झिलझिले।
यो वर्ष झापाका धान उत्पादन घटेको छ । समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा धान उत्पादन घटेको हो ।
तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषि ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत निलकमल सिंहले जानकारी दिए । यो वर्ष साउनको दोश्रो सातादेखि मात्र खेती गर्न योग्य वर्षा भएको थियो । अघिल्ला वर्षमा असार १५ देखि नै धान रोपाई हुने गरेको थियो । ढिलो तर पर्याप्त पानी परेकाले खेतीयोग्य जमिन बाँझो नरहे पनि धान उत्पादन भने केही घटेको उनले जानकारी दिए ।
मनसुन लगायत धानलाई आवश्यक मलखादको अभाव हुँदा पनि जिल्लामा धानको उत्पादन केही घटेको हो । यो वर्ष जिल्लामा ८४ हजार आठ सय ७५ हेक्टर क्षेत्रमा विभिन्न जातका धानको खेती भएको थियो । केन्द्रका प्रमुख सिंहका अनुसार जिल्लामा तीन लाख ८१ हजार नौ सय ३७ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । समग्र जिल्लामा प्रतिहेक्टर चार दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।
गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धानखेती भएको थियो । त्यसताका प्रतिहेक्टर चार दशमलव छ मेट्रिक टनका दरले कूल चार लाख दुई हजार पाँच सय मेट्रिक टन धान उत्पादन भएको थियो । उनले भने– ‘यो वर्ष दुई हजार छ सय २५ हेक्टरमा धान खेती भएन । समयमा वर्षा नहुँदा कम्तिमा पाँच सय हेक्टर धानखेती निजी वनमा परिणत भए ।
त्यस्तै त्यति नै क्षेत्रमा बाटो र स्थायी प्रकृतिका संरचना निर्माण भए । बाँकी रहेकको जग्गामा किसानले मत्स्यपालन, उखुखेती, केराखेती लगायत बेमौसमी तरकारी बाली लगाएकाले धानको उत्पादन अघिल्ला वर्षको तुलनामा घटेको हो ।
गत वर्षको तुलनामा यो वर्ष प्रतिहेक्टर शून्य दशमवल एक मेट्रिक टनका दरले धान उत्पादन घटेको छ । सबैभन्दा धेरै रञ्जित धानको खेती हुने गरेको झापामा बास्मती, सावा मन्सुली, स्वर्णसव वान, सुख्खा ३, राम धान लगायतका जातको रोपाई हुने गरेको छ । यद्यपि, रञ्जित धान नेपालमा सिफारिस भएको छैन । भारतीय यो धान उसकै मुलुकमा समेत प्रतिवन्धित रहेको कृषि विज्ञले बताएका छन् ।
जिल्लामा धान उत्पादन घटे पनि शिवसताक्षी नगरमा भने गत वर्षको तुलनामा वृद्धी भएको छ । नगरको पाँच हजार छ सय ५६ दशमलव ३३ हेक्टर खेतीमा धान रोपाई हुने गरेको छ । नगरकी कृषि विकास शाखाकी प्रमुख जानुका श्रेष्ठका अनुसार २७ हजार छ सय १२ दशमलव ६५ मेट्रिक टन धान शिवसताक्षी नगरमा उत्पादन भयो । उनले भनिन्– ‘प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान शिवसताक्षी नगरमा उत्पादन भएको छ । गत वर्ष प्रतिहेक्टर चार दशमलव ७८ मेट्रिकटन धान उत्पादन भएको थियो ।’
नगरको वडा नम्बर ३,४, ५, ६ र ७ नम्बर वडामा कनकाई सिँचाई प्रणालीको नहरबाट पानी पूर्ण सिँञ्चित हुने गरेको छ । त्यस्तै वडा नम्बर २, ९ र १० मा आंसिक सिँचाई हुने गरेको छ भने बाँकी ११, ८ र १ आकाशे पानीको भरमा खेती हुने वडा हुन् । समयमा पानी र मलखाद अनि धानका बोटमा कुनै रोग वा किराले आक्रमण नगर्दा उत्पादन बढ्ने उनले बताइन् । शिवसताक्षी नगरमा पनि रञ्जित धानको सर्वाधिक रोपाई हुने गरेको छ ।






























