हिंसाको नियति भोगिरहेको छ । यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय महिला हिंसाकै विरुद्धमा सडकमा छन् । महिला हिंसा एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्नखालका हिंसाको शिकार भइरहेका छन् ।

संसारभरिका जो कोही महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् । अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु पनि भइरहेको हुन्छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ ।

महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारवाहीको कारण महिला हिंसाले श्रेय पाइरहेको छ । त्यसैले महिला हिंसा गर्ने जो कोहीलाई पनि यस्तो कारबाही हुनुपर्छ जुन कारबाहीको कारण अरु कसैले हिंसा गर्ने कुरा सोच्न पनि नसकोस् ।
छोरी मान्छेले नेतृत्व गरेका धेरै कुरा सफल भएका उदाहरण हामी सामु छन् । अस्पताल, प्रशासन, राजनीति, व्यवसाय आदि हरेक क्षेत्रमा महिलाको नेतृत्व सफल हुँदै गएका छन् । तर, समाजमा अझै केही कुरीति छन्, जसले महिलालाई अघि बढ्न रोकिरहेको छ ।

दाइजो प्रथा, छाउपडी, उच्च शिक्षामा बाधा, अर्काको घर जाने जात भनी गरिने हेला आदि नारी विरोधी परिपाटी र सोचलाई धक्का दिँदै आफू सशक्त हुनु जरुरी छ । भनिन्छ, एउटा बाबु शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ । नारीको महत्व बुझाउने यो भन्दा अर्को भनाइ खोजिरहनै पर्दैन । यो घर, परिवारको कुरा मात्र होइन । यो त विम्व हो, नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको ।

विपरीत लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर, आकर्षणको अर्थ हिंसा होइन । मायामा कर, बल, तर्क अनि शरीर होइन मन जित्न सक्ने पुस्ताको खाँचो छ । नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको बिजारोपण गर्न आवश्यक छ । शरीर होइन मन जित्ने कला सिकाउन जरुरी छ । अनि यो सिक्न जरुरी छ कि, नारी पुरुषसँगै हिँड्ने समान समाज आजको आवश्यकता हो । जसरी पार्वती बिनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी बिनाका विष्णु आधी छन्, राधा बिनाका कृष्णको कथा रोमाञ्चक हुन्न, त्यसैगरी नारीको प्रेम र आत्मियता बिना पुरुष र पुरुषको साथ र सम्मान बिना महिला पूर्ण हँुदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here