लक्ष्मी उप्रेती / मेचीनगर ।

झापामा जंगली हात्तीको उपद्रो रोक्न राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न कार्यक्रम गर्ने भएको छ । सोमबार झापाको मेचीनगर नगरपालिमा मानव हात्ती द्वन्द व्यवस्थापन लागि स्थानीय जनप्रतिनिधिहरु, डिभिजन बन कार्यालय झापा,कोषका प्रतिनिधि तथा सरोकारवाला निकायबीच भएको अन्तरक्रियामा यो सहित विभिन्न महत्वपूर्ण निर्णय भएको छ ।
नगरप्रमुख विमल आचार्यले नगरका १५ वटा वडामध्ये ८ र १० नम्बर वडा बाहेक बाकी १३ वटा वडा यतिखेर जंगली हात्तीको चपेटामा परेकाले यी वडासहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । प्रमुख आचार्यले तालिम प्राप्त र दक्ष जनशक्ति परिचालन गर्न आवश्यक रहेको भन्दैं पर्याप्त स्रोत साधन नभएकाले पनि समसया भएको बताए ।
उनले जिल्लाका अन्य स्थानीय तह भन्दा मेचीनगर विभेदमा परेकाले डिभिजन वन कार्यालयले यसलाई बुझिदिन समेत आग्रह गरे । यसको नियन्त्रणका लागि जनता तटबन्धन कार्यक्रम, चेतनामुलक कार्यक्रमको आवश्यकता औल्याएका थिए । हात्ती पीडितले सरकारबाट पाउने राहत समेत समयमा नपाएको भन्दैं उनीहरुले पाउने राहत तत्काल उपलब्ध गराउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार नै उत्तम उपाय रहेको बताईन् ।
डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत विष्णुलाल घिमिरेले निर्देशिका अनुसार सवैले राहत पाइरहेको बताउदैं प्रक्रियामा जादा ढिलो भएको जानकारी गराएका थिए । उनले हात्ती आतंक भन्नु भन्दा पनि हात्ती प्रभावितक्षेत्र भन्नुपर्नेमा जोड दिए । हात्तीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न पटक पटक धेरै उपायहरु अवलमबन गरिएको उनको भनाई थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम वीरेन्द्र गौतमले बाहुनडाँगी क्षेत्रमा लगाएको लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार मर्मत तथा सम्भारका लागि प्राविधिकसँग सहकार्य गरेर स्थानीय स्तरमा जनचेतना कार्यक्रम तथा तालिम प्रदान गर्ने बताए ।
हात्तीले स्थानीयको घर भत्काएर र भण्डारण गरेको अन्नपात खाएर क्षति पुर्याएको पीडितको भनाई छ । रातैपिच्छे हात्ती गाउँ पसेर दुःख दिन थालेपछि विशेषगरि बृद्घ बृद्घा र स—साना केटाकेटीहरु भएका घरमा भने धेरै समस्या पर्ने गरेको पीडितहरुको भनाई छ । जंगलमा आहारा नपाएपछि ती हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेका छन् । हात्तीले किसानका खेतबारीमा लगाएको अन्नबालीमात्र होईन घरमा भण्डारण गरी राखेको अन्नपात समेत खाएर कुल्चिएर क्षति पुर्याउने गरेको स्थानीयको भनाई छ ।
जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले—३ दुधेदेखि झापाको मेचीनगर—६ सम्म १८ किलोमिटर दुरीमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नुअघि नेपाल छिरेका ती हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको बताईएको छ ।
छलफलमा नगरका सवै वडाका वडाध्यक्ष, विभिन्न सामुदायिक वनका प्रमुख प्रतिनिधि, महासंघका पदाधिकारीहरुको सहभागिता थियो ।































