अमित खम्बू / अर्जुनधारा।

पूर्वको पशुपतिनाथले विभूषित झापाको अर्जुनधारा–७मा रहेको अर्जुनधारा जलेश्वर धाम परिसरमा शनिबार भेट्टीएका पाँचथर याङवारक गाँउपालिका–४ निवासी विष्णुलाल पौड्याल(५४) हर्षित मुद्रामा थिए ।
धामको आयोजना र महावीर सेवा सदन कलकत्ताको प्राविद्यिक सहयोगमा निःशुल्क कृत्रिम खुट्टा पाएपछी उनी हर्षित भएका हुन् । २२ वर्षअघि घाउको इन्फेक्सनका कारण उनले दाँया खुट्टा गुमाएका थिए ।
उनले कृत्रिम खुट्टा लगाउन पटक–पटक गरि हालसम्म ६० हजार रुपैयाँ खर्च भएको बताए । आपङ्गता भएकाहरुलाई प्रत्यक्षरुपमा राहत पुग्ने यस किसिमको कार्यक्रम सम्बन्धित निकायले समय–समयमा आयोजना गर्नुपर्ने उनको जोड रहेको छ ।
त्यसैगरी पौड्याल जस्तै इलाम चुलाचुली–५का ४४ वर्षीय अमृतकुमार राईलाई पनि सो कार्यक्रम वरदान सावित भएको उनले पूर्वाञ्चलकर्मीसँग प्रतिक्रिया दिए । २०६६ सालमा भएको ट्रयाक्टर दुर्घटनामा बाँया खुट्टा गुमाएको उनले आर्थिक अभावका कारण कृत्रिम खुट्टा लगाउन नसकेको बताए ।
खुट्टा गुमाएको १० वर्षपछी कृत्रिम खुट्टा लगाउन पाएका उनलाई पहिले जसरी हिँडडुल गर्ने, काम गर्ने इच्छा सो कार्यक्रमबाट पूरा भएकोमा आयोजक परिवारलाई उनले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै जन्मदै एउटा हात नभएकी ताप्लेजुङकी १५ वर्षीया निलम पौड्याल पनि कृत्रिम हात लगाउन पाएपछी आफूलाई सहज हुने विश्वास व्यक्त गरेकी थिइन् ।

महावीर सेवा सदनका प्राविद्यिक मुकेशकुमार पाण्डेका अनुसार वितरण गरिएको उक्त कृत्रिम हातखुट्टा लगाएपछी सम्पूर्ण कार्यहरु गर्न सहज हुने बताउँछन् । उनी भन्छन्–“शुरुको एक महिना फिट नहुन्जेल केही असहज भए पनि पछी सहज हुन्छ।”
उनको अनुसार हातखुट्टा नहुँदा अन्धकार जस्तो लाग्ने उनीहरुको जीवनमा कृत्रिम हातखुट्टा लगाएपछी नयाँ जीवनको शुरुवात हुने बताउँछन् । एचडीयु पाइपबाट निर्माण गरिने उक्त कृत्रीम हातखुट्टाको आयु तीन वर्षसम्म हुने र मूल्य भारु एक लाख रुपैयाँ सम्म लाग्ने उनले बताए ।
धामको ३७औं वार्षिक अनुष्ठानको अवसरमा सञ्चालन गरिएको उक्त कार्यक्रम प्रथम महिला जगत्गुरु शंकराचार्य हेमानन्द गिरीजी महाराजको पहलमा आयोजना गरिएको हो । नेपालमा १० हजार जनालाई कृत्रिम हातखुट्टा लगाउने संकल्प महावीर सेवा सदनले लिएको शंकराचार्य गिरीले जानकारी दिइन् ।
यही मंसिर २० गते सम्म सञ्चालन हुने कार्यक्रममा तीन सय ५० जनालाई खुट्टा र २० जनालाई हात लगाई दिने बताइएको छ । धाम समितिका कार्यवाहक अध्यक्ष अम्बिकाप्रसाद खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
मूल अर्चक अग्निप्रसाद सिग्देलले स्वस्ति वाचन र समितिकी उपाध्यक्ष चन्द्रकला भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए । त्यस्तै सोही अनुष्ठान अन्र्तगत महावीर सेवा सदनको प्राविद्यिक सहयोगमा सम्पन्न भएको तीन दिवसीय नेत्र शिविरमा ३७ सय जनाको निःशुल्क आँखा परीक्षण गरि चस्मा वितरण गरिएको बताइएको छ ।





























