आन्दोलनकैबीच मनाइयो निर्माण दिवस

0
1095

बिर्तामोड।

आन्दोलनकाबीच निर्माण व्यवसायीले १२औं निर्माण दिवस मनाएका छन् । अहिले देशभरका निर्माण व्यवसायीहरु आन्दोलित छन् ।

सार्वजनिक खरिद ऐन र नियमावली संशोधनको माग गर्दै आन्दोलनमा रहेका निर्माण व्यवसायीले आफ्नो फाइदाका लागि भन्दा देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन पहल गर्नुपर्ने उनीहरुको माग छ ।

जसका लागि सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्र्नुपर्ने माग सहित आफूहरु आन्दोलनमा रहेको निर्माण व्यवसायी संघ झापाको अध्यक्ष मिलन बस्नेतले बताए । निर्माण व्यवयसायी संघ झापाको परिसरमा दीप प्रज्ज्वलन गर्दै अध्यक्ष बस्नेतले भने – सरकारकै कारण निर्माण क्षेत्र अहिले अस्त–व्यस्त बनेको छ ।

यसैबीच नेपाल निर्माण व्यवसायी महासंघले समेत १२औं निर्माण दिवसका अवसरमा प्रभातफेरी सम्पन्न गरेको छ । महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफूहरु आन्दोलित हुनुपरेको बताए ।

महासंघले निर्माण दिवसका अवसरमा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत गरेको छ । यस्तै प्रदेश महासंघ तथा जिल्ला संघहरुमा पनि प्रभातफेरी कार्यक्रम गरिएको अध्यक्ष सिंहले बताए ।
उनले भने– पूर्वाधार विकास बिना आर्थिक समृद्धि कल्पनामा मात्रै सीमित हुन्छ । बिकासका गतिविधि, उत्पादनको अवस्थामा सुधारका लागि हुने औद्योगिकीकरणको विकासबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने आधार तय हुन्छ । विकास र समृद्धिसँग जोडिएका मजदुर तथा कामदारको अवस्था उनीहरूको उपलब्धताका विषयमा भने खासै मूल्याङ्कन हुन सकेको देखिएको छैन ।

अहिले सबैभन्दा बढी जनशक्ति खपत हुने क्षेत्रमा पुनर्निर्माण, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, हुलाकी राजमार्गमा बन्ने नयाँ शहर, काठमाडौं उपत्यकाका चार दिशामा एक लाख ३० हजार रोपनीमा बन्ने नयाँ नगर, बाहिरी चक्रपथमा बन्ने नयाँ शहर, सडक लगायत पूर्वाधार पर्छन् । यी क्षेत्रमा पनि अधिक मात्रामा कामदार तथा श्रमिकको उच्च माग हुने निश्चित छ ।

विदेशी लगानीकर्ताको पनि चासो रहेका बेला नेपालमा जलविद्युत्, रेलमार्ग, सडक विस्तार, फ्लाईओभर ब्रिज, फास्ट ट्र्याक, सुरुङमार्ग जस्ता पूर्वाधार निर्माण हुने क्रममा छन् । यी क्षेत्रमा अधिक श्रमिकको खाँचो पर्छ । ग्रामीण सडक, पुल, हाउजिङ कम्पनी, जलविद्युत् लगायत ठूला निर्माण भइरहेको यस्तो अवस्थामा दक्ष श्रमिकको अभाव हुँदा यस क्षेत्रको व्यवसायमा निकै असर परेको छ ।

निर्माण क्षेत्रमा ३ लाख कामदारको अभाव

सबैभन्दा बढी श्रमिक खपत हुने निर्माण क्षेत्रमा हाल करिब ३ लाखभन्दा बढी कामदारको अभाव छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार हाल निर्माण क्षेत्रमा मात्रै करिब ८ लाख कामदार कार्यरत छन् ।

बजेटको आकार, निर्माण क्षेत्रका गतिविधि वृद्धि भए पनि निर्माण क्षेत्रमा दिन प्रतिदिन काम गर्ने कामदारको संख्यामा कमी हुँदै गएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here