कस्तो हुनुपर्छ सहकारी ?

0
831

दिपेन राउत,

‘छोटो यात्रामा हिँड्नु छ भने एक्लै हिँड्नु, लामो यात्रामा हिँड्नु छ भने समूहमा हिँड्नु’ –यो भनाई जब मैले पढँे मेरो मन छोयो, अनि मैले सोचे वास्तवमा यो भनाईमा यथार्थ छ । सन् २००१ बाट युनिलिभर नेपाल जस्तो बहुर्राष्ट्रिय कम्पनीमा सन् २०१० सम्म सेल्समा जागिर गरिरहँदा मेचीदेखि महाकालीसम्म काम गरिरहँदा, मानिससँगको सम्बन्ध, व्यवसायीसँगको दैनिकीले मैले धेरै कुरा सिक्न पाएँ ।

यसरी घरबाट बाहिर रहेर विभिन्न ठाउँमा काम गरिरहँदा मेरो राम्रो परफरमेन्सले गर्दा जागिरमा पनि दिन प्रतिदिन प्रोमोसन हुँदै थियो । तलब, भत्ता राम्रो नै थियो आज पनि हेर्ने हो भने युनिलिभर नेपाल लिमिटेड नेपालमा राम्रो तलव–भत्ता सुविधा दिने कम्पनीमा पर्दछ । एक्लो जीवन, युनिलिभर जस्तो ठूलो कम्पनीमा सेल्सको जागिर, पैसाको कुनै समस्या थिएन । घरको कुनै चिन्ता थिएन साथीभाइ राम्रो बनाएकै थिएँ । युनिलिभरको डिलर भनेको राम्रो छवि भएका नै थिएँ । केही कुराको चिन्ता थिएन । जीवन अत्यन्तै रमाइलोसँग बित्थ्यो, तर मासिक मिटिङले गर्दा केही तनाव हुन्थ्यो । जागिर चलिरहेको थियो पढाई निरन्तर नै थियो । जति नै राम्रो जागिर भए पनि घरबाट टाढा रहेको पीडा ममा थियो । आफ्नो गाउँ, आफ्नो ठाउँले घरि–घरि पिरोलिरहन्थ्यो । बुवाआमाको काख, दिदीभाइको साथले पनि जीवन अपूर्ण नै लाग्थ्यो अनि म, मेरो समाज र मेरो कर्तव्यले पनि मलाई पोलिरहन्थ्यो ।

मानिसको जन्म आफ्नो लागि मात्र हुनुहुँदैन । यो समाजमा जन्मिएपछि, यो देशमा जन्म भएपछि, यो देश र समाजका लागि केही गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो । दश बर्षसम्मको जागिरलाई मैले छोड्ने निर्णय गरेँ । जब मैले निर्णय लिएँ धेरै साथीहरुले मलाई सम्झाउनुभयो, जागिर नछोड्ने सल्लाह दिनुभयो, श्रीमतीलाई सम्झाउन समय लाग्यो, तर मैले निर्णय लिएँ । जागिर त छोडेँ के गर्ने भन्ने मैले सोच्नु पर्दैनथ्यो । किनकि भाइले व्यवसाय शुरु गरिसकेको थियो र म त्यही व्यवसायमा आएर बस्नु थियो ।

मेरो दैनिकी हिजो जागिर खाँदा जस्तो थियो बिहान ८ देखि बेलुका ८ मेरो आफ्नो व्यवसायमा पनि त्यसरी नै काम गर्न थालियो । व्यवसायले मलाई मेरो परिचय बनाउँदै गयो । भाइको साथ साथीभाइको सहयोग र परिवारको सल्लाहले व्यवसाय राम्ररी नै चल्न थालेको थियो । म मेरो लागि गरिरहेको थिए, परिवारको लागि गरिरहेको थिए । यसैबीचमा एउटा सहकारी खोल्ने सोच ममा आयो । बाल्यकालदेखिका साथीभाइहरुको जमघटको थलो मेरो पसल बनिसकेको थियो । अनि मैले सहकार्य गरेर सहकारी खोल्नुपर्छ भन्ने सोचेर सहकारीको शुरुवात गरियो ।

हामी साथीभाइ मिलेर सहकारी सञ्चालन गर्ने भन्ने सोच बन्यो भर–अभर संस्थाबाट ऋण पनि चलाउन सकिने र सबै साथीभाइको सामुहिक सोचले राम्रो नै गर्न सकिन्छ भन्ने विश्वास ममा थियो । सहकारी खोलेर सञ्चालन २०६७ साल असोज २२ गतेबाट शुरुवात गरियो । तर, कसरी सञ्चालन गर्ने भन्ने खासै जानकार थिएन । तर ममा के विश्वास थियो भने मानिसले चाहँदा के गर्न सकिन्न र ! सोही अनुरुप शिखर साकोस जन्मियो र साथीभाइको भेटघाटको थलो बनाउने भन्ने उद्दश्यबाट सञ्चालनमा ल्याइएको संस्था चार–पाँच बर्षमा त बिर्तामोडको अब्बल सहकारी संस्थामा गनिन थाल्यो । जब म सहकारी संस्थामा पूर्णरुपमा लागे मेरो सोच र सहकारीको कार्यशैली मिल्यो । छोटो यात्रामा हिँड्न त एक्लै हिँड्नुपर्ने रहेछ । तर, सहकारीको यात्रा छोटो नहँुदो रहेछ यसको यात्रा अनन्तकालसम्म चल्ने रहेछ, किनकि यो समूहमा हिँडेको छ । सामुहिक सोच, समूहको हित नै यसको सर्वेपरि सिद्घान्त रहेको हुँदा सहकारी उत्तम क्षेत्र भएको मेरो बुझाइ रहेको छ ।

आजको समाज हेर्ने हो भने हरेक व्यक्ति आफ्नो लागि, आफ्नो परिवारको लागि मात्र सोच्ने भएका छन् । छिटो–छिटो कमाउनु आजको आम मानिसको सोच भएको छ । म, मेरो र आफ्नो लागि मात्र भन्ने भावनाको विकास हाम्रो मानसपटलमा भइरहँदा कति सहकारी दुर्घटनाग्रस्त बनेका छन् । सदस्यको पैसाको अपचलन भएका छन् । कति सञ्चालक जेल गएका छन् ।

कति फरार भएका छन् । तर, मेरो बुझाई फरक छ जो मानिस सहकारीमा लाग्छ उ आफ्नो लागिभन्दा पनि अरुको लागि केही गर्छु भन्ने भावनाबाट लाग्न जरुरी छ । संस्था राम्रो भएपछि धेरै मान्छे सञ्चालकमा आकांक्षी बन्नु स्वभाविक हो । तर, सञ्चालक हुनु भनेको अरुका लागि केही गर्छु भन्ने दृढसंकल्प रहनु पर्दछ । संस्थाको रक्षा गर्नु हो । आफू पनि सक्षम भएर अरुलाई पनि सक्षम बनाउनु हो । सहकारी भनेको पैसा उठाउने र ऋण लगानी मात्र नभएर सदस्यहरुलाई उद्यमी बनाउनु पनि हो । घर नहुनेहरुका लागि घर हुने बनाउनु हो, सिप नहुनेलाई सिप हुने बनाउनु हो । वित्तीय साक्षरता गराउनु हो । श्रम र रोजगारको सृजना गर्नु हो । महिला सशक्तिकरणमा रहि क्षमता अभिवृद्वि गराउनु हो । जात, धर्म, लिंङ्गको कुनै विभेद बिना सञ्चालनमा रहने उत्तम विकल्प हो ।

एक्लो हँुदै गएको हाम्रो समाजमा सहकारीको माध्यमबाट मानिस जोडिएका छन् । जन्म, मृत्यु आदिमा सबै भेला भएर दुःख–सुख साटासाट गर्ने थलो बनेको छ सहकारी । एकका लागि सबै सबैका लागि एक भन्ने सहकारीको मुलमन्त्रले सवैलाई जोडेको छ । टुटेर होइन जुटेर, एक्लै होइन समूहमा भन्ने भावनाको विकास गराएको छ । सुखमा त रमाउने धेरै पाउन सकिन्छ तर साह्रो, गाह्रो, दुःखपर्दा साथ दिने को–को हुन सक्छन् भनेर औलामा गन्न सकिन्छ । मानिस व्यस्त बन्दै गएका छन् कि अस्तव्यस्त बन्दै गएका छन् । केही महिना अगाडि काठमाडौंको बाटोमा देखिएको दृश्य सम्झन चाहन्छु । अगाडि मृत्यु सैय्यामा शव थियो अनि नगन्य केही मानिस पछि–पछि एकआपसमा गफिदै थिए– आखिर बाचुञ्जेल त रहेछ सबै कुरा यो मरेर गयो तर कति मलामी छन् ? कति मेरा साथीभाइ, आफन्त आए ! कतिको रिस गर्यो ! कतिको डाहा गर्यो ! यो मेरो भन्यो ! मलाई भन्यो ! दाजुभाइ, साथीभाइ झैं–झगडा गर्यो व्यर्थ है ! खै यसका पछि मलामी ! आखिर के कमाएछ त यसले ! भन्दै थिए ।

यो आजको हाम्रो समाजको यथार्थता हो । स्थानीय स्तरमा सहकारी संस्थाले प्रत्यक्ष सदस्यसँग सम्बन्ध राखेको हुन्छ । सदस्यको सुख या दुःखमा संस्था सहभागी रहने गर्दछ । सहकारी आज हरेक वर्गका मानिसको रोजाई बन्दै गएको छ । सहकारीको सदस्य छैन म भन्दा त एक्लो महशुस हुने बेला आएको छ । सहकारीमा जसरी संस्कृति भित्रिँदैछ, त्यसरी नै विकृति पनि आउँदैछ । सहकारीमा सदस्यहरु आज ऋणको आशमा हरेक सहकारी संस्थामा सदस्य बन्ने गरेका छन् । अलि दिन कारोवार गरो अनि दुई–चार लाख बिना धितो ऋण लियो सके तिरो नसके भाग्यो यो प्रचलन पनि सहकारी संस्थामा बढ्दै गएको छ । सदस्यहरुले आफ्नो क्षमताभन्दा बढि ऋण लिँदा दुर्घटनामा पर्न सकिन्छ । ऋण पाइयो भनेर आफ्नो क्षमताभन्दा बढी लिनु पनि हुँदैन । अब त ऐनले पनि एक व्यक्ति एक सहकारी भनेको छ । समान प्रकृतिको अर्को सहकारी संस्थामा सदस्य बन्न नपाउने ऐन पास भइसकेको छ ।

२०७७ असोज मसान्तसम्ममा स्वघोषणा गरिसक्नुपर्ने भएको हुँदा सदस्य स्वयम् यस कुरामा सचेत रहनु पर्दछ । आफू जुन सहकारी संस्थाको सदस्य भएको छ त्यसै संस्थामा आफ्नो सम्पूर्ण आर्थिक कारोवार गरौं । यदि सदस्य सबैले आफूले आफ्नो संस्थामा कारोवार गर्ने हो भने सबै सहकारी राम्रो भएर जान्छ । आफू सदस्य भएको संस्थालाई विश्वास गरौं, अरुको राम्रो होइन, आफ्नो संस्थालाई राम्रो बनाऔं । संस्थाबाट ऋण लिने मात्र होइन आफ्नो क्षमता अनुसार साथ सहयोग र सुझाव पनि दिऔं । सदस्यहरुको जति संस्था प्रति चासो र जिज्ञासा रहन्छ संस्था त्यति राम्रो भएर रहन्छ ।

संस्था शुरुमा केही व्यक्तिले शुरुवात गरेको हुन्छ, तरपछि त्यो सबैको हुन्छ सदस्य र सञ्चालक भनेका मालिक र नोकर जस्तो होइन सदस्य भनेका जहिलै मालिक हुन् र सञ्चालक भनेका संस्थाका रक्षक हुन् । सार्वजनिक पद धारण गरेपछि जो कोही सेवक हो । अरुको सेवाको लागि मनोनित या निर्वाचित हुन् । त्यसैले कसैले म अध्यक्ष भनेर घमण्ड नगरौं । किनकि हामी सदस्य नियन्त्रित संस्था हौं । सदस्यको हित र सर्वेपरि नै संस्थाको मुख्य उद्देश्य हुनुपर्दछ । सहकारी व्यक्तिको भन्दा पनि सबैको बनाऔं । हरेक क्षेत्रमा राम्रो र नराम्रो हुन्छ । सदस्य जति जागरुक र सक्षम भए त्यति संस्थाले उन्नति प्रगति गर्छ । सहकारी क्षेत्रमा धेरै राम्रा काम भएका छन् सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास भएको छ । छरिएर रहेका सानो सानो रकम एकत्रित भएको छ । सानोतिनो गर्जो टार्न सहकारी सजिलो भएको छ । बचत गर्ने बानीको विकास भएको छ ।

बालबालिकादेखि वृद्घसम्म सहकारीमा आवद्घ भएका छन् । समाजका व्यक्तिहरुलाई सहकारीले जोडेर राखेको छ । सहकार्यको भावनाको विकास भएको छ । दश वर्ष जागिर गरे भनिरहँदा दश वर्ष जागिर छोडेको समेत हुन लाग्यो यो अवधिमा आफू व्यापार व्यवसायमा लागीरहँदा हरेक व्यक्ति उद्यमशील बन्न मेरो भूमिका रहने छ । साथै सदस्यको विश्वास र भरोषा नै मैले आर्जन गरेको सम्पत्ति रहने छ । स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पत्ति हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो –गौतम बद्घको यी वाणीसँगै सहकारीमा लाग्नेले आत्मसात गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here