भद्रपुर ।

जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चन्द्रगढी फुटबल क्लवले उचालेको छ । ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्धारा आयोजित प्रतियोगितामा भीमनगर फुटबल क्लव भद्रपुरलाई शुन्यको विरुद्ध एक गोलले स्तब्ध बनाउँदै चन्द्रगढीले उपाधि चुमेको हो ।
उपाधि चुमेसँगै चन्द्रगढीले नगद ३० हजारसहित ट्रफि र मेडल पाएको छ । उपविजेतामा चित्त बुझाएका भीमनगरले नगद २० हजासहित ट्रफि र मेडल पाएको छ ।
भद्रपुर माविको खेल मैदानमा आज भएको फाइनल खेलमा भीमनगरमाथि चन्द्रगढीले संर्घषपूर्ण जित निकाल्दै उपाधि कब्जा गरेका थिए । पहिलो हाफको ९ औं मिनेटमा चन्द्रगढीका मित्रा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा भीमनगरले गोल गर्न निक्कै संर्घष गरेपनि चुके । चन्द्रगढीका बस्नेतकै गोल उपाधिका लागि निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच चन्द्रगढीका श्याम र्मुर्मु घोषित भए । उनलाई ट्रफि र नगदसहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी भीमनगरका क्षितिस राई, उत्कृष्ट गोलकर्ता बिलिभर्स इष्टर्न चर्च भद्रपुरका कप्तान माइकल शर्मा, इमर्जिङ प्लेयर भद्रपुरकै उदय कामती घोषित भए । उनीहरुलाई ट्रफिसहित प्रदान गरिएको थियो ।

त्यस्तै चन्द्रगढी भेट्रान्स क्लव र भीमनगर भेट्रान्स क्लव बीच भएको मैत्री पूर्ण खेलमा चन्द्रगढी भेट्रान्स क्लव विजयी भएको छ । भीमनगरलाई एकको विरुद्ध दुई गोल गर्दै चन्द्रगढी विजयी भएको थियो । चन्द्रगढीलाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।
खेल आयोजक समितिका संयोजक अनिल लिम्बुको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेस क्षेत्रीय सभापति गणेश पोखरेल, बिलिभर्स इस्ट्रन चर्च पुर्वाञ्चल डायोसिस प्रमुख डा. चित्र रुपाचा , बिलिभर्स इष्टर्न चर्च भद्रपुरका अध्यक्ष जगत वाग्ले, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ लगायतको सहभागिता थियो कार्यक्रमको सञ्चालन विक्रम वाग्लेले गरेका थिए ।


























