झिलझिले ।

झापाको शिवसताक्षीमा सामुदायिक भवन निर्माण हुने भएको छ । स्थानीय वडा नम्बर ८ स्थीत श्री कृष्ण प्रणामी मन्दिर विकास समितिले सामुदायिक भवन निर्माणको तयारी गरेको हो ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क)का सांसद झलकवहादुर दर्लामी मगरले एक कार्यक्रमका विच विहीबार शिलान्यास गरे । उनले प्रदेश सभाबाट वितरण हुने निर्वाचन क्षेत्र विकास कोषको आफ्नो निर्वाचन क्षेत्र नम्बर मा आउने रकमबाट कम्तिमा १ लाख रुपैयाँ सामुदायिक भवन निर्माणमा सहयोग गर्ने वताए ।
स्थानीय विश्वराज ओझा र अम्बिका ओझाले ०२९ सालमा दिएको जग्गामा उक्त भवन निर्माण हुन लागेको हो । ओझाले त्यसताका १० धुर जग्गा दान गरेका थिए । उक्त जग्गा विक्रि गरेर पुन खरिद गर्दा हाल उक्त जग्गा क्षेत्र ९ कठ्ठा पुगेको श्री कृष्ण प्रणामी मन्दिर विकास समितिका अध्यक्ष केशव पौडेलले बताए ।
सामुदायीक भवन निर्माणका लागि स्थानीय उपभोक्ताको भेलाले दिलदास भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सामुदायिक भवन निर्माण उपभोक्ता समिति गठन गरेका छन । उपभोक्ता समिति संग १९ लाख रुपैयाँ भएपनी भवनको निर्माणको लागत ३० लाख रुपैयाँ खर्च हुने उपभोक्ताले बताएका छन । निर्माण लागत मा नपुगेको रकम स्थानीय सरकार र दाता सग माग गर्ने उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए ।
एक तलाको आरसीसी भवन २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने उपभोक्ता समितिले जानकारी दिएको छ । सामुदायीक भवन निर्माण भएपछि स्थानीयलाई विवाह, उत्सवलगायतका ठुला कार्य गर्न सहज हुने उपभोक्ता समितिका सचिव मदन सिवाकोटीले बताएका छन ।































