फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

0
940

फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो। उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।

नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन्। हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे।

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन्। युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको उमेर ३९ वर्ष भयो।

के भन्छिन् मरिन?

“विश्वास पुनर्प्राप्तिका लागि हामीले धेरै काम गर्नुपर्छ,” प्रधानमन्त्री बन्न विश्वासको मत झिनो अन्तरले पाएपछि उनले संवाददाताहरूलाई भनिन्।

उनले उमेरबारे सोधिएको प्रश्नको उत्तर दिइनन्। “मैले मेरो उमेर वा लिङ्गबारे कहिल्यै सोचेकी छैन,” उनले भनिन्। “म राजनीतिमा आफू आउनुका कारण र हामीले निर्वाचनमण्डलबाट विश्वास पाउनुका कारणबारे सोच्छु्।”

मरिन नोर्डिक देशमा प्रधानमन्त्री हुने तेस्री महिला हुन्। गत एप्रिल महिनामा गरिएको निर्वाचनमा सोशल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेको थियो।

त्यसैले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ। देशको वाईएलई प्रसारणसंस्थाका अनुसार सान्ना मरिनलाई उनकी आमाले एक्लै हुर्काएकी थिइन् तथा उनी उक्त परिवारबाट विश्वविद्यालय जाने प्रथम व्यक्ति हुन्।-बीबीसी नेपालीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here