सार्वजनिक सुनुवाई कार्यक्रमले आफूले भोग्नु परेका पीडाहरुको फेहरिस्त प्रस्तुत गर्न सहयोग गर्छ । त्यही उद्देश्यका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिन्छ । सेवा प्रदायक संस्थाहरुबाट सेवा प्रवाहका सन्दर्भमा हुने– भएका कमीकमजोरी औंल्याइ सुधारात्मक सीमान्त नगरपालिका मेचीनगरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीले आफ्ना पीडा र दैनिकीका क्रममा झेल्नुपर्ने सास्तीका बारेमा खुलेरै बोले । उनीहरुले जिम्मेवार पक्षलाई आफ्ना गुनासाहरुमा गम्भीर हुन सचेत पनि गराए ।
नेपाल प्रहरीको वार्षिक कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा विशेषतः प्रहरी प्रशासनका तर्फबाट भएका अनावश्यक र अव्यवहारिक हस्तक्षेपका बारेमा गुनासा सुनाइए । गुनासा सुनेर सकेसम्म समाधान खोज्नु सुनुवाई कार्यक्रमको लक्ष्य नै हो । त्यही अनुसार अनावश्यक सास्ती हटाएर सेवालाई व्यवस्थित गर्न सकिए मात्र सुनुवाई कार्यक्रमको औचित्य पुष्टि हुन्छ । समाजले शान्ति सुरक्षाको चाहना गर्छ । किनकि यसको अभावमा विकास र समृद्धि असम्भव छ । त्यसैगरी अहिले सीमानाकाहरु लागूपदार्थ त्यसको ओसारपसार, प्रयोग, मानव बेचबिखन, देहव्यापार लगायतका विसंगतिहरुबाट आक्रान्त छ ।
मेचीनगर नगरपालिका त्यही र त्यस्तै पीडा बोक्न बाध्य छ । त्यसकै नियन्त्रणका नाममा भन्सारदेखि प्रहरीका विभिन्न इकाई सक्रिय हुन्छन् । यही नाममा सर्वसाधारणले चेकजाँचका नाममा अनावश्यक सास्ती व्यहोर्नु परेको छ। काँकरभिट्टाबाट नजिकै रहेको भारतको पार्टीटंकीबाट दैनिक उपभोग्य वस्तु तथा खाद्य सामगी ल्याउनु नजिकका बासिन्दाको बाध्यता नै हो । खासगरी न्यून आय भएका निम्न र मध्यम वर्गीय परिवार भारतीय बजार जान विवश हुन्छन् । घरायसी प्रयोजनका लागि उनीहरुले ल्याएका वस्तु चेकजाँचका नाममा प्रहरीले दुःख दिने गरेको भुक्तभोगीहरुको गुनासो स्वभाविक छ । यस्ता गुनासाहरु सुन्ने मात्र होइन सुधार गर्नेतर्फ सम्बद्ध निकायको गम्भीर ध्यानाकृष्ट हुनुपर्दछ । होइन भने कार्यक्रमका लागि कार्यक्रमको कुनै औचित्य हुने छैन ।
देश नेपाल भ्रमण वर्ष २०२० को मुखमा छ । काँकरभिट्टा नाका बाह्य पर्यटकहरुको आगमनको मूल द्वार पनि हो । त्यहाँ हुने गतिविधिले ‘भगवान’ मानिने पर्यटकहरुको विचारमा प्रभाव पार्न सक्छ । जथाभावी प्रहरीको उपस्थिति र उनीहरुको व्यवहारले असुरक्षा महशुस गर्नु प¥यो भने त्यसको दीर्घकालीन असर प्रत्युत्पादक हुन सक्छ । त्यसकारण पनि प्रहरी प्रशासनको उपस्थिति, व्यवहार र चेकजाँचको तरिकालाई शिष्ट, सभ्य, व्यावहारिक, पारदर्शी बनाउनु पर्छ । नगर प्रमुख लगायत स्थानीय क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रमले जनताका गुनासाहरु व्यवहारमै सुनुवाई भएको देखिनु पर्दछ । अनि मात्र यस्ता कार्यक्रमहरुको सार्थकता पुष्टि हुन्छ । अन्यथा निरर्थक भेला, छलफल र कार्यक्रमहरु जनताबाट बहिष्कृत हुन सक्छन् ।

























