झापा उद्योग वाणिज्य संघको अध्यक्षमा पनेरु

0
1198

भद्रपुर।

झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्षमा पदमा नवराज पनेरु (राजु) र उद्योग सचिवमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कार्यालयमा अध्यक्ष, उद्योग सचिव र सात सदस्य पदको शुक्रवार सम्पन्न निर्वाचन प्रक्रियाबाट पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा युवा व्यवसायी पनेरु निर्वाचित भएका हुन् ।

कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका युवा व्यवसायी अजय साहेवालालाई ६ मतले पराजित गर्दै पनेरु पुनः अध्यक्ष पदमा बिजयी भएका हुन् । खसेको १८१ मतमध्ये पनेरुले ९१ र साहेवालाले ८६ मत ल्याएका थिए । त्यस्तै उद्योग सचिवमा सञ्जय श्रेष्ठ ९९ मत ल्याई बिजयी भएका छन् । नेकपाबाट उद्योग सचिवमा उम्मेदवारी दिएका लक्ष्मण जमरकट्टेलले ७६ मत ल्याएका थिए ।

कांग्रेसको वर्चस्व रहेको संघको अध्यक्ष पदमा राप्रपाले बाजी मारेको छ । कार्य समितिको अन्य पदमा कांग्रेसको वर्चस्व हुँदा अध्यक्षमा कांग्रेस पराजित हुनुको मुख्य कारण पार्टीभित्रैको अन्तर्घात भएको कांग्रेस नेता तथा कार्यकर्ताले विश्लेषण गरेका छन् । संघको निर्वाचनमा नेकपाले राप्रपालाई आन्तरिक रूपमा सहयोग गरेको कार्यकर्ताहरू बताउँछन् ।

त्यस्तै जिल्ला कार्यालयबाट सदस्यता लिएका सात पदको जिल्ला सदस्यमा पवनकुमार श्रेष्ठ (२९), प्रवीणकुमार घोष (२६), मानस घोष (२६), मुकेश मित्रुका (२६), सुरेश तामाङ (२६), हेमन्तराज भट्टराई (२६) र यदुनन्दन साह (२५) मत प्राप्त गरी कांग्रेस प्यानलबाट निर्वाचित भएका छन् । राप्रपाका अभिषेक ढुङ्गाना (१६) र दीपक अधिकारी (८) मत प्राप्त गरी पराजित भएका छन् । सात पदका लागि नगर क्षेत्रबाट निर्वाचित ३७ जना प्रतिनिधि सदस्यले मतदान गरेका थिए ।

यता निर्वाचन पश्चात् बिजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षमा निर्वाचित पनेरुले राजनीतिक चलखेल गर्दै झापा उद्योग वाणिज्य संघलाई भाँड्ने र विगार्ने दुस्साहस गर्न नहुने बताए । ‘कांग्रेस नेतृत्वप्रति संकेत गर्दै नवनिर्वाचित अध्यक्ष पनेरुले भने– राजनीति छाडेर व्यवसायी बनेर आउनुहोस्, संघको सदस्यता लिएर नेतृत्व सम्हाल्नुहोस्, म आजकै मितिबाट अध्यक्ष पद त्यागेर तपाईँलाई जिम्मेवारी दिन्छु ।’ आफ्ना प्रतिस्पर्धीप्रति संकेत गर्दै उनले भने– हामी पहिलादेखि नै संघमा सर्वसम्मत बनाएर जाने तयारीमा थियांै, तर कांग्रेसले मानेन, मलाई हराउन लागीपरे । आखिरमा व्यवसायीले दल भन्दा पनि व्यक्तिलाई नै रोजेर मतदान गरे ।

यता मेजर छ पद, महिला सदस्य र खुल्ला सदस्यमा कांग्रेस प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसबाट वरिष्ठ उपाध्यक्षमा खडकबहादुर लिम्बू, एशोसिएट्स—वस्तुगत उपाध्यक्षमा प्रज्ज्वल राई, वाणिज्य उपाध्यक्षमा सन्तोष धमला, महासचिवमा पंकजकुमार शर्मा, वाणिज्य सचिवमा सुविनकुमार खड्का र कोषाध्यक्षमा भाष्कर शर्मा निर्विरोध निर्वाचित भइसकेका हुन् ।

त्यस्तै कांग्रेस प्यानलबाट महिला सदस्यहरू कमला दुवाडी, शिला तामाङ र सीता ढकाल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सदस्यहरूमा राजकुमार राई, गोपीप्रसाद न्यौपाने, भोजराज सेढाई, रमेश श्रेष्ठ र रविशंकर भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here