तीर्थराज खरेल,
सन्दर्भ :अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस
आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्वर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि मनाउने चलन छ । सन् १९४९ देखि यस दिवस मनाइने गरेको छ । सन् १७७९ वाट फ्रान्सबाट शुरु भएको प्रजातन्त्र, समानता र भातृत्वको मूल नारालाई आत्मसात गर्दै शुरु भएको फ्रान्सेली क्रान्तिको बिगुलले संसारलाई झक्झक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको विश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो ।
भारतमा इष्ट इण्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भू–भागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न ऐतिहासिक दस्तावेजहरुको अध्ययनले बताउँदछ । आदिकालदेखि अहिलेसम्म पनि उत्पीडन र दासताको कुनै न कुनै रुपमा पुनरावृत्ति हुँदै आएको छ । मानव सभ्यताको शुरुवातदेखि नै दासदासी राख्ने चलन शुरु भएको हो । हुन त संयुक्त राज्य अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिङ्कनले दासत्वमोचनको घोषणापत्रमा हस्ताक्षर गरे सन् १८६३ मा । नेपालमा भने श्री ३ चन्द्र शम्सेर जंगबहादुर राणाले दासप्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ संसार नेपालमा अझै पनि आलै छन् ।
वास्तवमा यही उत्पीडनको जगभित्र समानता र स्वतन्त्रताको बीजारोपण भएको हो । दासहरुले कुनै न कुनै रुपमा न्याय र समानताका लागि आवाज बुलन्द पार्न थाले । दासहरुभित्रकै सचेत, जागरुक तप्काले न्याय र स्वतन्त्रताको आदिकालदेखिको लडाइँलाई साथ दिँदै आएको छ । यद्यपि समाजमा अधिकार प्राप्त गर्ने अभियान धेरै उतारचढाउका बाबजुद पनि जारी रह्यो । समाजिक, राजनीतिक, आर्थिक, वैज्ञानिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा दासहरु आउन सजिलो थिएन र छैन आज पनि । इतिहासको अध्ययन गर्दै निर्मम निष्कर्षसहित कार्ल माक्र्स भन्छन्– संसारको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो । अफ्रिकी भू–भागहरुबाट दास बनाएर जनावर सरी सिक्रीले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै बिकसित देशहरुमा लगेर अमानवीय ढंगले काममा लगाई विशाल शहरहरुको विकास अनि निर्माण गरिएका इतिहास छन् ।
दास अर्थात् कहीँ कसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशु जस्तो नोकर रहने चलन हो । पशुवत व्यवहार अनि बलजफ्ति कुनै पनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको युद्धमैदान अर्थात् रणभूमिमा कुस्ती लडाएर मृत्युवरण नहुञ्जेलसम्म खेलाइने हृदयविदारक लडाइँका क्रमदेखि नै पाइन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरीब र निरीह मानवहरु माथि गर्ने यो पशुवत चलन अमानवीय थियो । ग्रिक एरिनामा नमरुञ्जेलसम्म खेलाइने कुस्तीमा ग्लाडिएटरहरुको प्रयोग गरिन्थ्यो, बजारमा बाँधेर विक्री गरिने अनि दासका रुपमा राखिने यी बलिया ग्लाडिएटरको कुस्ती, दुःखदायी जीवन अनि उनरूका प्रेम कथाहरु अझै पनि धेरै पुस्तक अनि चलचित्रमा देख्न पाइन्छ । अझ परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो । अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अङ्ग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झझल्को दिन्छ ।
कमैयाप्रथा, बाँधा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा अझै पनि कायम नै छ । शुरुवात अनि चलन जे–जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य र दण्डनीय छ । पक्कै पनि समाज र संसारमा शताब्दी पुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् । तर, दासताको परिवर्तित स्वरुपहरु मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने तौरतरिकाहरुमा जीवन्त छन् । अझै पनि बालबालिकालाई विभिन्न नाम अनि ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनी कार्यमा लगाइन्छ । दासता खुला सीमानाबाट गैरकानुनी तस्करीको रुपमा अद्यापि पनि छ । आधुनिक दासताका घटनाहरु बग्रेल्ती सुन्न र पढ्न पाइन्छ नेपालमा । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र द्वन्द्वपछि नेपालमा बढ्दै गएको दण्डहीनताले धेरै हदसम्म आपराधिक तथा अमानवीय दासताउन्मुख व्यवसाय अनि क्रियाकलापलाई प्रश्रय दिएको हो ।
अर्कातर्फ, हरेक दिन १५ सय बढी युवाहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारका लागि बाहिरिन्छन् भने हरेक दिन नेपालीका दर्जनौँ काठका वाकसमा फिर्ता आएका नागरिकहरुको शवलाई भिजेका परेलीले स्वागत गर्नुपर्ने कहालीलाग्दो अवस्था छ नेपालमा । बाल श्रमिकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्य गर्न बिना कुनै परिश्रममा लगाइने महाअपराध हो । कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या इँट्टाभट्टा, माइक्रोबस अथवा अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिने बालबालिकाहरु हुन्, उनीहरुको पीडा कसले बुझ्ने ? मुक्त मानिएका तर, व्यवहारमा मुक्त नभएका कमैयाहरुको पीडा कसले बुझ्ने ? अहिले पनि दृश्य मात्र होइन, अदृश्य मानव बेचविखनका अनेक प्रयोग भइरहेछन् हाम्रो समाजमा र संसारैभरि । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा दासताविरुद्ध दिवस मनाउने गरिन्छ ।
नेपाल र विश्वमै दासताको परिवर्तित स्वरुपले चुनौतिपूर्ण बनिरहेको छ । नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यथार्थलाई स्वीकार गर्दै नेपाल सरकार र यस क्षेत्रमा काम गर्ने गैरसरकारी संघ–संस्थाहरु अझ बढी सक्रिय हुन जरुरी छ । पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने दासप्रथाका अन्य रुपहरुबारे सजग र सतर्क हुन जरुरी छ । अझ सशक्त रुपमा दासताविरोधी अभिायनलाई अघि बढाउन सबै पक्ष जिम्मेवारीका साथ लाग्न आवश्यक छ ।


























