समृद्धिको पहिलो आधार : भ्रष्टाचारमुक्त राज्य संयन्त्र

0
950

तीर्थराज खरेल,

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन र कसैलाई भ्रष्टाचार गर्न दिन्न, मेरो सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा चल्छ’ भनेर उद्घोष गरेका छन् । यो घोषणा सकारात्मक छ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मुलुकको लक्ष्य प्राप्तिका लागि भ्रष्टाचार सबभन्दा ठूलो बाधक हो भन्ने सच्चाइमा सबैको मतैक्य छ, तर प्रधानमन्त्रीको भनाइ र मुलुकमा भ्रष्टाचारको अवस्थालाई हेर्ने हो भने यथार्थ त्यस्तो छैन । भन्न जति सजिलो छ, त्यही कुरा मुलुकमा लागू गर्न निश्चय नै सहज छैन ।

वास्तवमा भ्रष्टाचार कुसंस्कृतिको रुपमा मुलुकमा जरो गाडेर बसेको कुप्रथा हो । हामीलाई भ्रष्टाचार व्यक्तिगत विषय लाग्न पनि सक्छ । तर, अख्तियारले पक्रिरहने, तर भ्रष्टाचारको क्रममा कमी नआउने किन भएको होला ? कानूनको अभावमा र कानूनको सक्षमताका साथ प्रयोग नगर्नाले नेपालमा भ्रष्टाचार मौल्याएको आम धारणा छ । भ्रष्टाचार नियन्त्रण वा निवारणका लागि राज्यले आफ्नो भूमिकालाई सबलताका साथ अघि बढाउन नसकेकै कारण यो महारोग तीब्ररुपमा विस्तार हुँदै गएको र राज्यका हरेक अंग शिथिल हुँदै गएको सबैको मत छ ।

वास्तवमा यो विश्लेषणमा पूर्ण सत्यता छैन । अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारले देशको राष्ट्रिय अर्थतन्त्रलाई नराम्ररी पछाडि धकेलिरहेको पाइन्छ । विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाइँदैन । नेपालको वर्तमान अवस्था पनि यस्तै छ । त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैनन् ।

निष्ठा र नैतिकता कम भएका राजनीतिज्ञ स्वच्छभन्दा भ्रष्ट र योग्यभन्दा अनुचर व्यक्तिहरूलाई जिम्मेवारी दिन रुचाउँछन् र जिम्मेवारी पाउनेले जिम्मेवारीलाई अवसरको रूपमा उपयोग गर्छन् । योग्य र इमान्दारबाट भयभित हुने रोग नै हुन्छ उनीहरूमा । परिणामतः राज्यका संस्थाहरू अरू कमजोर हुन्छन् र भ्रष्टाचार अरू मौलाउने गर्दछ । त्यस्तै राजनीतिक संरक्षण, अन्तर्राष्ट्रिय प्रवृत्ति, आर्थिक उदारीकरण जस्ता कुराले पनि भ्रष्टाचारको आयतन तथा प्रवृत्तिलाई प्रत्यक्ष÷परोक्ष रूपमा प्रभाव पारेको हुन्छ । प्रणालीभित्र अवसरको न्यायिक वितरण नभएमा पनि भ्रष्टाचार बढ्छ । राज्य प्रणालीमा योग्य र इमान्दार व्यक्तिहरू प्रवेश गर्दैनन् भने पनि यसबाट अन्ततः प्रणाली बिगार्न नै योगदान पुग्छ ।

विगतको बन्द राजनीतिक व्यवस्थामा भ्रष्टाचार बढ्नु स्वभाविक थियो, तर अहिले समाजमा पारदर्शिता र जवाफदेहिताको माग बढ्दै गएको छ । पारदर्शिता, जवाफदेहिता र उत्कृष्टताको छनौटमा लोकतान्त्रिक राज्यव्यवस्था टिकेको हुन्छ । नागरिकहरूमा चेतनाको स्तर पनि बढेको छ । निगरानी निकायको सक्रियता पनि बढेको छ, तैपनि जनताले महशुस गर्ने हदमा भ्रष्टाचार घट्न सकेको छैन । विश्वमा भ्रष्टाचार नहुने देश छैनन्, तर स्वीडेन, नर्वे, स्वीटजरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, सिंगापुर आदि देशमा अति न्यून भ्रष्टाचार हुन्छ भने नेपाल लगायत उत्तर कोरिया, सोमालिया, अफगानिस्तान, बंगलादेश आदिमा भ्रष्टाचार बढी हुने गरेको भ्रष्टाचारविरोधी अन्तरराष्ट्रिय क्षेत्रमा क्रियाशील संस्था ट्रान्स्परेन्सी इन्टरनेशनलको हालैको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को आफ्नो मूल नारा तय गरेको छ । तर, मुलुकमा व्याप्त भ्रष्टाचारले राष्ट्रको समृद्धि र उन्नतिमा अवरोध सृजना गर्ने र दुई तिहाइको समर्थनको जगमा उभिएको सरकारको मूल लक्ष्यलाई नै धुलिसात् पार्ने निश्चित छ । हुन त हाम्रो देशमा भ्रष्टाचार न्युनीकरणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । यस संस्थालाई प्रत्यक्ष परोक्ष रूपमा महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, विशेष अदालत, न्याय परिषद, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, क्षेत्रीय प्रशासन कार्यालयहरू एवम् पचहत्तरै जिल्ला प्रशासन कार्यालयले सहयोग पु¥याइ रहेछन् । यति धेरै प्रयत्नका बाबजुद पनि भ्रष्टाचारमा न्यूनीकरण हुन सकेको छैन ।

भ्रष्टाचार रोकथामका लागि झण्डै एक दर्जन, नियम कानूनहरू पारित गरी कार्यान्वयनमा ल्याइएका छन् । उपरोक्त संस्थागत एवम् कानूनी प्रावधान रहे पनि देशमा भ्रष्टाचार न्यून हुन सकिरहेको छैन । दश वर्षे जनयुद्धको आडमा २०६२÷०६३ को जनआन्दोलन पश्चात देशमा भएका दुई पटकका संविधानसभाका निर्वाचनबाट २०७२ सालमा जारी गरिएको नेपालको संविधानका आधारमा २०७४ सालमा सम्पन्न स्थानीय, प्रादेशिक र संघ (केन्द्र) को निर्वाचनपछि मुलुक संक्रमणकालबाट मुक्त भएर स्थिरतातर्फ लम्किने अपेक्षा गरिएको थियो ।

विभिन्न राजनीतिक घटनाक्रम र राज्यसंयन्त्रभित्रका गतिविधिलाई नियाल्ने हो भने संक्रमणकाल अझै नसकिएको बुझ्न सकिन्छ । जनप्रतिनिधि, राजनीतिक नेता तथा प्रशासकका साथै अन्य निकाय समेत लाग्छ कसैको प्रतिक्षामा रहेको अवस्थामा छन् । काम गर्नुपर्नेमा कुनै आदेशको पर्खाइमा रहे जस्तो गर्नु भनेको अन्यमनष्कता हो र यसको परिणाम भ्रष्टाचार मौलाउने हो । भ्रष्टाचार बढ्नुमा सबैभन्दा प्रमुख कारण राजनीतिक संरक्षणलाई मानिन्छ । दलहरूको सञ्चालन खर्चको अध्ययन गर्दा भयावह अवस्था बोध हुन्छ । चुनावमा उद्योगपति, व्यापारी र भ्रष्ट कर्मचारीबाट पैसा लिने र चुनावपछि खुलमखुला भ्रष्टाचारका लागि आँखा चिम्लने परिपाटी व्याप्त छ । अर्कातर्फ कतिपय ठूला राजनीतिक पार्टीहरूले नै प्रयत्न÷परोक्ष रूपमा देशमा सञ्चालित विभिन्न ठूला पूर्वाधार निर्माणका परियोजनाको ठेक्कापट्टामा कमिशन लिने, लागत बढाउने, ठेक्का समयमा पूरा नगर्ने आदि गरेको अवस्था अब गोप्य छैन । यस्ता गतिविधिले देशमा भ्रष्टाचार मौलाउँदै गएको पाइन्छ । देखासिकीको जीवनशैलीको कारण आम संस्कृतिको रुपमा भ्रष्टाचार बढ्दो छ ।

‘श्रीमान्को सफलताका पछि श्रीमतीको हात हुन्छ’ भन्ने नेपाली उखानको भाव झैं कतिपय श्रीमतीहरु आफ्नो इज्जत, शानशौकत र प्रतिष्ठाका लागि श्रीमान्लाई भ्रष्ट हुन दुरुत्साहन गरेका अनगिन्ति उदाहरणहरु छन् । परिवारले समेत भ्रष्टाचार गरी कमाउने श्रीमान् र छोराछोरीको प्रशंसा गर्ने र नगर्नेलाई दुत्कार्ने गरेको पाइन्छ । यसले भ्रष्टाचारलाई बढावा दिइरहेको छ ।

देशमा अहिले भ्रष्टाचारको लेनदेनमा घुस लिने र दिने दुवै पक्ष सक्रिय भएको देखिन्छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले नेपाली समाज आक्रान्त बन्दै गएको छ । प्रशासनिक क्षेत्रमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण यसभित्र आर्थिक अनुशासन लोप हुँदै जानु हो । वर्तमान समयमा ठूला भ्रष्टाचारी पत्ता नलाग्ने, पत्ता लागि हाले पनि तिनले शक्ति केन्द्र र राजनीतिक संरक्षण प्राप्त गर्ने समस्या छ । अपवादमा समातिएका केही ठूला भ्रष्टाचारीले दण्ड जरिवाना तुरुन्त तिर्ने, जेल नेलको समय भुक्तान गरेपछि सय केजीका माला लगाई बाजा बजाएर घर फर्कने गरेबाट पनि भ्रष्टाचार बढेको हो । स–साना भ्रष्टाचारीलाई पक्रेर ठूलै काम गरेको भनी सञ्चारक्षेत्रमा प्रचार गरिन्छ । मानिसका असल गुणका कारण समाजमा स्थापित हुन नसकिएको मान्ने मानिस पैसाको इज्जतमा मात्र समाजमा प्रतिष्ठा प्राप्त गर्न सकिने भ्रम नहटुञ्जेल भ्रष्टाचार हटाउन सकिँदैन । सचेत प्रयत्नले भ्रष्टाचार घटाउन चाहिँ अवश्यै सकिन्छ ।

नेपालका ठूला भ्रष्टाचार काण्डहरु राजनीतिक क्षेत्रसँगको अस्वाभाविक र गलत साठगाँठबाट भएकोमा सन्देह छैन । भ्रष्टाचारले संस्थागत रूप धारण गरेमा त्यसले देशलाई नै धरापमा पार्ने निश्चित छ । नोकरशाहीतन्त्रको जालोमा राजनीतिक क्षेत्र फँस्नु मुलुकुका लागि अति ठूलो दुर्गति हो, तसर्थ यो परिपाटीको शीघ्र अन्त्य हुनु जरुरी छ । भ्रष्टाचारको मुहान सफा गरिए राज्यका सबै शाखा, उपशाखा, प्रशाखा सबै संग्लिँदै जाने निश्चित छ । भ्रष्टाचारको अर्को पक्ष नेपालमा पदाधिकारीको नियुक्तिमा राजनीतिक भागबण्डाका कारण समस्या जटिल बन्दै गइरहेछ । भ्रष्टाचारमा निजीक्षेत्रको मिलोमतो रहने गरेको जगजाहेर छ । सरकारले आम नागरिकलाई सबै सेवा–सुविधा पु¥याउन सक्दैन भन्ने अवधारणा अनुरूप गैरसरकारी र निजी क्षेत्रलाई समेत यस कार्यमा संलग्न गराइयो, तर विभिन्न क्षेत्रमा स्थापना गरिएका कतिपय निकायले आफूमा मिलोमतो गरी फाइदा उठाउने र सेवाग्राहीलाई दुःख दिने कार्य गरिरहेका छन् । विभिन्न क्षेत्रका सिण्डिकेट यसका उदाहरण हुन् ।

नेता र नेतृत्व ठीक भए विचार ठीक हुन्छ र त्यसबाट निसृत हुने सकारात्मक सोच र सो अनुरुपका क्रियाकलापहरु निश्चय नै सकारात्मकतातर्फ उन्मुख हुनेमा दुईमत छैन । नेपालको विद्यमान कानून अनुसार आर्थिक मामिला र हानी–नोक्सानीलाई मात्र भ्रष्टाचारको अर्थमा लिइन्छ । भ्रष्टाचारलाई सामाजिक मूल्यवृत्तिमा विकृति ल्याउने एउटा कारणका रूपमा भने लिइएको पाइन्छ । देश, समाज, परिवेश र आर्थिक–नैतिक धरातल अनुसार यसको परिभाषा गर्ने गरिन्छ । समाजमा भ्रष्टाचारको आयतन पनि यसै अनुसार निर्धारण भएको पाइन्छ । भ्रष्टाचार कारणले भन्दा प्रवृत्तिले हुन्छ । यो शक्ति, अवसर, ओहोदा, इज्जत र सम्पत्तिको लोभमा गरिन्छ । आर्थिक उतारचढाव, मूल्यवृद्धि, मौद्रिक अवमूल्यनका कारण जीवन प्रणाली महंगो भएर भ्रष्टाचारले प्रश्रय पाउन सक्छ । सार्क क्षेत्रमा भएको अध्ययन अनुसार यसलाई पुष्टि पनि भएको छ । राजनीतिक अस्थितरता बढ्दा साथसाथै भ्रष्टाचारले पनि उर्वरभूमि पाउने गर्छ । नेतृत्व सक्षम नहुँदा पनि भ्रष्टाचार बढ्छ भने हामी कहाँ बारम्बार हुने राजनीतिक घटनाक्रम, महंगो चुनाव प्रणाली र राजनीतिक संस्कारहीनताले यसलाई भ्रष्टाचारलाई मलजल गरेको छ ।

वास्तवमा भ्रष्टाचार नियन्त्रणलाई कानुनी मामिला मात्र मान्न सकिन्न, यो त सामाजिक प्रथा–परम्परा हो । समाजमा नैतिकताको धरातल र मूल्यवृत्ति अनुसार पनि भ्रष्टाचार कम वा बेसी हुन्छ । समाजमा धन, सम्पत्तिको अति कदर हुन्छ भने भ्रष्टाचार बढ्छ । सादगी, सरलता र नैतिकताको मूल्य बढेमा भ्रष्टाचार घट्छ । जसरी भ्रष्टाचार बहुआयामिक क्षेत्रसँग जोडिएको हुन्छ, त्यसरी नै यसको नियन्त्रण र निवारणका लागि बहुआयामिक क्षेत्रमा नै बद्लाव ल्याउन जरुरी छ । आरोपित गर्न, भ्रष्टाचारविरुद्धका कुरा उराल्न सजिलो छ, तर त्यही कुरा आफ्नो जीवनमा लागू गर्न, विसंगति र विकृतिविरुद्ध आगो झोस्न त्यति सहज छैन । सचेत जनता र जाग्रत तथा निस्वार्थी नेतृत्वबाट मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण र न्यूनीकरण सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here