सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल,झापा।

नेपालमा वर्षेनि मृगौला रोगीको संख्या बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । पछिल्लो समय नेपालमा सर्नेभन्दा नसर्ने रोग ६५ प्रतिशतले वृद्धि भएको चिकित्सकहरुले बताउँदै आएका छन् ।
मृगौला रोगीको संख्या बढिरहेका बेला शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म ६ सय ७६ जना मृगौला पीडितले मृगौलाको सफल प्रत्यारोपण गरेका छन् । केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठका अनुसार काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै झापाका मृगौला रोगीले मृगौलाको प्रत्यारोपण गरेका छन् । उनका अनुसार काठमाडौंपछि झापामा मृगौला रोगीको संख्या उच्च रहेको छ, या जनचेतनाका कारण झापाका मृगौला रोगी प्रत्यारोपण केन्द्र पुग्ने गरेका छन्– उनले भने– ‘यो अनुसन्धानको विषय बनेको छ ।’
२०६५ साल साउन २४ गतेबाट अंग प्रत्यारोपण शुरु गरेको डा. श्रेष्ठले बताए । त्रिभुवन शिक्षण अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । २०६९ सालमा भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना भएको बताउँदै डा. श्रेठले भने– सोही केन्द्रलाई २०७४ सालबाट शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका नाममा सञ्चालनमा ल्याइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मृगौला डाइलाइसिस निःशुल्क गरिए पनि प्रत्यारोपणमा भने स्वास्थ्य मन्त्रीका रुपमा गगन थापाका पालामा निःशुल्क गरिएको थियो । केन्द्रले मृगौलासँगै कलेजो समेत प्रत्यारोपण गर्दै आएको छ ।
२०७३ सालबाट कलेजो प्रत्यारोपण शुरु गरेको केन्द्रले हालसम्म चार जनाको कलेजो प्रत्यारोपण गरेको डा. श्रेष्ठले जानकारी दिए । अंग प्रत्यारोपण गर्ने नेपालीमा ८० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका नेपाली रहेको बताइएको छ । अंग प्रत्यारोपण गर्नका लागि आउने बिरामीमध्ये अधिकांशलाई महिलाले मृगौला दिने गरेका छन् । ९० प्रतिशत पुरुषले लिने तर, महिला बिरामी हुँदा पुरुषले मृगौला प्रत्यारोपणका लागि मृगौला दिन आनाकानी गर्ने गरेको डा. श्रेष्ठको भनाइ छ । एउटा मृगौला दिँदैमा शरीरलाई अप्ठ्यारो नपर्ने भए पनि चेतना कमीका कारण मृगौला दिन हिच्किचाउने गरेको उनको भनाइ छ ।
डा. श्रेष्ठले नेपालमा वर्षेनि दुर्घटनाका कारण सयौंले ज्यान गुमाउने गरेको भन्दै उनीहरुको अंग प्रत्यारोपण गर्ने हो भने धेरैले नयाँ जीवन पाउने बताए । गत वर्ष भएको सवारी दुर्घटनामा परी २ हजार २ सय १५ जनाले ज्यान गुमाएका थिए । उनले भने– यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्न सकिएमा एक व्यक्ति बरावर आठ वटा अंगले काम गर्ने र आठ जनाले नयाँ जीवन पाउने थिए । डा. श्रेष्ठले भने– ‘९० प्रतिशत मृगौलाले काम गर्न छाडेपछि मात्रै असर देखिने भएकाले वर्षमा एकपटक भए पनि मृगौला जँचाउनुपर्छ ।’
उनले जीवनशैली र खानपानमा ध्यान नदिँदा मृगौला रोगीको संख्या बढ्दै गइरहेको बताए । पछिल्लो समय युवा उमेर अथवा उत्पादनशील उमेरमा नै मृगौला रोगको शिकार बन्नु परेको भन्दै जीवनशैली र खानपानमा ध्यान नदिए देशको अवस्था भयावह हुन सक्छ– उनले भने – नेपालमा वर्षेनि तीन हजार जनाको मृगौला खराब हुने गरेको छ । त्यसैले बेलैमा सचेत नहुने हो भने यसले भयावह अवस्था निम्त्याउन सक्छ ।
मृगौला रोगीलाई प्रत्यारोपण गर्नका लागि अंग आवश्यक भए पनि अंगदान गर्न चेतनाका कारण मानिस पछि पर्दै गएको उनको भनाइ छ । मस्तिष्क मृत्यु भएका व्यक्तिले अंग दान गरेमा धेरैले नयाँ जीवन पाउने थिए ।
के हो मस्तिष्कघात ?
अप्रत्यासित रूपमा, अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्याको मुख्य कारण मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ । मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमनीहरु फुटेर रक्तश्राव भई वा रक्तनलीभित्रै रगतकोको थेग्ला जमेर वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्या नै मस्तिष्कघात हो ।
मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रोसेसिङ इकाई पनि हो । मस्तिष्कघात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा ज्यानै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन् ।
कसलाई हुन्छ मस्तिष्कघात ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल भएका तथा यी रोगका औषधि कहिले खाने, कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ ।
यसबाहेक रक्तश्रावसम्बन्धी समस्या, जस्तै– घाउ हुँदा रगत बगेको बग्यै हुने वा नशाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भ निरोधक औषधि खाने महिलाहरु, परिवारमा मस्तिष्कघातका इतिहास भएकाहरु, टाइप ‘ए’ व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्कघात ज्यादा देखिएको छ ।
हाल मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालहरुको सघन उपचार कक्ष (आइसीयु) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण पनि हो । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्कघातको शिकार हुने गरेका छन् ।
जसमध्ये पचास लाख मानिस यही रोगका कारण मृत्युवरण गर्न बाध्य छन् भने ५० लाख अपाङ्ग हुने गरेका छन् । बाँकी रहेका ५० लाखमध्ये १५ लाख भने उपचार र पुनःस्थापनापछि सामान्य जीवनमा फर्किन सफल हुने गरेका छन् । ३५ लाख मानिसहरु सामान्य अपाङ्गताका साथ बाँचिरहेका छन् ।
नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कूल जनसंख्याको डेढदेखि दुई प्रतिशत मानिसलाई मस्तिष्कघात हुने गरेको छ । जसमध्ये एक तिहाईको मृत्यु, एक तिहाई अपाङ्गतासहित बाँच्न बाध्य हुन्छन् भने एक तिहाई समयमा उपचार पाएर सक्रिय जीवनमा फर्किन सक्छन् ।
जथाभावी दुखाई कम गर्ने औषधि नखान डा. श्रेष्ठको सुझाव
मृगौला रोगका विषयमा सचेतना जगाउन झापा आइपुगेका अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. श्रेष्ठले चिकित्सकको परामर्श बिना जथाभावी औषधि सेवन नगर्न सुझाव दिएका छन् । सोमवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै डा. श्रेष्ठले भने– ‘एन्टिवायोटिक र दुखाइ कम गर्ने व्रुफिन जस्ता औषधि स्वास्थ्यका लागि हानिकारक भएकाले चिकित्सकको परामर्श विना सेवन नगरांै, त्यसले सबैभन्दा बढी मृगौलालाई असर गर्छ ।’
शरीर दान र अंग दान फरक हो
मानिसको मृत्यु पछि गरिने शरीरदान चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थीका लागि रिसर्च गर्न प्रयोग हुने भए पनि अंग दानले मृत्यु हुन लागेको व्यक्तिलाई बचाउन प्रयोग गरिन्छ– श्रेष्ठले भने– त्यसकारण शरीर दान र अंग दान फरक विषय हो । अधिकांशको बुझाइमा शरीर दान र अंगदानलाई एकै रुपमा हेर्ने गरिन्छ तर यो फरक विषय हो– डा. श्रेष्ठले भने ।
अंग प्रत्यारोपणमा कानूनी सहजता
अंग प्रत्यारोपणका लागि सरकारले ऐन बनाएसँगै धेरै मृगौला रोगीहरुलाई अंग प्रत्यारोपण गर्न सहज भएको छ । डा. श्रेष्ठले भने– सरकारले ल्याएको ऐनमा आफन्त वा नातागोताका इच्छुक व्यक्तिले अंग दिन चाहेमा दिन सक्ने व्यवस्था छ । डा. श्रेष्ठका अनुसार अंग प्रत्यारोपण र डाइलाइसिस सेवालाई निःशुल्क गरिएसंगै धेरै बिरामीले उपचार सेवा पाइरहेका छन् ।
डाइलाइसिस भन्दा प्रत्यारोपण प्रभावकारी मानिए पनि अंग दान गर्ने व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । मस्तिष्क मृत्यु भएका व्यक्तिका आफन्तले मात्रै अंग दान गर्ने हो भने धेरैले नयाँ जीवन पाउने थिए । सचेतनाको अभावमा अंग दान गर्नेहरु थोरै रहेको डा. श्रेष्ठको भनाइ छ । उनका अनुसार हालसम्म २५ सय जनाले मात्रै अंग दान गर्न इच्छुक रहेको फारम भरेका छन् ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा डा. श्रेष्ठले वृत्त चित्र मार्फत मृगौला रोगको अवस्थाको वारेमा जानकारी दिएका थिए भने महजोडीद्वारा निर्मित टेलिसिरियल दानवीर समेत देखाएर अंगदानको विषयमा सचेतना प्रदान गरेका थिए । सो अवसरमा जिल्लामा रहेका मृगौला रोगीले डा. श्रेष्ठसंग परामर्श समेत लिएका थिए ।































