भक्तपुर, 
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बस्ती बस्तीमा पुरस्तकालय र सङ्ग्रहालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा आज सञ्चालित बागिश्वरी कलेजको सुविधासम्पन्न नयाँ भवन निर्माणको शिलान्यास गर्दै उहाँले आजका युवापुस्तालाई चेतनाको भावना जगाउन र संस्कृतिबारे जानकारी दिनसङ्ग्रहालय निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले नयाँ निर्माण हुने बस्तीमा पुस्तकालय र सङ्ग्रहालय निर्माण अनिवार्य गरिनुपर्नेमा जोड दिँदै बिजुक्छेले भन्नुभयो, “नयाँ आवास क्षेत्रमा नमूना पुस्तकालय, सङ्ग्रहालय निर्माण गर्नुपर्छ, ठूल–ठूला गाडी आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्छ, यसका लागि छुट्टै ग्यारेज बनाइनुपर्छ ।”
युवा वर्गलाई देशप्रेमको भावना जगाउनुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले नागरिकलाई सामुदायिक, सामूहिक र सामाजिक चेतनाबारे सुसूचित गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको मानक भवनमात्र नभएको स्पष्ट पार्दै उहाँले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकहरुको सङ्ख्या बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नगर प्रमुख एवं बागिश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थ बिनाको कामले प्रगति हुने उल्लेख गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी गराउनुभयो ।
बागिश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, प्राध्यापक डा सिद्धिवीर कर्माचार्य, कलेज भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलक, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा लगायतले शिक्षाको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।


























