पार्टी परित्याग : अधिकार कि विसंगती

0
1177

विष्णु खरेल,

भर्खरै उपनिर्वाचन सम्पन्न भयो । विगतका निर्वाचनका चरणहरु बिर्सिन थालेका मानिसहरुमा उपनिर्वाचनले पुनर्ताजगी गरायो । निर्वाचनका चरणहरु विभिन्न आयामबाट गुज्रिने गरेको सबैले बुझेकै कुरा हो । निर्वाचनका क्रममा देखिने संगती र विसंगति दुबैको अनुभव आमनागरिकका विचमा कुनै नयाँ आयाम होइन । देखेको र भोगेकै विषयहरु हुन् । निर्वाचनका क्रममा स्वतन्त्र मतदाताहरुले निर्भयताका साथ आफ्नो मतको प्रयोग गर्ने गर्दछन् । तर, दलमा आबद्ध नेता तथा कार्यकर्ताको स्वतन्त्र मतदान गर्ने अधिकारको हरण सम्बन्धित पार्टी वा राजनीतिक दलले गरिरहेको हुन्छ । कुनै पनि दलमा आबद्ध भएपछि त्यो दललाई मतदान गर्नु उक्त पार्टीका कार्यकर्ताहरुको कर्तब्य हो भनेर भन्ने गरिन्छ ।

हरेक नागरिकलाई स्वतन्त्रतापूर्वक दल खोल्न पाउने अधिकार, दलमा आबद्ध हुन पाउने अधिकार, स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकार र निर्वाचनका क्रममा उम्मेद्वार हुन पाउने अधिकारलाई मानव अधिकारको अन्तर्राष्ट्रिय घोषणा पत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र नेपालको संविधानले संरक्षित गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरुले दिएको नागरिकको राजनीतिक अधिकारलाई दलीय कर्तब्यका नाममा बन्देज लगाउने, दलीय अनुशासनको कारवाहीमा राख्ने र ब्यक्तिको स्वतन्त्रता र मर्यादामा आँच पु¥याउने दलीय अभ्यास आफैमा कति जायज र विरोधाभाष हुन सक्छ त्यतापट्टिको बहस यो आलेखमा उठान गर्ने प्रयास गरिएको मात्र हो ।

निर्वाचनका क्रममा धेरै मानिसहरु आफूसम्बद्ध दलका पत्यिाग गर्दै अर्को दलमा प्रवेश गर्ने क्रमहरु देखिन्छन् । के यो गैरकानूनी हो ? के यो विसंगति हो ? के यो दलको आन्तरिक सुधारको संकेत होइन ? दल परिवर्तनका अभ्यासले दलभित्रको सुधारलाई बल पु¥याउन सक्दैन ? मैले यिनै बहसमा यो आलेख केन्द्रित गरेको छु । पहिलो कुरा त, दल परिवर्तन आफैमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनले दिएको अधिकार हो । हरेक मानिसलाई स्वतन्त्रतापूर्वक दल रोज्ने र आबद्ध हुने अधिकार ती कानूनहरुले दिएका छन् । त्यसैले दल परिवर्तन आफैमा ब्यक्तिको स्वतन्त्रताको अधिकारभित्र पर्दछ । यो कुनै गैरकानूनी हर्कत होइन ।

दोश्रो कुरा, दल परिवर्तनका अभ्यासहरु विसंगति हुन ? त्यसो पनि भन्न सकिन्न । हामो समाज बडो अचम्मको छ । वैवाहिक बन्धनमा बाँधिएपछि पति र पत्नी जसरी पनि एकै भएर बाँच्नु पर्दछ भन्ने पुरातन मानसिकताबाट ग्रस्त छ, नेपाली समाज । मैले धेरै यस्ता सम्बन्धहरु देखेको छु । विवाह गरेपछि कर्म र भाग्यले ठगेको भन्दै जबरजस्ती सम्बन्ध राखेर बसेका पति र पत्निहरु देखेको छु । त्यति मात्र होइन, तेरो कर्म र भाग्य नै यस्तै रहेछ भनेर सम्झाउने परिवारजन, आफन्त र छिमेकीहरु देखेको छु ।

परिवार, आफन्त र छिमेकीको दबाव र त्रासले जीवनभर अनमेल सम्बन्धमा बसेर आँशु चुहाएका पति र पत्नीको सम्बन्धमा रहेकाहरु पनि देखेको छु । यस्ता सामाजिक सोचहरुको प्रभाव राजनीतिमा पनि परेको देखिन्छ । त्यसैले एकपटक एउटा राजनीतिक दलसँगको आबद्धता वा संलग्नता अकाट्य र मृत्युपर्यन्तको सम्बन्ध हुनुपर्छ भन्नेहरु प्रशस्त भेटिन्छन् । उनीहरु राजनीतिक दल परित्याग र नयाँ राजनीतिक दलहरुसँगको सम्बन्धतालाई विसंगतिका रुपमा र कुकर्मका रुपमा ब्याख्या गर्ने परम्परावादी रुग्ण सोचबाट ग्रसित देखिन्छन् । राजनीतिक दल परित्याग र नयाँ दलमा प्रवेश आफैमा ब्यक्तिको अधिकार हो यो कुनै विसंगति होइन ।

नेता, कार्यकर्ता र दलसँग जोडिएका मतदाताहरुको पार्टी परित्याग दलको आन्तरिक सुधारको दवाबको संकेत हो कि होइन भन्ने बहस अहिले चलेकै छैन । पार्टीका आन्तरिक जीवनमा यस्ता बहसले झिनो स्थान पाएका होलान् । तर, आम नागरिकहरुका बीचमा यस्ता बहस गहन हुन सकेको छैन । दल परित्याग गर्नेलाई परित्यक्त दलभित्रबाट तथानाम गाली गर्ने, आरोप र प्रत्यारोप लगाउने, चरित्र हत्या गर्ने र सार्वजनिक रुपमा गलत सावित गराएर उसको प्रभाव र प्रतिष्ठा बिगार्ने अभ्यासहरु प्रशस्त देखिन्छन् । पार्टी परित्यागका कारणहरुको समिक्षा गर्नुभन्दा ब्यक्तिलाई खुइल्याउने अभ्यास प्रखर बनेर आउने गर्दछ । दल परिवर्तनका अभ्यासले दलभित्रको सुधारमा ध्यान दिनुपर्ने बहस कमजोर हुने गरेको देखिन्छ ।

माथि नै चर्चा गरिएको छ, हामो समाजको चिन्तन र संस्कार नै विसंगतिपूर्ण छ । एकपटक विवाह गरेपछि उक्त घर परित्याग गर्नुहुन्न भन्ने संस्कारलाई सम्मानित र मर्यादित भन्ने आभुषण समाजले दिने गरेको छ । यस्तो परिवार आन्तरिक रुपमा जतिसुकै पीडामा रहे पनि उनीहरुको गुणगान गर्ने र उदाहरण दिने प्रचलन हाम्रो समाजमा ब्याप्त छ । सँगै जीवन जिउन नसकेपछि सम्बन्ध विच्छेद गर्ने ब्यक्तिलाई नकारात्मक ढंगले हेर्ने र सामाजिक रुपमा आलोचनाको पात्र बनाउने संस्कार नेपाली समाजमा ब्याप्त छ । त्यही संस्कारको प्रतिछाँया नेपालको राजनीतिमा देखिने गर्दछ । बाबुले रोजेको पार्टीमा सन्तान मात्र होइन दरसन्तान पनि जोडिनु पर्दछ भन्ने वंशीय अवधारणा नेपालको राजनीतिमा देखिन्छ र भेटिन्छ । राजनीतिमा छाएको यही वंशीय धारणाले ब्यक्तिलाई दलको दाश बनाउने र दलीय आबद्धतामा बृद्धि ल्याउने चरित्र नेपालको राजनीतिमा कायमै छ ।

जबसम्म पार्टी परित्यागको क्रमलाई दलहरुले गम्भीर रुपमा लिदैनन्, तबसम्म दलभित्रको सुधार कमजोर हुने गर्दछ । पार्टी परित्याग वास्तवमै दलभित्रको जवाफदेहिताको खोजी हो । हरेक दलले पार्टीमा आवद्धहरुको कर्तब्यको खोजी गर्दा ती आवद्ध व्यक्तिप्रति पार्टीको जवाफदेहिताको खोजी गर्ने र जवाफदेहिता निर्वाह गर्न जरुरी हुन्छ । हरेक दलमा आबद्ध समर्थक, शुभेच्छुक, कार्यकर्ता र नेताहरुको ब्यक्तिगत इच्छा र भूमिकाको विश्लेषण गर्न सकिएन भने उनीहरुलाई पार्टीभित्र सम्मान र मर्यादा दिन सकिएन भने उनीहरुका विचारको सुनुवाई हुन सकेन भने वा उनीहरुको भूमिकालाई क्रियाशील हुने वातावरण तयार गर्न सकिएन भने नैराश्यता उत्पन्न हुने गर्दछ । यस्ता नैराश्यताको बृद्धिले पार्टीसँगको सम्बन्ध परित्यागको अवस्था सिर्जना गर्दछ । त्यसैले दलभित्र कार्यकर्ताको संरक्षण र भूमिकाको उचित प्रबन्ध जरुरी हुन्छ ।

पार्टी परित्याग दलीय हिसाबले कसैलाई नाफा वा कसैलाई फाइदाको विषय बन्न सक्ला । तर, पार्टी परित्यागको बिषय आफैंमा पार्टीको भूमिकाप्रतिको असन्तुष्टिको संकेत हो । कुनै पनि कुराको परित्याग उपायविहीन अवस्था सिर्जना भएपछि मात्र हुने हो । मानिस जीवनको परित्याग गर्दै जसरी आत्महत्याको बोटो रोज्ने गर्दछ त्यो अवस्था भनेको उपायविहीन अवस्थाको उपज हो । त्यसैले कुनै पनि मानिसलाई पार्टी परित्यागको विषय त्यति सहज हुँदैन । हरेक दलहरुले कार्यकर्ताको यो भावनाको उचित मूल्यांकन गर्न जरुरी छ । वास्तवमै भन्ने हो भने जुन पार्टीमा अधिकतम् मानिसहरु पार्टी परित्यागको घोषणा गर्न तयार हुन्छन्, त्यो पार्टीभित्र विसंगतिको थुप्रो लागेको संकेत हो । यस्ता पार्टीहरुले अझ गम्भीर बनेर आफूलाई सुधार गर्न जरुरी छ । फेरि पनि कुनै दललाई रोज्ने वा परित्याग गर्ने विषय मानिसको ब्यक्तिगत स्वतन्त्रताको अधिकार हो यसलाई सबैले सम्मान गर्न सक्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here