मेचीनगर नगरपालिकाक्षेत्रभित्र खानेपानीका विषयमा छलफल

0
769

काँकरभिट्टा,

मेचीनगर नगरपालिकाक्षेत्रभित्र रहेका खानेपानीहरुको व्यवस्थापन गर्न गठित समितिको क्षेत्र विस्तार तथा खानेपानीको व्यवस्थापन नभएकाक्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने विषयमा मंगलबार सरकारी अधिकारी, प्रदेश सरकार, स्थानीय सरकार तथा खानेपानी संघ संस्थाका प्रमुख प्रतिनिधिबीच छलफल भएको छ ।

मेचीनगर नगरपालिकाको सभाकक्षमा १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको विशेष आतिथ्यता तथा मेचीनगर प्रमुख विमल आचार्यको अध्यक्षतामा सम्पन्न छलफलमा संघीय सरकारको सहआयोजनामा धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले नगरको वडानम्बर ९,१०,११ र १५ टिमाई पश्चिमक्षेत्रमा संघीय सरकारको सहआयोजना तथा निन्दाखोलादेखि पश्चिम टिमाई प्रदेश सरकारको सहआयोजनामा काम अघि बढाउने निर्णय भएको छ । यसैगरी संघीय सरकारको साढे ५ करोड रुपैयाँको सहआयोजनामा काँकरभिट्टाक्षेत्रमा खानेपानी नपुगेका ठाउँमा सर्वे गर्ने छलफलमा निर्णय भएको बताइएको छ ।

चारआलीक्षेत्र चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले काम अघि बढाउने तथा मेचीनगरको १, २, ३ र ४ नम्बर वडामा सिद्घिखोला खानेपानी आयोजना संघीय सरकारको योजनामा परेकाले यसलाई निरन्तरता दिने निर्णय भएको छ । छलफलमा प्रदेश सरकारको छनौटमा परेका योजना संघीय तथा स्थानीय सरकारमा नपर्ने गरी वा कुनै पनि योजना नदोहोरिने गरी काम सञ्चालन गर्र्ने समेत निर्णय भएको छ ।

छलफलमा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, उपप्रमुख मीना पोखरेल उप्रेती, संघीय सरकारको खानेपानी आयोजना प्रमुख चक्रपाणि आचार्य, भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नमबर १ का धर्मेन्द्रकुमार केसरी, अश्ुतोष ठाकुर खानेपानी विभागका सिनियर डिभिजन इञ्चिनियर हिमनाथ लामिछाने, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख कारी महत्तो, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष हर्कबहादुर फियाक, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अजय घिमिरे, चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष लाल थेवे, बाहुनडाँगीलगायत नगरक्षेत्रभित्र रहेका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका प्रमुख पदाधिकारीसहितको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here