पर्यटनः सम्भावना छ, प्रचार छैन

0
716

झापा ।

महाभारतकालीन इतिहास बोकेका झापामा दर्जनभन्दा बढी पर्यटकीय स्थलहरु रहेका छन् । तर, यतिका धेरै पर्यटकीय स्थलहरु भएपनि स्थानीय सरकार बेखवर छ ।

सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएपनि अहिलेसम्म प्रदेश १ मा पर्यटन सम्वन्धी कार्यक्रमले प्राथमिकता पाएको छैन । संघीय सरकार र प्रादेशिक सरकारले पर्यटन सम्वन्धी ठोस् रुपमा कार्यक्रम बनाउन नसकेका कराण आफूहरु अन्यौलमा परेको झापाका सरकारी तथा गैर सरकारी संघसंस्थाका सरोकारवालाले बताउँदै आएका छन् ।

झापामा माहाभारतकालीन इतिहास जोडिएका पर्यटकीय स्थल प्रशस्त भएपनि यसको प्रचारप्रसार तथा विकास गर्न नसकेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए । उनले भने – ‘महाभारतकालीन इतिहासका प्रशस्त ठाउँहरु झापामा रहेका छन्, यसको माध्यमबाट धार्मिक पर्यटकहरु झापामा थुप्रै भित्र्याउन सकिन्छ तर, हामी झापालीले माल पाएर चाल पाएनौं ।’

संघीय सरकारले नीति तथा कार्यक्रम नबनाएका कारण जिल्लामा समेत पर्यटन प्रर्वद्धनका लागि हालसम्म समिति गठन गर्न नसकिएको भन्दै स्थानीयसँंगको समन्वयमा केही दिनभित्रै समिति गठन गर्दै प्रर्यटन प्रर्वद्धनका लागि पहल थाल्ने उनको भनाइ छ ।

झापामा वार्षिक रुपमा कति पर्यटक आउँछन् र कति पर्यटकीय गन्तव्य छन् त्यसको समेत लेखाजोखा नरहेको भन्दै उनले भने –‘झापामा भएका पर्यटकीय क्षेत्रको पहिचानका लागि स्थानीयतहसँंग समन्वय गर्दै झापाका पर्यटकीय क्षेत्रको पहिचान झल्कने पुस्तिका प्रकाशन गर्छाैं ।’

कुन स्थानीय तहमा कति पर्यटकीय स्थल छन् र ति पर्यटकीय स्थलमा कति पर्यटक आउँछन् र पर्यटकबाट कति आम्दानी हुन्छ भन्ने यकिन तथ्याङ्क नहुँदा समग्र झापामा पर्यटन क्षेत्रको विकासमा के हुँदैछ भन्न सक्ने अवस्था नरहेको पोर्तेलको भनाइ छ ।

प्रदेश सरकारले पर्यटन क्षेत्रमासमेत कर लगाएका कारण आगामी वर्षबाट भने कति पर्यटक भित्रिए र कुन क्षेत्रमा कति आम्दानी भयो भन्ने विषयको यकिन तथ्याङ्क आउने पोर्तेल बताउँछन् ।

पर्यटन प्रर्वद्धनका लागि एक साताभित्रमा जिल्ला समन्वय समिति अन्तरगत समिति निर्माण गरेर प्रचार–प्रसार तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका क्षेत्रका कामलाई तीव्रता दिने प्रमुख पोर्तेलले बताए । उनले भने –‘ वाणिज्य संघ, होटल व्यवसायी, ट्राभल एजेन्सी, स्थानीय निकाय लगायत विभिन्न संघ संस्थासँंग हातेमालो गर्दै पर्यटन प्रर्वद्धनका कार्यक्रम अगाडि बढाउँछौं ।’

पर्यटनमा प्रशस्त सम्भावना भएपनि प्रचारप्रसारमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले ध्यान नदिएको ग्रामीण पर्यटनका क्षेत्रमा काम गर्दै आएका अभियन्ता अर्जुन कार्कीले बताए । उनले पूर्वी नाकाबाट भारतीय पर्यटक प्रशस्त नेपाल भित्र्याउन सकिने भएपनि यस क्षेत्रको प्रचार प्रसार नहुँदा पर्यटकीय स्थलहरु ओझेलमा पर्ने गरेको बताए । उनले पर्यटकले ग्रामीण क्षेत्र तथा होमस्टेहरु मन पराउने भएपनि त्यस क्षेत्रमा समेत विकृत्ति फैलिएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले पर्यटकलाई आर्कषण गर्न व्यवहारमा समेत परिर्वतन ल्याउनु पर्ने धारणा राखे ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन निजी क्षेत्र सदैव तयार रहेपनि हालसम्म संघीय, प्रादेशिक र स्थानीय सरकारले चासो नदेखाएको धारणा राखे । उनले भने – हामी निजी क्षेत्रबाट पर्यटन प्रर्वद्धनका लागि तयार छौं तर सरकारी निकायबाट हामीलाई चासो दिइएको छैन । उनले निजी क्षेत्रको तर्फबाट जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

होटल व्यवसायी संघका अध्यक्ष भोला उप्रेतीले पर्यटन वर्ष सफल बनाउन होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिने बताएका छन् । उनले आन्तरिक तथा वाह्रय पर्यटकलाई पर्यटन वर्षभरि छुट गर्नुका साथै एक स्थानबाट अर्काे स्थानका पर्यटकीय क्षेत्रको जानकारी गराउन होटल व्यवसायी तयार रहेको बताए ।

निजी क्षेत्रका सरोकारवालाले पर्यटन वर्षलाई सफल पार्न तयार रहेको बताए पनि सरकारी निकायका पदाधिकारीहरु भने पर्यटन प्रर्वद्धनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा अलमलमा देखिएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख कृष्ण सिग्देलले प्रदेश सरकारले पर्यटन सम्वन्धी ऐन नवनाएका कारण कसरी पर्यटकीय गतिविधि अगाडि बढाउने भन्नेमा आफूहरु अन्यौलमा रहेको विचार व्यक्त गरे । उनले झापामा पर्यटकीय स्थल तथा होमस्टेको अवस्था कस्तो छ भन्ने विषयमा समेत जानकारी दिन सकेनन् ।

त्यस्तै पर्यटन वोर्ड काँकरभिट्टाकी निमित्त प्रमुख सुस्मिता दाहालले पर्यटन प्रर्वधनमा आफूहरुले कुनै ठोस काम गर्न नसकेको स्वीकार गरेकी छिन् । नेपाल पर्यटन वोर्डको मुख्य काम भनेको नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने हो । तर, पर्यटन वोर्डको कार्यालय काँकरभिट्टाले भने पूर्वी प्रदेशद्वाराबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई जानकारी दिन सकिरहेको छैन ।

अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले पर्यटन प्रर्वद्धनका विषयमा भन्दा पर्यटन कार्यालयले आउने र जाने पर्यटकको विवरण राख्ने र उनीहरुले गल्ती गरे कारवाही गर्ने बताएका छन् । उनले पर्यटन प्रवद्र्धननका विषयमा अध्यागमन कार्यालयले केही गर्न नसक्ने धारणा राखे ।

पर्यटन वर्ष शुरु हुन तीन साता मात्र वाँकी रहँदा समेत झापामा भने पर्यटकीय गतिविधिको चाहल पहल नहुँदा पर्यटन वर्ष ओझेलमा पर्ने चिन्ता वढ्दै गएको छ ।

पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले रिपोर्टस क्लवले आयोजना गरेको साक्षातकार कार्यक्रममा जिल्लाका पर्यटन क्षेत्रमा काम गर्दै आएका निजी तथा सरकारी निकायका प्रतिनिधिसंँग छलफल भएको थियो । कार्यक्रमको सञ्चालन रिपोर्टस क्लवका प्रदेश प्रमुख शेखर सेढाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here