झापामा होमस्टे तीन मात्रै

0
1225

झापा।

नेपाल भ्रमण बर्ष २०२० नजिकिए पनि पूर्वमा तयारी लगायतका काम अघि बढ्न सकेको छैन । पछिल्लो समय पर्यटनका लागि महत्वपूर्ण मानिएको होम स्टेको उचित बिस्तार हुन सकेको छैन । पर्यटनको प्रचुर सम्भावना रहे पनि झापामा तीन वटा मात्र होमस्टे सञ्चालनमा रहेका छन् ।

होमस्टे सञ्चालनमा न सरकारको ध्यान गएको छ न त निजी क्षेत्रको नै । मेचीनगर–१ बाहुनडाँगीमा २०६७ सालमा बाहुनडाँगी सामुदायिक होमस्टे जिल्लामै दर्ता भएको पहिलो होमस्टे हो । त्यस्तै येसे आत्मिक निजी होमस्टे २०७४ सालमा सञ्चालनमा आएको बाहुनडाँगीकै अर्को होमस्टे रहेको नेपाल पर्यटन कार्यालय काँकरभिट्टाले जनाएको छ । त्यस्तै दमक नगरपालिका–३मा २०७५ सालमा प्रथम नागरिक सामुदायिक होमस्टे सञ्चालनमा आएको छ ।

यी बाहेक झापामा होमस्टे दर्ता नरहेको नेपाल पर्यटन वोर्ड काँकरभिट्टाकी निमित्त कार्यालय प्रमुख सुस्मिता दाहालले जानकारी दिइन् । कार्यालयको तथ्याङ्क अनुसार पूर्वमा २८ वटा मात्रै होमस्टे दर्तामा छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कतिपय स्थानीय तहमा निजी र सामुदायिक होमस्टे निर्माण कार्यले तीव्रता पाएको छ । कतिपय ठाउँमा भएका होमस्टेलाई अझ व्यवस्थित बनाउन शुरु गरिएको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे सञ्चालनमा छन् ।

विभिन्न पर्यटकीय क्षेत्रको प्रर्वद्धन अभियान र पदमार्गको खोजी अभियानलाई प्रोत्साहन गर्ने नीति अनुरुप सरकारले ग्रामीण तहमा होमस्टेको अवधारणा ल्याएपछि २०६७ भदौ ७ गते ‘कपन होम स्टे भिलेज’का नाममा सामुदायिक होमस्टे सञ्चालनका लागि नेपाल पर्यटन बोर्डले पहिलो अनुमति दिएको थियो । सोही अनुसार अहिले देशभर होमस्टेहरु सञ्चालनमा छन् । होटल सञ्चालनका लागि स्थानीयको ध्यान गए पनि होमस्टे सञ्चालनका लागि खासै ध्यान गएको पाइँदैन । पूर्वमा इलाममा धेरै होमस्टे सञ्चालनमा रहे पनि न्यून संख्यामा मात्र दर्ता रहेको बताइएको छ ।

पर्यटकले पछिल्लो समय होमस्टेलाई अत्यधिक रुचाउँदै आएका छन् । अधिकांश पर्यटकले होमस्टे रोज्ने गरे पनि झापामा होमस्टे नहुँदा होमस्टेको खोजीमा झापामा आएका पर्यटक पनि इलाम पुग्ने गरेका छन् ।

१ नम्वर प्रदेश सरकारले होमस्टे (घरवास) सञ्चालन कार्यविधि २०७५ तयार गरे पनि होमस्टे सञ्चालनलाई प्राथमिकतामा राखेर निजी क्षेत्रले पर्यटन प्रवद्र्धनमा चासो देखाएको पाइँदैन । प्रदेश सरकारले होमस्टे सञ्चालन गर्दै प्रर्यटन प्रर्वद्धनमा जोड दिनेलाई सहयोग गर्ने कार्यविधि नै बनाए पनि यसतर्फ पर्यटन व्यवसायीको समेत ध्यान गएको छैन ।

पर्यटन पूर्वाधार विकास तथा संरक्षण सम्बन्धी योजनामा आर्थिक तथा प्राविधिक सहयोग गर्ने, होमस्टेको विकास संरक्षण र प्रबद्र्धनका लागि मन्त्रालयले आवश्यक कार्यक्रममा समेत लगानी गर्ने भन्दै कार्यविधि नै बनाएको छ । सरकारले सन् २०२०मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार संघीय सरकार विदेशी पर्यटक नेपालमा कसरी बढीभन्दा बढी भित्र्याउन सकिन्छ भनेर गृह कार्यमा जुटेको छ ।

सन २०३० सम्मको दशकलाई पर्यटन वर्षका रुपमा मनाउने भन्दै सरकारले प्रदेश र स्थानीय सरकारसँग समेत साझेदारी गरिरहेको छ । त्यस्तै निजी क्षेत्रसँग पनि संघीय सरकारको साझेदारी उत्तिकै रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here