किन पढ्ने पत्रपत्रिका ?

0
2170

रत्नबहादुर बस्नेत,

‘सबै खबर रेडियो, टिभीबाटै सुनिहालिन्छ (थाहा पाइहालिन्छ) किन पढ्नु पत्रिका ?’ पत्रिकाबारे कुरा उठ्दा वा पत्रपत्रिका बिक्री वितरणका प्रसङ्गमा कतिपय मानिसको मुखबाट निस्कने वाक्य हो यो । यति मात्र होइन उनीहरु अब छापा समाचार माध्यम पत्रिकाको भविष्य सकियो भन्न समेत बाँकी राख्दैनन् । कतिपय उक्त भनाइ ठीकै हो भन्ने ठानेका पनि छन् । झट्ट सुन्दा ज्ञानीजनका कुरा (सही) झैं लाग्ने उपरोक्त भनाइ सत्य भने होइन । वास्तविकता बोध हुन नसकेको मात्र हो । रेडियो, टिभी सुन्ने वा हेर्ने गर्दैमा पत्रपत्रिका पढ्दा प्राप्त हुने लाभ लिन सकिँदैन । तिनबाट योग्य खुराक पूरा हुन सक्दैन । भविष्य सकिने पनि कुरा त परै भइगयो नि ।

यदि उपरोक्त भनाइ सत्य हुँदो हो त आजको विद्युतीय सञ्चारको युगमा छापा सञ्चारमाध्यमको अस्तित्व रहने थिएन, उहिल्यै हराइसक्थ्यो । सायद अहिले पत्रिका देख्नसम्म पनि पाइँदैनथ्यो होला । अखबार वा पत्रपत्रिकाको छुट्टै महत्व रहेको छ । स्वस्थ्यको दृष्टिले पनि रेडियो टिभी हेर्नु सुन्नुभन्दा पत्रपत्रिका अध्ययन गर्नु बढी लाभदायक छ उपयोगी सिद्ध भइसकेको छ । एक विद्वानले भनेका छन्– शरीरको लागि व्यायाम जति आवश्यक छ त्यति नै आवश्यक छ मस्तिष्कको लागि अध्ययनको । यसबाट पनि पत्रपत्रिका अध्ययनको महत्व स्पष्ट हुन्छ । अर्थात् पत्रपत्रिका पनि नियमित अध्ययनको माध्यम भएकाले यो हाम्रो मानसिक तथा बौद्धिक खुराकको रुपमा मस्तिष्कको व्यायमको सर्वसुलभ र महत्वपूर्ण साधन बन्नसक्छ ।

आज मान्छे रोगी तथा दुःखी हुनुको प्रमुख कारण बिलासिता र निस्क्रियता नै भएको एक अध्ययनबाट पुष्टि भइसकेको छ । मानिसमा शारीरिक तथा मानसिक निस्क्रियताबाट आलस्यादि पैदा भई विभिन्न रोगादि बढ्दै गएको छ । त्यसैले मानवजीवनमा सक्रियता आवश्यक भएको हो । तुलनात्मक रुपमा सामान्य ढंगले विचार गर्दा पनि रेडियो टिभीमा प्रसारित समाचार अरुले नै पढेर सुनाइदिन्छ, दृश्य देखाइ दिन्छ जसलाई सुने–हेरे भइ गयो । तर, पत्रिका आफैंले पल्टाउनु र पढ्नुपर्छ जसबाट चिन्तन मननको अभ्यास समेत हुन्छ । अध्ययनमा मन–ध्यान लगाउनुपर्छ । यसो नगरे दिइएको विषयको बोध हुनसक्दैन । जसबाट शारीरिक तथा मानसिक सक्रियता बढ्छ । मनको चञ्चलता हटी स्थिरता कायम रहन्छ । त्यस्तै पत्रपत्रिकाका समाचार तथा विचारका विविध विषयवस्तुमा ध्यान दृष्टि राख्नाले ज्ञानगुनसँगै नवीन विचार, धारणा बन्ने गर्दछ । यसबाट मानिस विचारशील तथा अध्ययनशील बन्दछ अनि जिज्ञासु स्वभावको निर्माण हुन्छ ।

जिज्ञासा भनेको जान्ने इच्छा हो । जिज्ञासाबाटै ज्ञानको ढोका खोलिन्छ । त्यसैले जिज्ञासालाई ज्ञानको जननी मानिन्छ । जिज्ञासु स्वभावको महत्व दर्शाउँदै एक प्रशिद्ध महापुरुषले भनेका छन्– ‘म सम्पूर्ण कार्य छ सेवकद्वारा पूरा गर्दछु । ती जिज्ञासारुपी छ सेवकहरु (छ क) हुन्– के, को, किन, कहाँ, कहिले र कसरी । यिनै जिज्ञासाद्वारा सम्पूर्ण कार्य सिद्ध हुन्छन् ।’ यसरी यिनै जिज्ञासाको भावबाटै प्रबल इच्छाशक्ति प्राप्त भई कार्यसिद्धि वा ज्ञान प्राप्त हुने ज्ञानीहरु बताउँछन् ।

पत्रपत्रिका वा अखबार पढ्दा के फाइदा हुन्छ भन्ने प्रश्नको जवाफ खोजी गर्दा सर्वप्रथम आमसञ्चार माध्यमको काम वा उद्देश्यबारे विचार गर्नु जरुरी छ । किनभने पत्रपत्रिका भनेको सञ्चार माध्यमकै एक साधन अन्तर्गत पर्दछ । आमसञ्चार माध्यमको कार्य मुख्य पाँच वटा बताइएको छ । आमसञ्चार माध्यमहरुले सूचना, शिक्षा, अभिप्रेरणा, सामाजीकिकरण र मनोरञ्जनका कार्य गरेका हुन्छन् । पत्रिकाबाट पाइने कुरा पनि ठीक यही नै हो । यिनै कुरा मार्फत आमनागरिकलाई सचेतना प्रदान गर्छ यसले । त्यसैले सूचना वा समाचारका लागि मात्र पढिँदैन पत्रिका । यसमा कतिपय विभिन्न क्षेत्रका विज्ञ व्यक्तिका विशेष जानकारी, अनुभव समावेश हुने भएकाले यस्ता जीवनोपयोगी सामग्री संग्रहणीय समेत हुन्छन् ।

यसरी पत्रपत्रिकाहरुले देशविदेशका दैनिक घटनाका ताजा खबरसँगै शिक्षाप्रद सन्देश, स्वस्थ रहन सावधानी अपनाउन पर्ने जस्ता अनेकौं विषयका ज्ञान प्रदान गरिरहेका हुन्छन् । त्यस्तै यिनले कुनै काम गर्न नगर्न सल्लाह सुझाव दिन सक्छन् । कुनै कार्य गर्न उत्प्रेरणा दिनुको साथै व्यक्तिको चेतनास्तरमा परिवर्तन ल्याई कुनै कार्य गरुँ–गरुँ लाग्ने बनाइदिन्छन् भने सामाजिक मूल्य–मान्यता सिकाएर व्यक्तिलाई परिवार र समाजप्रति खेल्नुपर्ने भूमिकाबारे जानकारी दिन्छन् । समाचारपत्रहरु तथा म्यागेजिनबाट धेरैले जीवनशैली विकास गरेका हुन्छन् । समाचारपत्र वा अखबार उत्कृष्ट रुपमा त्यतिकै पाठकसामू पुगेका भने हुँदैनन् ।

सम्वाददाताले परिश्रमपूर्वक संकलन गरेको समाचार वा सिर्जनात्मक समाचार सामग्री तथा विद्वान लेखक–स्तम्भकारका, लेख–रचना, उप–सम्पादक (जसलाई सिर्जनात्मक कलाकार समेत मानिने)ले आवश्यक काँटछाँट गरी त्रुटिरहित, शुद्ध, आकर्षक र पठनीय बनाउने कार्य गरेपछि सम्पादकको सचेत रेखदेख तथा निर्देशन पश्चात् अन्तिम रुप आमपाठकका लागि रुचीकर तथा ग्रहणीय सामग्री पत्रिकाले पस्कने गर्दछन् । जसलाई पाठकसम्म पु¥याउन वितरण व्यवस्थाका जिम्मेवार व्यवस्थापक लगायतको भूमिका महत्वपूर्ण रहन्छ ।

आजको विद्युतीत (सञ्चार) प्रविधिको युगमा छुट्टै विशेषता र पहिचानका कारण पत्रपत्रिका बाँचिरहेको छ । यसका यस्ता विशेषता छन्, जो निकै महत्वपूर्ण मानिन्छ । पत्रिकामा धेरै कुरा समावेश हुने भए पनि आफूलाई रुची र आवश्यकताको खुराक वा सामग्री मात्र पढ्न सकिन्छ, जुन कहाँ हुन्छ भन्ने थाहा हुन्छ । अर्को कुरा, समयमा नहेर्दा नसुन्दा रेडियो टिभीको सामग्री प्रशारण छुट्छ । तर, पत्रिका आफूले चाहेको समयमा हेर्न पढ्न सकिन्छ । रेडियो टिभीमा प्रसारित सामाचार संक्षेपमा हुन्छ । पत्रिकामा विस्तृतरुपमा विश्लेषण, व्याख्या, विचार अध्ययन गर्न सकिन्छ । अखबार सानैमा पनि शक्ति हुन्छ ।

मान्छे कुनै घटनाका विषयमा पढ्न लालयित त्यति नै हुन्छन् । जुन देखेको नै किन नहोस् । पत्रिकाले लेखेको छ भनेर विश्वासनीयताको आधार मान्छन् । पत्रिकाको महत्व र शक्तिका बारेमा नेपोलियनले भनेका छन्– चार हजार सैनिक त्यति शक्तिशाली हुन्न जति चारवटा विरोधी पत्रिकामा शक्ति निहीत छ । अर्थात् चार हजार सशस्त्र सैनिकभन्दा चारवटा विरोधी पत्रिका बढी खतरनाक मानिन्छ । त्यसै पनि सञ्चार क्षेत्रलाई चौथो अंग वा शक्ति मानिएको छ, त्यसमा पत्रिका छापा माध्यमको महत्व उत्तिकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here