विराटनगर ।
सिद्धबाबा भनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन शुक्रबार दोस्रो पटक म्याद थप भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न प्रहरीले शुक्रबार उनलाई उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट लिएर गएको थियो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई बिहान ११ बजे सुनसरीतर्फ लगियो ।
कृष्णदासजीलाई लिन डीएसपी विनोद शर्मा आफै टोली लिएर विराटनगर आएका थिए । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो ।
सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए ।
अदालतले कृष्णदासजी विरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न र अनुसन्धान अधिकृत तथा सरकारी वकिललाई अस्पतालमै उनीसँग बयान लिन पनि आदेश दिएको थियो । उनी अस्पतालको आईसीयूमा भर्ना थिए । डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिए ।
चिकित्सकले पनि ‘माइनर हटअट्याक’ भनेर कृष्णदासजीसँग दोहोरो गफगाफ नगर्दा राम्रो हुने सुझाव दिएको शर्माको भनाइ छ । ‘चिकित्सकले पनि बोल्न दिएनन् र कृष्णदासजीले पनि बोल्न मान्नु भएन,’ उनले भने, ‘त्यही भएर बलात्कार आरोपमा अनुसन्धानका लागि अहिलेसम्म कुनै पनि बयान लिन सकिएको छैन ।’–पूर्वेली न्यूजबाट





























