विर्तामोड ।

झापाको बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीमा अध्ययनरत् बिद्यार्थीले अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।
विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत् बिद्यार्थीले कनकाई नगरपालिका ४ स्थित पुकार अपाङ्ग असक्त समाजमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको सगरमाथा टिन्सक्लवकी शिक्षक नायक मिनु शर्मा शिवाकोटीले जानकारी दिइन् ।
म अघि बढ्छु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लवमा आबद्ध बिद्यार्थीले आफैं खर्च जुटाएर उक्त सामग्री खरिद गरी अपाङ्गता भएका बालबालिकाहरुलाई वितरण गरेको उनले बताइन् ।
२८ औं विश्व अपाङ्ग दिवसको अवसर पारेर प्रदेश सरकारद्वारा सञ्चालित सगरमाथा टिन्स क्लबमा आबद्ध न्यूटन्स् एकेडेमीका बिद्यार्थीले पुकार अपाङ्ग असक्त समाजमा रहेका अपाङ्गता भएका १४ जना बालबालिकाहरुलाई न्यानो कपडा ट्र्याकसुट र बिस्कुट प्रदान गरेको बिद्यालयकी शिक्षक बबिना भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा पुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझाले न्यूटन्स एजुकेशन एकेडेमीमा अध्ययनरत् बिद्यार्थीले गरेको कार्यको प्रसंसा गरेकी थिइन् । विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध बिद्यार्थीले विगतका वर्षदेखि नै सामाजिक कार्य गरिरहेको विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले जानकारी दिए ।
उनले बिद्यार्थीलाई समाजप्रति बढी जिम्मेवार बनाउने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको उनले बताए ।































